Skip This
प्रधानमन्त्री कप पुरुष भलिबल : हेल्प नेपाल पाँचौँपटक च्याम्पियन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १६ शुक्रबार o७:o७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप पुरुष भलिबल : हेल्प नेपाल पाँचौँपटक च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार o७:o७:oo

साबिक विजेता हेल्प नेपाल प्रधानमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको पाँचौँपटक च्याम्पियन बनेको छ । पोखरामा बिहीबार भएको नवौँ संस्करणको फाइनलमा हेल्प नेपालले घरेलु टोली गण्डकी प्रदेशमाथि ३–२ को रोमाञ्चक जित निकाली पाँचौँपटक ट्रफी उचालेको हो । उपाधिसँगै हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा छनोट भएको छ । गत वर्ष नेपालमा आयोजना भएको काभा क्लब च्याम्पियन्समा हेल्प नेपाल र गण्डकीले सहभागिता जनाएका थिए । 

पोखराको कभर्ड हलमा गण्डकीले पहिलो दुई सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । गण्डकीले पहिलो सेट २५–२० र दोस्रो २७–२५ ले जित्दै २–० को अग्रता लियो । हेल्प नेपाललाई खेलमा फर्कन कम्तीमा तेस्रो र चौथो सेट जित्नुपर्ने थियो । हेल्प नेपालले रणनीति परिवर्तन गर्दै तेस्रो तथा चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्‍यो । अर्कोतिर गण्डकीलाई उपाधि जित्न केवल एक सेट मात्र जित्दा काफी थियो ।

सम्भवतः पहिलो दुई सेटमा कब्जा जमाएकाले गण्डकी ओभर कन्फिडेन्स देखिएको थियो । जसको फाइदा लिँदै हेल्प नेपालले बाँकी तीन सेट २५–२२, २५–१४ र १५–८ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो । हेल्प नेपालले लगातार तेस्रो ट्रफी जित्दा गण्डकी निराश बन्यो । यसअघि हेल्प नेपालले तेस्रो र पाँचौँ संस्करण पनि जितेको थियो । 

उपाधिमा पुलिसको ह्याट्रिक
महिलातर्फ नेपाल पुलिस क्लबले न्यु डायमन्ड युथ स्पोर्टस् एकेडेमीलाई ३–१ ले हराउँदै उपाधि रक्षा गरेको छ । पुलिस लगातार तेस्रोपटक च्याम्पियन बनेको हो । पुलिस र न्यु डायमन्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन् । पुलिसले पहिलो सेट २५–२० ले जित्यो । न्यु डायमन्डले दोस्रो सेट २५–२२ ले बाजी मार्‍यो । फाइनल खेल १–१ को बराबरीमा पुग्यो । तुलात्मक रूपमा तेस्रो सेट प्रतिस्पर्धात्मक बनेको थियो । दुवैले २६–२६ को स्कोर गरेका थिए । तर, निर्णायक मोडमा न्यु डायमन्डले गल्ती गरेपछि पुलिसले तेस्रो सेट २८–२६ ले जित्यो । 

पुलिसले चौथो सेट २५–१४ ले जित्दै लगातार तेस्रोपटक उपाधि हात पार्‍यो । यसअघि लिग चरणमा पुलिसले न्यु डायमन्डलाई ३–० ले हराएको थियो । महिला र पुरुषका विजेताले समान आठ लाख रुपैयाँ पाएका छन् । उपविजेता गण्डकी र न्यु डायमन्डले समान चार लाख पाए । पुलिस र एभरेस्टले तेस्रो स्थानमा रहँदै दुई लाख हात पारे । नेपाल भलिबल संघको आयोजनामा ८ जेठदेखि सुरु भएको लिगमा पुरुषतर्फ आठ र महिलामा ६ टोलीले भाग लिएका थिए ।