
आगामी आवको बजेट समग्रमा कस्तो आयो ?
समग्रमा बजेट ठिकै आयो । निजी क्षेत्रलाई उत्साहित गर्नेगरी सुधारका कार्यक्रमहरू आएका छन् । यसले निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको छ । यसले सुस्ताएको अर्थतन्त्रलाई चलायमान गराउन सक्छ ।
विकास निर्माणमा भन्दा साँवा र ब्याज भुक्तानीमा बढी बजेट विनियोजन गर्नुपर्ने अवस्थाले के संकेत गर्छ ?
विकास निर्माणमा भन्दा साँवा र ब्याज भुक्तानीमा बढी बजेट विनियोजन गर्नुपर्ने अवस्था आउनुले हामीले फजुल खर्च घटाउन सकिरहेका छैनौँ भन्ने देखाउँछ । हाम्रो राजस्वले सार्वजनिक खर्चसमेत थेग्न नसक्ने अवस्था आउँदा यो असन्तुलन झनै बढ्छ । बढी राजस्व उठाउने नाममा करको दर बढाइयो भने त्यसबाट राजस्व बढ्दैन, करछलीचाहिँ बढ्छ । करको दर कम गरेर सुशासन कायम गर्न सकियो भने मात्र राजस्व बढ्छ । तर, यसतर्फ बजेटको ध्यान गएको देखिन्न ।
यस्तो असन्तुलनमा सुधार ल्याउन के गर्नुपर्ला ?
यसमा सुधार ल्याउने मुख्य उपाय भनेको फजुल खर्चमा निर्मम कटौती र राजस्वको वृद्धि नै हो । यसका लागि प्रशासनिक सुधारदेखि धेरैतिर एकसाथ खर्च कटौतीका उपाय या बाटाहरू खोजी गर्नु जरुरी छ । अनावश्यक कार्यालय र अनावश्यक नियुक्तिहरूका कारण फजुल खर्च बढ्ने हुनाले त्यसमा पनि तत्काल सुधार गर्नुपर्छ । यसका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ । साथै, प्रतिफल दिने आयोजना छनोट गरी तिनमा मात्र लगानी गर्नुपर्छ । खर्च गरिसकेपछि उत्पादन दिने ठाउँमा मात्र लगानी गर्नुपर्छ । यसका लागि अनुत्पादक क्षेत्रमा हुने विकास खर्च रोकिनुपर्छ । दिनमा ५–७ गाडी चल्ने सडक, सातामा एक–दुई उडान हुने विमानस्थलको के काम ?