१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
२o८२ बैशाख २० शनिबार ११:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुलमानका पालामा आर्जित नाफा स्वीकार तर, सवा पाँच अर्ब सञ्चित नोक्सानी रहेको दाबी

ऊर्जामन्त्री दीपक खड्काको दबाबमा विद्युत् प्राधिकरणको श्वेतपत्र जारी  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार ११:५८:oo

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणको सबलीकरणमा होइन, कुलमानलाई गलत देखाउन सक्रिय 

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको कार्यकालमा भएको नाफालाई स्वीकार गर्दै शुक्रबार श्वेतपत्र जारी गरेका छन् । 
उनले शुक्रबार जारी गरेको श्वेतपत्रमा ०८१ असारसम्म प्राधिकरण ४६ अर्ब ४८ करोड रुपैयाँले सञ्चित नाफामा भएको उल्लेख छ । यसैगरी, चालू आवको फागुन मसान्तसम्म प्राधिकरणले थप नौ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको उनले श्वेतपत्रमा उल्लेख गरेका छन् । तर, कुलमानलाई गलत देखाउनुपर्ने बाध्यताका कारण प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानी पुगेको अपत्यारिलो तथ्यांक पनि सार्वजनिक गरेका छन् ।

कुलमान पहिलोपटक भदौ ०७३ मा र दोस्रोपटक साउन ०७८ मा प्राधिकरणका कार्यकारी निर्देशक बनेका थिए । त्यसअघि असार ०७३ मा प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँले सञ्चित नोक्सानीमा थियो, जुन साउन ०६८–असार ०७३ सम्मको नोक्सानी हो । असार ०८१ सम्म आउँदा प्राधिकरणले त्यो नोक्सानी घटाएर ४६ अर्ब ४७ करोड रुपैयाँमा सञ्चित नाफा कमाएको छ, जुन हितेन्द्रले जारी गरेको श्वेतपत्रमा पनि उल्लेख छ । 

प्राधिकरणले हालसम्म ४६ अर्ब ४८ करोड सञ्चित नाफा रहेको श्वेतपत्र जारी गर्नुअघि ऊर्जामन्त्री दीपक खड्काले २२ फागुनमा संसद्को रोस्टममा उभिएर प्राधिकरणले कागजी नाफा देखाएको भन्दै कुलमानविरुद्ध अभिव्यक्ति दिएका थिए । यद्यपि, उनकै योजनामा आएको श्वेतपत्रमा कुलमानका पालामा भएको नाफालाई स्वीकार गरिएको छ । 

तर, कुलमानलाई गलत देखाउन योजनाअनुरूप आएको श्वेतपत्रमा ह्रासकट्टीको नाममा साढे पाँच अर्ब सञ्चित नोक्सानी भएको देखाइएको छ । फागुन मसान्तसम्म नाफासमेत समावेश गर्दा प्राधिकरणको सञ्चित नाफा ५५ अर्ब ९५ करोड रुपैयाँ हुन आउने देखिन्छ । त्योबराबरको नाफा कसरी पाँच अर्ब २६ करोड रुपैयाँले नोक्सानीमा आयो भनेर बलियो आधार भने देखाइएको छैन । भौतिक सम्पत्तिको निश्चित समयको अवधि हुन्छ । प्राधिकरणले आफ्नो जलविद्युत् तथा प्रसारणलाइनलगायतका परियोजनाको आयु २५ देखि ५० वर्षसम्मको भएको भन्दै वार्षिक २–४ प्रतिशतको दरमा ह्रासकट्टी गर्दै आएको थियो । नाफा घटाउने ठाउँ नपाएपछि प्राधिकरणअन्तर्गतका परियोजनाको आयु कम देखाएर एकैपटक उच्चदरमा ह्रासकट्टी गर्न खोजिएको स्रोतको भनाइ छ ।

आयकर ऐनले परियोजनालाई सुरुवाती समयमा कम कर तिराउन सुरुमै बढी ह्रासकट्टी गरेर नाफा कम देखाउने सुविधा दिएको छ । तर, प्राधिकरणले भने वास्तविक आयुकै आधारमा आफ्नो सम्पत्तिको ह्रासकट्टी गर्दै आएको थियो । अहिले हितेन्द्रले प्राधिकरणको भौतिक सम्पत्तिको आयु कम देखाएर एकैपटक उच्चदरमा ह्रासकट्टी गर्न खोजेको स्रोतको भनाइ छ । 

यद्यपि, यस्तो नोक्सानी देखाउन प्राधिकरणको पूर्ण कर लेखा परीक्षण हुनुपर्छ । प्राधिकरणको आव ०७६/७७ सम्मको पूर्ण कर लेखा परीक्षण भइसकेको छ । त्यसमा कर कार्यालयले प्राधिकरणको सञ्चित नाफा आठ अर्ब रुपैयाँ भएको भन्दै तीन अर्ब रुपैयाँ करसमेत तोकेको थियो । त्यसयताको पूर्ण कर लेखा परीक्षण हुन भने बाँकी छ । यद्यपि, प्राधिकरणले आफूले नाफा कमाएको भन्दै ११ अर्ब रुपैयाँ अग्रिम कर भने तिरिसकेको छ । आव ०७७/७८ को पूर्ण कर लेखा परीक्षण गरेर प्राधिकरणको करयोग्य नाफा–नोक्सान निर्धारण गरी कर तिर्न बाँकी छ । त्यो अवस्थामा प्राधिकरणले बढी ह्रासकट्टी गरेर सञ्चित नाफा–नोक्सान गणना गर्न सक्छ । तर, हितेन्द्रले ऊर्जामन्त्री खड्काको योजनामा लागेर पूर्ण कर परीक्षण नहुँदै धेरै ह्रासकट्टी गरेर सञ्चित नोक्सान देखाइदिएको स्रोतको भनाइ छ ।

यसैगरी, कार्यकारी निर्देशक हितेन्द्रले ०६७/६८ सम्मको सञ्चित नोक्सानीलाई पनि यसमा समावेश गर्न खोजेका छन् । त्यसवेला प्राधिकरण झन्डै २७ अर्ब रुपैयाँले सञ्चित नोक्सानीमा थियो ।