
वरिष्ठ अधिवक्ता शम्भु थापाले सञ्चारकर्मीमाथि गरेको व्यवहारप्रति नेपाल पत्रकार महासंघ काठमाडौंले आपत्ति जनाएको छ । बिहीबार नेकपा (एकीकृत समाजवादी)पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयबाहिर सञ्चारकर्मीमाथि थापाद्वारा भएको व्यवहारले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठाएको महासंघको ठहर छ ।
महासंघले वरिष्ठ अधिवक्ता शम्भु थापाले आफ्नो पेसागत जिम्मेवारीमा रहेर समाचार संकलन गरिरहेका फोटो पत्रकार उमेश कार्कीमाथि दुर्व्यवहार गरेको भन्दै लोकतान्त्रिक मूल्य र संविधानले प्रत्याभूत गरेका अधिकारमाथिको निरंकुश हस्तक्षेप गरेको आरोप लगाएको छ ।
महासंघ काठमाडौं शाखाका सचिव रमेशकुमार बोहोराले प्रेस विज्ञप्ति प्रकाशन गरी नेपालको संविधान २०७२ को धारा १७(२)(क), १९, २७ र ३५(४) ले सञ्चारकर्मीलाई अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको अधिकार र निष्पक्ष प्रेसको प्रत्याभूति गरेको र सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ का प्रावधानहरूले गालीगलौज, धम्की दिने, डरत्रास देखाउने र पेसागत काममा अवरोध पुर्याउनेजस्ता क्रियाकलापलाई स्पष्ट रूपमा दण्डनीय मानेको बताउँदै यस्ता घटनाको दृढ प्रतिरोध गर्नुपर्ने उल्लेख गरे ।