१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Thursday, 05 June, 2025
गाडी गुड्ने प्रतीक्षामा मंगलबार दिनभर गोंगबु बसपार्कमा यात्रु । तस्बिर : दिपेन्द्र ढुंगाना
फ्रन्ट पेज प्रिन्ट संस्करण

यात्रुको अधिकार हनन हुँदा सरकार मूकदर्शक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार o६:३८:oo

अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ मा यातायात सेवालाई अत्यावश्यक सेवामा राख्दै हडताल गर्न नपाउने व्यवस्था छ । तर, यातायात व्यवसायीले सिन्डिकेटका लागि गरेको हडतालसामु दुईतिहाइको सरकारले नागरिकको अधिकार नै बिर्सियो ।

मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएलगत्तै सप्तरीका बैधनाथ यादव कोटेश्वरतर्फ जान विमानस्थलस्थित गोल्डेन गेटअगाडिको प्रतीक्षालय पुगे । सुटकेस घिसार्दै अपराह्न ४ बजे प्रतीक्षालय पुगेका उनी सार्वजनिक गाडीमा कोटेश्वर जान खोजेका थिए । तर, धेरैबेरसम्म एउटै गाडी नआएपछि उनी ट्याक्सीसँग मोलमोलाइ गर्न बाध्य भए । ट्याक्सीले चर्को भाडा भन्यो । तर, उनीसँग समय थिएन, किनभने सप्तरी जाने बस ६ बजे कोटेश्वरबाट छुट्दै थियो । बसको टिकट अघिल्लो दिन नै आफन्तले काटिदिएका थिए । उनी ट्याक्सीलाई चर्को भाडा तिर्न बाध्य भए ।

‘मलेसियाबाट आउँदै छु, यहाँ आएर गाडी कुरेको डेढ घण्टाजति भइसक्यो, तर कोटेश्वरसम्म पुग्न पनि गाडी पाइएन,’ ५:३० तिर विमानस्थलअगाडि प्रतीक्षालयमा भेटिएका उनले भने, ‘ट्याक्सीले महँगो भाडा भन्यो, के गर्ने गाडी छुट्छ जानैपर्‍यो ।’

मलेसियाबाटै आएका सुनसरीका खुर्सिद सिद्दिकी पनि अपराह्न ३:३० मा विमानस्थलअगाडिकै प्रतीक्षालयमा भेटिए । उनलाई कलंकीस्थित आफन्तकहाँ पुग्नु थियो । उनी पनि ट्याक्सीले चर्को भाडा मागेपछि त्यहीँ अलमलिएका थिए । ‘सार्वजनिक बस चलेको भए त चक्रपथ हुँदै कलंकी जान सजिलै थियो । तर, बस चलेको रहेनछ । हिँडेर जान पनि साथमा दुइटा सुटकेस छन्,’ उनले भने, ‘फाट्टफुट्ट भेटिएका ट्याक्सीले चर्को भाडा भनेर अप्ठ्यारो परेको छ ।’ 

गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा पनि यात्रुहरू अलपत्र थिए । गाडी गन्तव्यमा जाने निश्चित नहुँदा केही यात्रु बसपार्ककै प्रतीक्षालयका कुर्सीमा निदाइरहेका थिए, कोही टिकट काउन्टर परिसरभित्र भुइँमै पल्टिरहेका थिए । योभन्दा फरक थिएन, जडीबुटीस्थित बसपार्कको । दुई दिनदेखि गतव्यमा पुग्न नसकेका यात्रु बसपार्कस्थित प्रतीक्षालयमै ओछ्यान लगाएर सुतिरहेका देखिन्थे । यातायात व्यवसायीको हडतालबाट लामो दूरीका यात्रुले मात्रै होइन, उद्योग कलकारखानामा काम गर्ने मजदुरले समेत सास्ती भोग्नुपर्‍यो । विद्यार्थीले पीडा खेप्नुपर्‍यो । 

हडतालको अवज्ञा गरेको भन्दै आन्दोलनरत यातायात व्यवसायीले सञ्चालनमा रहेका केही सवारीसाधनमाथि नै तोडफोड गरे । काठमाडौंको जडीबुटीस्थित सडकमा उनीहरूले मंगलबार मयूर यातायातको बस तोडफोडको प्रयास गरे । एउटा सुमोमा तोडफोड गरे ।

अधिवक्ता तथा उपभोक्ता अभियन्ता ज्योति बानियाँ यातायात व्यवसायीले गरेको हडताल कानुन मात्र नभई संविधानको समेत बर्खिलाप रहेको बताउँछन् । उनले भने, ‘यातायात व्यवसायीले अत्यावश्यक सेवामा हडताल गरे । यो कानुन मात्र होइन, संविधानविपरीतकै गतिविधि हो । यस विषयमा सर्वोच्च अदालतले समेत अत्यावश्यक सेवामा हडताल नगर्न भन्दै आदेश जारी गरेको छ । यो अदालतको समेत मानहानि हो । हामी यस गतिविधिविरुद्ध अदालतमा जानेछौँ,’ उनले भने । 

यातायात हडताल फिर्ता
नियमावली स्थगित भएको निर्णयपछि यातायात व्यवसायीले आह्वान गरेको सबै खालका आन्दोलन पनि फिर्ता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघका सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिका सदस्यसचिव किरण रिजालले बताए । ‘राइड सेयरिङसम्बन्धी नियमावली स्थगित भयो । योसँगै हाम्रो आन्दोलन पनि स्थगित भएको छ । अब वार्तामा बस्ने र समस्याको गाँठो फुकाउने काम हुन्छ,’ उनले भने ।