
एकीकृत समाजवादीका नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीसहित परिवारका सदस्यविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । पदीय दुरुपयोग (०७४ देखि ०७९ सम्म) प्रदेश सभा सदस्य, भौतिक पूर्वाधार र सामाजिक विकासमन्त्री छँदा एक करोड आठ लाख ३८ हजार गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो । मुद्दामा सोडारीकी पत्नी गीता र छोरा बबीलाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी कायम गरेको छ ।
सोडारी ६ वैशाख ०८१ देखि २० साउनसम्म करिब तीन महिना प्रदेशको मुख्यमन्त्री थिए । कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा १ बाट सोडारी दोस्रोपटक प्रदेश सांसद निर्वाचित भएका हुन् । अघिल्लोपटक निर्वाचित हुँदा उनी प्रदेशको भौतिक पूर्वाधारमन्त्री र सामाजिक विकासमन्त्री भएका थिए । हाल उनी एकीकृत समाजवादी सुदूरपश्चिमका संसदीय दलको नेतासमेत हुन् ।
पदीय हैसियत दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन
सोडारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियत दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारको दाबी छ । सोडारीले सार्वजनिक पदधारण गरेको ७ माघ ०७४ देखि १० फागुन ०७९ सम्मको अवधिको आम्दानी र खर्चको विश्लेषण अख्तियारले गरेको थियो ।
जाँच अवधिमा अख्तियारले सोडारीको खुद बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमती, छोरा र बुहारीको पारिश्रमिक, दैनिक भ्रमण भत्ता बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेतको हिसाब निकालेको थियो । यीसमेत गरी जाँच अवधिमा उनको वैधानिक आम्दानी ८५ लाख ५१ हजार ३३४ रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ ।
त्यस्तै, अख्तियारले सोडारीको खर्चतर्फको विश्लेषण पनि गरेको छ । जाँच अवधिमा जग्गा खरिद खर्च, घर निर्माण, घरको सजावट, छोरीको अध्ययन, पत्नी सञ्चालक रहेको बबी मसला उद्योगको लगानी, बिमा प्रिमियम भुक्तानी, प्रदेश सभा निर्वाचनमा भएको खर्च, छोराको विवाह खर्च, सेयर लगानी र विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेतको हिसाब अख्तियारले निकालेको छ । सबै शीर्षकमा गरेर सोडारीको कुल एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ खर्च तथा लगानी देखिएको आरोपपत्रमा उल्लेख छ ।
‘निजको जाँच अवधिको समग्र आयबाट सोही अवधिको समग्र खर्च तथा लगानी (कुल व्यय) घटाउँदा एक करोड आठ लाख ३८ हजार ३०२ ले कुल आयभन्दा कुल व्यय अधिक हुन गई सोहीबराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको’ अख्तियारको दाबी छ ।
सोडारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ बमोजिम गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारको दाबी छ । गैरकानुनी आर्जन गरेको पुष्टि भएको रकमलाई नै बिगो कायम गरेर अख्तियारले उनलाई मुद्दामा प्रतिवादी कायम गरेको छ ।
अख्तियारले सोडारीविरुद्ध बिगोबमोजिम दुई वर्षसम्म कैद र जरिवाना गरी गैरकानुनी सम्पत्ति जफत तथा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइ–छिपाई झुटा विवरण पेस गरेको भन्दै थप एकदेखि तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरेको छ ।
भ्रष्टाचारजन्य कार्य गरेर आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे–बढाएको अन्य सम्पत्तिसमेत आफ्नो वा अरू कसैको नाममा राखेको भए त्यस्तो सम्पत्तिसमेत जफत गर्ने मागदाबी दफा ४७ बमोजिम अख्तियारले गरेको छ ।
सोडारी सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकासमन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री र प्रदेश सभा सदस्य थिए । यिनै पदमा रहँदा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ । मन्त्री तथा सांसदका रूपमा उच्च पदाधिकारी भएर भ्रष्टाचार कसुर गरेको आरोपमा अख्तियारले उनीविरुद्ध थप सजायको मागदाबी पनि गरेको छ । यसबमोजिम उनलाई थप तीन वर्षसम्म कैद सजाय हुन्छ । गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट पत्नी र छोराको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातसमेत राखेको पाइएपछि त्यसबाट समेत बिगो जफत प्रयोजनका लागि उनीहरूलाई अख्तियारले प्रतिवादी बनाएको हो ।
सोडारीपत्नी गीता यसअघि नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी थिइन् । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षकको जागिर खाएको आरोपमा अख्तियारले उनलाई ७ असोज ०७९ मा मुद्दा दायर गरेको थियो ।