
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, ऊर्जासचिव सुरेश आचार्य र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोलीले म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । प्राधिकरणको सहायक रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजना एक्जिम बैंक अफ इन्डियाको ६७ मिलियन अमेरिकी डलर सहुलियत ऋणमा निर्माण भइरहेको हो ।
कुल अनुमानित लागत नौ अर्ब १७ करोड २६ लाख रहेको आयोजनामा एक्जिम बैंक अफ इन्डियाबाट ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण आएको छ । बाँकी रकम नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले संयुक्त रूपमा लगानी गर्ने व्यवस्था गरिएको छ । यो आयोजना आगामी पुससम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । सोअनुसार कार्यप्रगति, कार्यस्थलको अवस्था, साइटमा कार्य गर्दा आइपरेका समस्या तथा तोकिएको समयमा कार्य सम्पन्न गर्न गर्नुपर्ने सहजीकरणबारे आयोजना निर्माणस्थलमा नै छलफल गरिएको छ ।
आयोजनाको निर्माणकार्यलाई सिभिल तथा हाइड्रो–मेकानिकल कार्य र इलेक्ट्रो–मेकानिकल कार्य गरी दुईवटा लटमा विभाजित गरिएको छ । यस आयोजनाको लट–१ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि ठेकेदार जैप्रकाश एसोसिएट लिमिटेड इन्डियासँग ठेक्का सम्झौता भई हाल कार्य भइरहेको छ ।सिभिल कार्यअन्तर्गत बाँध, इन्टेक, डिस्यान्डर, टनेल, सर्ज साफ्ट, प्रेसर साफ्ट, विद्युत्गृहलगायतका कार्य समावेश छन् । हालसम्म सिभिल कार्यअन्तर्गत करिब ८१ प्रतिशत भौतिक प्रगति भएको छ ।
यस आयोजनाको लट–२ इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार भारत हेभी इलेक्ट्रिकल लिमिटेड, इन्डियासँग खरिद सम्झौता भई इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्य भइरहेको छ । इलेक्ट्रोमेकानिकल लटअन्तर्गत टर्बाइन, जेनेरेटर, गभर्नर, ट्रान्सफर्मरलगायतका उपकरण आपूर्ति तथा जडान कार्य भइरहेको छ ।
हालसम्म इलेक्ट्रोमेकानिकल कार्यअन्तर्गत निर्माण व्यवसायीको प्लान्टमा भएका विभिन्न यन्त्र उपकरणको निर्माण तथा सोको सफल इन्सपेक्सन, निर्माण स्थलमा भइसकेको आपूर्तिको प्रगति र जडान भइसकेको प्रगतिको आधारमा हालसम्म इलेक्ट्रोमेकानिकल कार्यको प्रगति करिब ५० प्रतिशत रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रसारण गर्न दाना–कुस्मा २२० केभी प्रसारणलाइनमा लुप इन लुप आउट प्रणालीबाट प्रसारण गरिनेछ र सोको कार्य सम्पन्न भइसकेको छ । आयोजना सम्पन्न भएपछि ऊर्जा आपूर्तिको समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्नेअपेक्षा गरिएको छ ।