
चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु र एक पुरुष घाइते भएका छन् । आइतबार बिहान शुक्लाफाँटा नगरपालिका– १२ तिल्कीकी २७ वर्षीया लालमनी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले खेतबारीमा तरभुज टिप्न जाने क्रममा चट्याङ लागेर लालमनीको घटनास्थलमै मृत्यु भएको र २९ वर्षीय श्रीमान् रतनसिंह राना घाइते भएको बताए।
‘दुवैजना श्रीमान्–श्रीमती घरबाट खेतबारीमा तरभुज टिप्न जाँदा चट्याङमा परेछन्,’ उनले भने, ‘श्रीमती त्यहीँ ढलिन्, श्रीमान् घाइते भएका छन्।’ बगरखेती गरेर घर गुजारा चलाउँदै आएका रानादाम्पतीमध्ये आमा गुमाएको र बाबु घाइते भएपछि राना परिवारमा बज्रपात मच्चिएको छ। प्रिमनसुन सुरु भएसँगै कञ्चनपुरमा बिहान वर्षातसँगै चट्याङ परेको थियो। हावाहुरी, वर्षा र आकाशमा गड्याङगुडुङ हुँदा घरभित्रै सुरक्षित बस्न स्थानीय सरकारले आग्रह गरेको छ।