
नेपालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सेना प्रकृति, पर्यावरण र वन्यजन्तु सुरक्षामा खटिएको ५० वर्ष भएको छ । ०३२ देखि खटिएको सेनाले १२ राष्ट्रिय निकुञ्ज तथा एउटा सिकार आरक्ष र एउटा वन्यजन्तु आरक्षको सुरक्षा दिइरहेको छ । सेनाका आठ गण, सातवटा अनाश्रित गुल्म र चितवनको कसरास्थित प्रकृति संरक्षण शिक्षालयमा गरी जम्मा आठ हजार जनशक्ति प्रकृति र पर्यावरण संरक्षणमा परिचालित छन् । संरक्षण क्षेत्रमा परिचालित सैनिकमध्ये हालसम्म ११६ जनाले ज्यान गुमाएका छन् ।
चितवन, से–फोक्सुन्डो, शुक्लाफाँटा, मकालु–वरुण, बाँके, बर्दिया, शिवपुरी–नागार्जुन, पर्सा, रारा, खप्तड, सगमाथा, लाङटाङ निकुञ्ज, ढोरपाटन सिकार आरक्ष तथा कोशी टप्पु वन्यजन्तु आरक्षमा सेनाको सुरक्षा छ । चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा छन् । ‘प्राप्त साधन–स्रोतबाट सेनाले ५० वर्षदेखि जिम्मेवारी वहन गरिरहेको छ र आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ,’ सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भने, ‘पूर्वाधार थपिएका छन् । अप्ठ्यारा रहे पनि क्रमशः समाधान हुँदै जानेछन् । सेनाले आफ्नो कर्तव्य जस्तोसुकै प्रतिकूलतामा पनि निर्वाह गर्नेछ ।’
सेनाले साझेदार निकायसँगको समन्वयमा नियमित गस्ती र अपरेसनल कार्य सञ्चालन गर्दै आएको छ । सेनाले अप्रेसन संरक्षण ११ नामको अभियान सञ्चालन गरिरहेको छ, जसकारण वन्यजन्तु र वन पैदावार संरक्षणमा सफलता मिलेको प्रवक्ता केसीले बताए । सेनाका अनुसार हाल देशभरि पाटेबाघको संख्या ३५५, एकसिंगे गैँडाको संख्या ७५२, हिमचितुवाको संख्या ३५६ तथा घडीयाल गोहीको संख्या ६९४ पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार यस वर्ष गैँडाको संख्या गणना हुनेछ भने आर्थिक स्रोत सुनिश्चित भएमा बाघको समेत गणना हुनेछ ।
सेनाले चोरी सिकारी नियन्त्रणका लागि संयुक्त अप्रेसन, विशेष अप्रेसन, साना समूहको अप्रेसन, गस्ती, एम्बुस, सर्च एन्ड स्विप, चेक प्वाइन्ट लिंकजस्ता कार्य गर्दै आएको छ । सेनाले रियल टाइम स्मार्ट पट्रोल, स्मार्ट आई, सिसिक्यामेरा, स्पाई क्यामेरा, ड्रोन, भेइकल ट्र्याकिङ एन्ड रिकग्नाइजिङ सिस्टममार्फत अप्रेसन सञ्चालन गर्दै आएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा खटिएको सेनाको नयाँ गोरख गणका गणपति शिवसिंह बस्न्यातका अनुसार चितवनमा मात्रै ९४ स्थानमा दैनिक गस्ती हुने गरेको छ । प्रतिदिन ५०० किलोमिटरको दूरीमा २१५ गस्ती हुने गरेको छ । ‘साधन–स्रोतको कमी छ । सबै ठाउँमा २४ सै घण्टा निगरानी गर्न सक्ने अवस्था छैन । यद्यपि, सीमित साधन–स्रोत र पूर्वाधारमा पनि सकेसम्म बढी काम गरिरहेका छौँ,’ उनले भने ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनका अध्यक्ष प्रकाश ढुंगानाले न्यून आर्थिक अवस्थाका कारण चोरी–सिकारीमा मानिसहरू संलग्न हुने गरेको भेटिएको बताए । सुरक्षाकर्मीको भौतिक अवस्था सुधार गर्न उनले माग गरे । ‘अनकन्टार ठाउँमा पोस्ट छ, इन्टरनेट र फोनको पहुँच छैन । सैनिकले निकै ठूलो जोखिम मोलेर कर्तव्य निर्वाह गरेका छन्,’ ढुंगानाले भने, ‘निकुञ्जभित्रको कोर क्षेत्रमा सुरक्षाकर्मीको कष्टकर अवस्था छ । पूर्वाधार सुधार हुनुपर्छ ।’ कतिपय चेकपोस्ट भएका ठाउँमा सैनिकहरू पालो गरेर सुत्नुपर्ने अवस्था रहेको उनले बताए । मानवीय रूपमा पनि सुरक्षाकर्मीको अवस्था सुधार गर्नुपर्ने उनको भनाइ थियो ।