
नेपाल मौरीपालक महासंगका अनुसार यतिवेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएकाे अवस्थामा थियो । तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो ।
तत्कालीन समयमा किसानको दबाबका कारण डाबर नेपालले केही परिमाणमा मह खरिद गरेको थियो । किसान भने महको बजारीकरणमा समस्या हुँदा ठुलो मात्रामा मौज्दात रहने अवस्था आएको बताउँदै आएका छन् ।
मौरीविज्ञका अनुसार महको माग नभएर यसरी मह घरमा बसेको होइन, नेपाली महप्रति उभोक्तामा अझै पूर्ण विश्वास नहुँदा समस्या भएको हो । त्यसमाथि नेपाली मह जम्छ र जमेको मह नक्कली हुन्छ भन्ने सोचले पनि बजारीकरणमा समस्या भएको मौरीपालक महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेको बुझाइ छ । उनले महबारे जानकारी दिने, यसको उपयोगिताबारे छलफल तथा अन्तर्क्रियाका साथै बजारीकरणका लागि काठमाडौंमा मह मेला आयोजना गरिएको बताए ।
मौरीविज्ञ जगदीशभक्त श्रेष्ठका अनुसार मौरीले बिरुवा तथा फूलको रस ल्याएर मह बनाएको हुन्छ । जस्तै, तोरीबाट मौरीले ल्याएर बनाएको मह चाँडै जम्छ । त्यसबाहेक मह १३–१४ डिग्रीभन्दा कम तापक्रममा पनि जम्छ । यसरी मह जम्ने प्रक्रियालाई प्राकृतिक मानिन्छ ।
‘मह तताउँदा महको केही गुण नष्ट हुन्छ,’ श्रेष्ठले भने । उनका अनुसार महको सेवन औषधि मात्रै होइन, यो पौष्टिक तत्त्वका लागि पनि लाभदायक हुन्छ । महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ ।
नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल महको सेवन धेरै कारणले लाभदायक भए पनि बजारीकरणको समस्या भएको बताउँछन् । मह बिक्री नभएपछि विगतका वर्षमा मौरीपालकहरू पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ । तत्कालीन समयमा सरकारलाई दबाब दिएपछि बजारीकरणको समस्या केही हदसम्म समाधान भएको थियो ।
‘हामी त नेपाली किसानले उत्पादन गरेको मह नै खरिदका लागि सुझाव दिन्छौँ, मह जम्नु प्राकृतिक भएकाले नजम्ने मह नक्कली हुन सक्छ,’ उनले भने ।
नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष राजेन्द्र गौतम नेपालमा जति मह खपत हुनुपर्ने हो त्यो जति उत्पादन हुन नसकेको बताउँछन् । उनी उत्पादित महले बजार नपाउँदा किसान समस्यामा परेको गुनासो गर्छन् ।
‘नेपाली मह गुणस्तरका हिसाबले राम्रो छ, तर यहाँका उपभोक्तालाई बुझाउन सकेका छैनौँ, मह नक्कली हो भन्ने भ्रमले पनि बजारीकरणमा समस्या छ,’ उनले भने । उनी उत्पादित महको बजारीकरणमा सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछन् । नेपाली महको अन्तर्राष्ट्रिय बजार राम्रो भए पनि निकै कम परिमाणमा निर्यात भएको उनको भनाइ छ ।
किसान आफैँ मह उत्पादन गरेर बजार जान सक्दैनन् । सरकारबाट खाद्य अनुज्ञापत्र लिनुपर्छ । हरेक किसानले प्रोसेसिङ युनिट राख्न सक्दैन । त्यसैले पनि नेपाली मह बिक्री नभएको जानकार बताउँछन् ।
नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष जानुका थापा यी यावत् समस्या बुझाउँदै र महको बजारीकरणका सन्दर्भमा मौरीपालन गर्ने किसानलाई संगठित गरी महको बजारीकरणमा काम गर्नुपर्ने बताउँछिन् ।
भृकुटीमण्डपमा जारी मह मेलामा ४० वटा कक्षमा मह, घार, पोलन, प्रपोलिस, टोपी, ब्रसलगायत सामग्री राखिएको छ । मेलामा सातै प्रदेशका किसानको सहभागिता छ । त्यस अवसरमा महसम्बन्धी छलफलसमेत आयोजना गरिएको छ ।
मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेका अनुसार मेलामा मौरीपालनका क्षेत्रमा प्रयोग हुने प्रविधि, मौरीका विभिन्न प्रजातिबारे र महसम्बन्धी जानकारी दिइनेछ । उनका अनुसारका मौरीको प्रजातिअनुसार महको गुण, स्वाद र रङ फरक हुन्छ ।
महासंघ आबद्ध किसानले यस वर्ष मात्रै २२६ टन मह उत्पादन गरेका छन् । नेपालमा सेरेना मौरीको गोला १२ हजार १३८ वटा छ भने मेलिफेराको ६ हजार पाँच सय गोला छ । सेरेना पाल्ने किसान ७११ जना र मेलिफेरा मौरी पाल्ने किसान २७० जना महासंघमा आबद्ध छन् । रासस