
प्रधानमन्त्री केपी ओलीले मधेश प्रदेशका आठ जिल्लाको ६४ वटा सडकको शिलान्यास गरेका छन् । मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत प्रधानमन्त्री ओलीले प्रदेशका आठवटै जिल्लाका ६४ वटा कालोपत्रे सडकको डिजिटल शिलान्यास गरेका हुन् ।
आइतबार जनकपुरधाममा आयोजित शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारसँगै ढिलसुस्तीलाई पनि नियन्त्रण गर्नुपर्ने बताएका हुन् । ठेक्का लिएर ढिलासुस्ती गर्नु भ्रष्टाचारभन्दा ठुलो अपराध रहेको उल्लेख गर्दै प्रम ओलीले भने, ‘भ्रष्टाचार १० प्रतिशतसम्म होला । तर, ठेक्का लिएर वर्षौँ लगाउने प्रवृत्तिले योजनाको मूल्य बढेर शतप्रतिशत पुग्छ । यसले एकातिर आर्थिक घाटा हुनछ भने अर्कोतर्फ योजना समयमा सम्पन्न नहुँदा त्यसको उपलब्धि हजार प्रतिशत क्षति हुन्छ । त्यसकारण अब भ्रष्टाचार नियन्त्रण सँगसँगै ढिलासुस्तीलाई पनि नियन्त्रण गर्नुपर्ने हुन्छ ।’
अब ढिलासुस्ती गर्ने ठेकेदारलाई सरकारले धैर्य गरेर सहेर नबस्ने प्रम ओलीले चेतावनी दिए । उनले भने, ‘कि त काम गर, नत्र ठेक्का तोडिन्छ । अहिलेको प्राविधिक युगमा सरकारले धैर्य गरेर बस्न सक्दैन ।’चुरे विनाशको कारण मधेशको पानी सतहभन्दा तल गइरहेको र सुक्खा बढ्दै गएकोे भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई सुधार गर्न चुरे क्षेत्रमा पोखरी निर्माण गर्नुपर्नेमा जोड दिए । मधेश समतल र उर्वरभूमि भए पनि विकास निर्माणमा पछि पर्नु दुःखद विषय रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रमा तीन सय २० किलोमिटर कालोपत्रे सडक निर्माणका लागि करिब १२ अर्ब ७० करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेको जानकारी दिए ।
मन्त्री यादवका अनुसार बहुवर्षीय योजनाअन्तर्गत आगामी तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सडकहरू साढे पाँच मिटरदेखि सात मिटर चौडाइमा निर्माण हुनेछन् । आगामी तीन वर्षभित्रमा ६४ वटै सडक निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यसहित चालू आर्थिक वर्षमा मधेश प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड दरको बजेट विनियोजन गरिएको मन्त्री यादवले बताए ।
उनले एक निर्वाचन क्षेत्र एक पुलको कार्यक्रमसमेत अगामी आर्थिक वर्षमा राखिने बताए । शिलान्यास गरिएका सडकहरूको टेन्डर प्रक्रिया समाप्त भई सम्झौताको चरणमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जयप्रसाद साहले बताए । चालू आर्थिक वर्षमा प्रत्येक सडकका लागि दुई करोडको दरले रकम विनियोजन गरिएको उनले बताए । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत निर्माण हुने सडक एक पालिकाबाट अर्को पालिका जोडिने, एक निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्रमा जोडिने तथा केही पूर्व–पश्चिम राजमार्ग जोड्ने गरी निर्माण हुने उनको भनाइ छ । उक्त योजनाअन्तर्गत नयाँ सडक निर्माणदेखि पुरानै कच्ची सडकलाई पक्की बनाइने बताए ।