१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
राजेश विद्रोही
२o८२ बैशाख २३ मंगलबार o९:३o:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अम्बेडकर पार्कको विरोध किन ?

Read Time : > 5 मिनेट
राजेश विद्रोही
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार o९:३o:oo
  • अम्बेडकर पार्क बन्नु दलितका लागि मात्र नभई सम्पूर्ण शोषित, अपहेलित एवं वञ्चितीकरणमा परेका सीमान्तकृत समुदायका लागि आत्मसम्मानको विषय हो 

१५ वैशाखमा सिराहाको ऐतिहासिक धार्मिक स्थल सलहेस फूलबारीछेवैमा एक दाताले दिएको १० धुर जमिनमा विश्व दलित इतिहासका प्रेरक व्यक्तित्व भारतीय संविधानका सर्जक डा. भीमराव अम्बेडकरको प्रतिमा स्थापना कार्यको मधेश प्रदेश सरकारले एक करोड लागतमा शिलान्यास गर्‍यो । सो कार्यको मधेशका मुख्यमन्त्री सतीशकुमार सिंह, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत साक्षी बने । तर, शिलान्यास कार्यक्रम सम्पन्न हुँदानहुँदै सलहेस फूलबारीमा किन अम्बेडकर भन्दै विरोधका आवाज उछालिए । मलीन स्वरमा कोही समर्थनको कित्तामा पनि उभिए । आश्चर्य त के भने दलित समुदायका र सचेत मानिसले समेत सलहेसको छेउमा अम्बेडकर किमार्थ हुँदैन भन्दै उहाँलाई विदेशी करार गरी विरोध गरेको देखियो । बुझ्नुपर्ने के छ भने विरोध गर्नेमध्ये कैयौँलाई न त सलहेसप्रति कुनै सम्मान छ, न अम्बेडकरप्रति नै । उनीहरूले मालिक रिझाउने ठुलै खुराक पाएका छन् । यसलाई उनीहरूले दलितमाझ फुट पैदा गर्ने अस्त्रसमेत बनाउन खोजेको देखियो ।

संकुचित सोच भएका पूर्वाग्रही केही मानिसका लागि अम्बेडकर विदेशी होलान् । तर, धेरैका लागि उनी मानवतावादका एक जाज्ज्वल्यमान व्यक्तित्व हुन्, एक विश्व मानव हुन् । जात, नश्ल, वर्णभेदका सिकार करोडौँ प्रताडितका लागि उनी एक मुक्तिपथ हुन् । भारतीय उपमहाद्वीपमा महाकलंकका रूपमा रहेको मनुवादी जात व्यवस्थाको जाँतोमा हजारौँ वर्षदेखि पिसिन बाध्य भएकाहरूका एक मात्र आशाका पुञ्ज हुन् । मानवताका एक सच्चा पुजारी हुन् । लोकतन्त्रका पथप्रदर्शक हुन् । यसर्थ, उनी विदेशी होइनन् । झन्, ६० लाख दलितका लागि त उनी प्रेरणापुञ्ज हुन्, देवतुल्य मुक्तिदाता हुन् । यसर्थ, सहलेस फूलबारीको छेवैमा डा. अम्बेडकरको मूर्ति स्थापना गर्नुजत्तिको अर्थपूर्ण अरू के हुन सक्छ ? यो त सुनमा सुगन्ध थपिएको हो । दलित मात्रै होइन, सम्पूर्ण शोषित, अपहेलित एवं वञ्चितीकरणमा परेका सीमान्तकृतले यसको मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने हो । हामी किन विरोध गर्दै छौँ ? हामीलाई कसले उक्साउँदै छ ? हामीमा यसको विरोध गर्नुपर्ने विचार कसरी पलायो ? यी प्रश्नमा चिन्तनमनन गर्नु जरुरी छ ।

नेपालको छुट्टै दलित इतिहास छ, थुप्रै दलित सहिद पनि छन् । सलहेसलगायत दलितका धार्मिक ऐतिहासिक प्रशस्त स्थल छन् । यिनको कुनै संरक्षण छैन । भारतमा जन्मिएका र भारतीय संविधान (१९४७) का प्रणेता अम्बेडकरको सालिक नेपालमा किन बनाउनुपर्‍यो भन्ने तर्क गर्दा हामी के बिर्सिन्छौँ भने केही दशकअघिसम्म नेपालका दलितलाई ठुला जातकाले मार्दा खतबात लाग्दैनथ्यो । हाम्रो जीवनको कुनै मूल्य थिएन । हामीलाई सम्पत्ति राख्ने हक थिएन । राखे दण्डनीय अपराध मानिन्थ्यो । हामीले पढ्नु महाअपराध मानिन्थ्यो । किनकि, पढेलेखे, जान्नेबुझ्ने भए मनुवादी वर्ण व्यवस्थाको भेद खुल्थ्यो । दलित समुदायले चुकाएको मूल्य, सहेको दलन, सकस, प्रताडना बेहिसाब थियो, छ र अझै रहने निश्चित छ ।

१९१० को मुलुकी ऐनको धङधङी अझै नेपालको कानुनी प्रणालीमा विद्यमान छ । प्रहरी, प्रशासन अझै पनि दलितविरोधी छन् । सामाजिक प्रणालीमा छुवाछुत, उँचनिचको भाव उत्तिकै जिम्दो छ । यस्तो अवस्थामा जात व्यवस्थाका कट्टर आलोचक एक दलित महामानव नेपाली वृत्तका लागि पाच्य हुने कुरै भएन । केही दलितले भने कुरा नबुझेर विरोध गरेका हुन् । केहीको नजरमा दुसाध जातिका धार्मिक लोकनायक सलहेसको आफ्नै मौलिक इतिहास छ । उनको ठाउँमा अम्बेडकर पार्क किन ? अन्य ठाउँमा स्थापना गरे पनि हुन्थ्यो भन्ने पार्न खोजिएको छ । यो दलितभित्रै लडाउने, भिडाउने, फुटाउने र राजनीतिक रोटी सेक्ने काम हो । त्यो पनि थोरै जमिनजस्ता तर्क दिएर नकारात्मक हुन उक्साउन खोजिएको छ । धेरै र अझ राम्रो स्थानमा दलित आन्दोलनका अभिप्रेरणा अम्बेडकरको प्रतिमा राखी बगैँचा किन नबनाएको र किन यहीँ बनाउनुपरेको भनी भ्रम सिर्जना गर्ने प्रयास गरिएको छ ।

यो देशमा १३ प्रतिशत दलित छन् । मधेश प्रदेशमा दलितको संख्या अझ धेरै छ । यहाँ १८ प्रतिशतभन्दा बढी जनसंख्या दलितको छ । दलितको यो संख्या अहिलेका सत्तासीन राजनीतिक दल र शासक वर्गका लागि आकर्षक भोट हो । तैपनि, दलित नेतृत्व र समुदाय पाइला, पाइलामा चुक्दा उनीहरू उपल्ला जातका शासकका गोटीमै सीमित हुन पुगेका छन् । दलितका सम्पदाको संरक्षण उनीहरूको प्राथमिकता होइन, हेलाको विषय बन्दै आएको छ । सहलेसमाथि अम्बेडकर थपिँदा उच्च जातका शासकका लागि बिझ्ने नै भयो । सहलेसको अस्तित्व मेट्न अम्बेडकर ल्याइयो भन्ने पार्न सकिए, दलितबिच फुटको राम्रै बीजारोपण हुने पनि केहीलाई लागेको छ । तर, सहलेस र अम्बेडकर दुवै हाम्रा लागि उत्तिकै ग्राह्य, उत्तिकै सम्माननीय छन् । 

अम्बेडकर पार्क बन्दै गरेको जमिन सानो भएकाले पनि केहीलाई चित्त नबुझेको हुन सक्छ । तर, ठुलो ठाउँका लागि पहल नभएको भने होइन । हामीलाई ठुलो र राम्रो स्थान कसले उपलब्ध गराइदिन्छ ? नेपाली दलित समुदायमध्ये पनि मधेशी दलितको अवस्था आम रूपमा सोचेभन्दा फरक र दयनीय छ । यहाँ पनि यहाँका दलित अनागरिकको हैसियतमा पशुवत् जीवन बाँच्न विवश छन् । भूमिहीन सुकुम्बासी तथा बेरोजगारीको अवस्था उस्तै विकराल छ । अझै पनि यहाँका दलित र दलित बस्ती समाजिक विभेदको हिसाबले बस्तीको छेउकुनामै सीमित छन् । खोलानालालगायत सार्वजनिक जग्गामै कैद छन् । जनता आवास र सुरक्षित आवास आदिका नाममा चलेको राज्यको राजनीतिक व्यापार पनि त्यतै दृष्टिगोचर हुन्छ । हो, अम्बेडकर पार्क निर्माणका लागि जुन स्तरबाट पहल र चिन्तन हुनुपथ्र्यो, त्यसमा कमी भएकै हो । तसर्थ, यो पार्क निर्माणको अभियान पनि जातीय विभेदको मनोविज्ञानबाट ग्रसित हुन पुगेको छ । तथाकथित शासक समुदाय वा बिरादरीको कुनै व्यक्तिको सालिक भइदिएको भए यस्तो पक्कै हुने थिएन । तर, यो पर्‍यो उनीहरूको नजरमा अछुत दलितको सालिक । त्यसैले यसलाई अतिरञ्जित गर्ने काम भएको हो ।

डा. अम्बेडकर जन्मँदा हिन्दु सनातनी घरकै थिए । पछि आफ्नो जातीय र धार्मिक सामाजिक विभेदविरोधी संघर्षका क्रममा दलित विपन्न समाजमाथि हिन्दु सनातन संस्कृतिले गरेको विभेदबाट आजित भएर विद्रोह गरी उनले बुद्धधर्म अनुसरण गरे । । कैयौँलाई नेपालका दलितले पनि कतै यस मामिलामा अम्बेडकरकै सिको गर्ने हुन् कि भन्ने भय पनि छ । दलित समुदायमाथि केही कथित हिन्दु अतिवादी योजनाबद्ध ढंगले दलित समुदायलाई विभेदको सिकार बनाउने गरी दलितविरोधी गतिविधिमा सामेल छन् । यसले दलित हिन्दुत्वलाई समेत उनीहरूको विभेदकारी गतिविधिले हिन्दु परित्याग गर्न प्रेरित गरिरहेको छ । धर्मका नाममा विभेद जोगाउनु किमार्थ उचित होइन । यस्ता कुसंस्कार र संस्कृतिलाई भत्काउँदा मात्र धर्म जोगिन्छ । धर्म अधर्म होइन्, धर्मजस्तै देखिनेछ ।

भारतसँग नेपाल र नेपाली जनताको सम्बन्ध त्यसमा पनि मधेशी जनताको सम्बन्ध समाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक, सांस्कृतिक तथा भौगोलिक रूपमा समेत ‘अर्गानिक’ किसिमको छ । बेटीरोटीको सम्बन्ध झल्काउन हरेक वर्ष राम–सीता विवाह सम्बन्धलाई विवाह पञ्चमीका रूपमा मनाइन्छ । यो सम्बन्ध र इतिहासलाई जीवित राख्न दुवै देशले हरेक वर्ष ठुलो धनराशी खर्च गर्छन् । केहीअगाडि धार्मिक सांस्कृतिक प्रगाढताका लागि नेपालले भारत सरकारलाई देवशिला दिएको थियो । त्यो शिला अयोध्या पुगेको छ । नेपाललगायत धेरै देशमा गान्धी, मन्डेला, माओ, लेनिन, मार्क्स, राम, सीता, लक्ष्मण, जनकलगायतका सालिक र प्रतिमा छन् । के उनीहरूमाथि यस्ता प्रश्न उठेका छन् ? कुरा त्यति मात्र छैन, सन् १९५६ मा अम्बेडकर कानुनमन्त्रीका रूपमा नेपाल आउँदा तत्कालीन राजा महेन्द्र उनको भाषणबाट प्रभावित भएर नेपालमा जातीय छुवाछुत कम गर्नेतर्फ अग्रसर भएका थिए । विभूति निश्चित ठाउँ या देशको हुँदैन । त्यो संसारको सम्पत्ति र विचार हो । डा. अम्बेडकर त मानवजातिका लागि नै उदाहरणीय व्यक्ति हुन्, विश्व विचार हुन् । उनको विचार, दृष्टि र व्यक्तित्वलाई भारतले मात्र पुज्दैन, संसारले नै पुज्छ । उनी भारतीय संविधानका प्रणेता मात्र होइनन् । अमेरिका, जापान, श्रीलंका, बेलायत, अस्ट्रेलिया, क्यानडालगायत संसारका धेरै देशमा उनको सालिक, पार्क र प्रतिमा स्थापित छन् । धेरै विश्वविद्यालयमा अम्बेडकरबारे पढाइ हुन्छ । लन्डनको म्युजियममा कार्लमार्क्सको सालिकसँगै अम्बेडकरको सालिक पनि छ ।

कोलम्बिया विश्वविद्यालयले सन् २००४ मा विश्वभरिका एक सय एक विद्वान्को नाम सूचीकृत गरेकामा अम्बेडकरलाई पहिलो नम्बरमा राखेको थियो । यतिसम्म कि उनलाई संसारका विभिन्न धर्मावलम्बीले देउताका रूपमा समेत पुज्छन् । नेपालकै केही महान् व्यक्तिहरू गौतम बुद्ध, अरनिको, भानुभक्त आचार्य, बिपी र धार्मिक रूपमा पशुपतिनाथ, सिद्धगणेशलगायतलाई भारत, थाइल्यान्ड, श्रीलंका, जापान, चीन, भियतनाम, म्यानमार, कम्बोडिया, लाओस, दक्षिण कोरिया, अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रेलिया जर्मनी आदि थुप्रै मुलुकमा पुज्छन् । उनीहरूको सालिक, प्रतिमा र पार्क छन् । के उल्लिखित देश र त्यहाँका नागरिक नेपालीभन्दा चिन्तनमा कमजोर भएर त्यसो भएको हो ? यसर्थ, सिरहाको ऐतिहासिक सलहेस फूलबारीछेउमा अम्बेडकर पार्क निर्माण गर्नु सलहेस इतिहासमाथिको प्रहार होइन, बरु सलहेस इतिहासलाई सिंहदरबार र मधेशका नश्लवादी शासकले आजसम्म दबाएर अछुतका रूपमा राखिएको अवस्थाबाट निकालेर विश्वमाझ स्थापित गर्नु हो । सलहेस इतिहास जोडिएका वरिपरिका चार स्थान पोखडियागढ, मानिकदह, ढोडनालगायत स्थानको महत्व झनै बढ्नेछ । नजिकै सप्तरीसँग जोडिएको मुसहर समुदायका कुल देउता दिनाराम दिनाभद्रीजस्ता दलित इतिहासमाथि सबैको चासो बढ्नेछ । यसबाट रिसर्च अनुसन्धान गर्ने लहर संसारभर पैदा हुन सक्छ ।

अम्बेडकर पार्क सलहेस फूलबारीभन्दा अलग स्थापना गर्दाको महत्व र सँगै स्थापना गर्दाको महत्वमा ठुलो अन्तर छ । ठाउँ साँघुरो भयो भन्ने पाटो बहसको विषय हुन सक्छ । तर, पार्क स्थापना कार्य गलत भने भएको छैन । यसलाई झन् कसरी विश्वव्यापीकरण गर्न सकिन्छ, बरु सबै त्यसतर्फ लागौँ । ठाउँ सानो भयो भनेर यसलाई कसरी ठुलो गर्न सकिन्छ, बरु समय त्यतातिर खर्चौं । नेपालका केन्द्रीकृत तथा मधेशी नश्लीय शासकले मधेशी दलितलाई न्याय नदिएको अवस्थामा बरु यसले थोरै भए पनि विचार र व्यापकताको हिसाबले सांसारिक न्याय दिनेछ । विश्व दलित इतिहासको एउटा ठुलो कडी नेपालबाट जोडिनेछ । यो ऐतिहासिक कार्यले थोरै भए पनि अहिलेको अवस्थामा दलित समुदायले न्यायको अनुभूतिसँगै गर्वको सास फेर्नेछन् ।