१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
पवन बराइली काठमाडाैं
२o८२ जेठ १९ सोमबार o६:३१:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अब सम्झनामा मात्रै रसिक

Read Time : > 2 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार o६:३१:oo

‘रातो भाले क्वाँए क्वाँए...’, ‘घरबेटी नानी, आँगनमा देऊ न मलाई बास’, ‘मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ’, ‘नखेल्नु जुवा र तास’, ‘मागी मिठो, सधैँ आफ्नो...’, ‘तराई हेर कति राम्रो हरियो वन...’, ‘हामी धेरै साना छौँ, हाम्रो मुटु सानो छ...’ जस्ता राष्ट्रिय चेतना र सामाजिक परिवर्तनको सन्देश दिने गीतका लोकप्रिय गायक गणेश रसिकको ७८ वर्षको उमेरमा आइतबार निधन

भोजपुरको एउटा कुनामा जन्मिए, आमनेपाली मनको कुना–कुनामा बस्न सफल भए । जीवनपर्यन्त मात्रै होइन, जीवनोपरान्त पनि । हो, ‘रातो भाले क्वाँए क्वाँए...’, ‘घरबेटी नानी आँगनमा देऊ न मलाई बास...’, ‘हट्ने होइन, डटी लड्ने...’ जस्ता राष्ट्रिय चेतना र सामाजिक परिवर्तनको सन्देश दिने दर्जनौँ लोकप्रिय गीत गाएका वरिष्ठ सर्जक, साहित्यकार तथा गीतकार गणेश रसिक नेपाली मनको कुनाकुनामा सम्झना छाडेर भौतिक रूपमा अस्ताएका छन् । 

४ असोज ००४ मा भोजपुरको छिनामखुमा जन्मिएका रसिक पाँच दशकअघि ‘लेकाली’ सांगीतिक समूहबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । उनको ७८ वर्षको उमेरमा आइतबार बिहान ११ बजे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । उनी दुई वर्षदेखि प्रोस्टेट क्यान्सरको उपचारमा थिए ।  उनले कवि, गीतकार, संगीतकार, लेखक, निबन्धकार, नियात्राकार र प्रशासकका रूपमा आफ्नो बहुआयामिक पहिचान बनाए । ०५० को दशकमा उनी भोजपुरबाट इलाम सरेका थिए । उनका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको छ । 

देशप्रेमका गीत गाउनुभयो । गीतमार्फत नेपाली युवा जमातलाई स्वाभिमानी हुनुपर्छ भन्ने सिकाउनुभयो । मान्छे आफैँ पौरखी हुनुपर्छ भन्ने गीतबाट सन्देश दिनुभयो । हामीले दासत्व स्विकार्नुहुँदैन भन्ने कुरा सिकाउनुभयो । राष्ट्रवादी भावनाले ओतप्रोत भएका गीत छन् : बुलु मुकारुङ, संगीतकार

रसिकका ‘सारंगीभित्र’ कथासंग्रह, ‘गणेश रसिकका गीतहरू’, ‘आकाशगंगाको ओतमुनि’, ‘दशगजामा उभिएर’, ‘जब सिस्नोहरू टेक्दै हिँडे’ लगायत कथा, कविता, निबन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनी साहित्यिक, सांगीतिक र प्रशासनिक क्षेत्रमा पनि सक्रिय थिए । उनले रत्न रेकर्डिङ संस्थान, साझा प्रकाशनमा अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानका महाप्रबन्धक तथा नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिवको रूपमा नेतृत्व सम्हालेका थिए । उनले देशभक्तिपूर्ण गीत, बालगीत, लोकगीत, प्रेमगीतदेखि सामाजिक चेतनायुक्त गीतमार्फत नेपाली समाजलाई लामो समयदेखि प्रेरणा दिँदै आएका थिए । ‘हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ...’ भन्नेजस्ता गीतहरूले उनीभित्रको राष्ट्रप्रेम झल्काउँछ । 

संगीतकार बुलु मुकारुङ रसिकलाई देशभक्त स्रस्टाको रूपमा चिन्ने बताउँछन् । गीतकार मुकारुङ उनलाई स्मरण गर्दै भन्छन्, ‘उहाँलाई धेरै पक्षबाट सम्झन्न सकिन्छ । देशप्रेमका गीत गाउनुभयो । गीतमार्फत नेपाली युवा जमातलाई स्वभामिानी हुनुपर्छ भन्ने सिकाउनु भयो । मान्छे आफै पौरखी हुनुपर्छ भन्ने गीतबाट सन्देश दिनु भयो । कर्म गर्नुपर्छ परिश्रम गर्नुपर्छ भन्ने कुराबाट सिक्न सकिन्छ । हामीले दासत्व स्विकार्नु हुँदैन भन्ने कुरा सिकाउनुभयो । राष्ट्रवादी भावनाले ओतप्रोत भएका गीत छन् ।’

साहित्यकार राधेश्याम लेकाली रसिकको नेपाली संगीत र साहित्यमा अतुलनीय योगदान रहेको बताउँछन् । ‘उहाँ आफैँ कविता लेख्नुहुन्थ्यो, गीत लेख्नुहुथ्यो आफैँ गाउनु पनि हुन्थ्यो । उहाँले मनोरञ्जनका लागि मात्रै होइन, राष्ट्रिय भावका गीत लेख्नुभयो । राष्ट्रियता, स्वतन्त्रता, विकृति, सामाजिक परिवर्तनका लागि गीत गाउनुभयो । साहित्यमा उहाँको आफैँमा विशिष्ट योगदान छ । लेकाली समूह स्थापित गरेर राष्ट्रियताको अभिनयको ठुलो योगदान गर्नुभयो । त्यसैले उहाँ राष्ट्रवादी लेखक, राष्ट्रका लागि चिन्ता गर्ने मान्छे, नयाँ पुस्तालाई कसरी अघि बढाउने भन्ने चिन्तामा डुब्ने व्यक्ति पनि हो । जसले नेपाली संगीत र साहित्यलाई डोर्‍याउनुभयो’, उनले भने । 

लोकगायक कुमार बस्नेतले रसिकको लोकगीतको क्षेत्रमा ठूलो योगदान रहेको बताए । उनले रसिकलाई असल र मिहिनेती व्यक्तिको रूपमा चिनेको बताए । भन्छन् ‘मैले चिनेको उनी सरल स्वभावका र सबै कलाकारले माया गर्ने र आदर गर्ने व्यक्ति थिए । ०३१ सालतिरको कुरा हो गणेश रसिक र म स्पोर्टस् काउन्सिलले आयोजना गरेको लोकदोहोरी प्रतियोगिताको निर्णयकमा सँगै थियौँ । त्यतिबेला उनले निष्पक्ष निर्णायकको भूमिका निभाएका थिए । त्यसवेलादेखि नेपालमा लोकदोहोरीले खुट्टा टेकेको हो । दोहोरी गीतमा खुट्टा टेकाउने काममा उसको पनि योगदान छ ।’