
उदयपुरको चौदण्डीगढी नगरपालिकामा अवैध रूपमा हुँदै आएको ढुंगा, गिटी र बालुवाको उत्खनन र निकासी स्थानीयको विरोधपछि तत्काललाई रोकिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार रोक लगाएको हो ।
नगरपालिकाकाले सांगे छोयलिङ कन्स्ट्रक्सन प्रालिमार्फत ठेक्का लगाएर उत्खनन गराउँदै आएको थियो । स्थानीयको विरोधपछि नगरपालिकाकाले चौदण्डीगढी वडा नम्बर २ र ४ मा रहेको स्थानीय लामा खोला र माडीबास खोलामा ठेक्का लगाई उत्खनन गरी बिक्री गरिरहेको ढुंगा, गिटी र बालुवा शुक्रबारबाट पूर्ण रूपमा रोकिएको हो । सोही क्षेत्रका स्थानीयले अवैध रूपमा सरकारी मापदण्डविपरीत उत्खनन कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा आजै तत्काल रोक्नका लागि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाएका थिए ।
नगरपालिकाले ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७८) र दोस्रो संशोधन २०७९, चुरे संरक्षण कार्यविधिलगायत विभिन्न ऐनविपरीत रहेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी लुइँटेलसहित जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्मालगायतको टोली अनुगमनमा पुगेको थियो ।
अनुगमन टोलीमार्फत स्थानीयले मागेको उत्खनन गर्ने कानुनी प्रक्रियाको डकुमेन्ट नगरपालिकाका राजस्व शाखा प्रमुख प्रकाश वनसँग मागेका थिए । वनले डकुमेन्ट देखाउन नसकेपछि सिडिओसहितको टोलीले तत्काल रोकी कानुनी प्रक्रिया अध्ययन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले नगरपालिकाको वडा नम्बर २ र ४ पर्ने खोलाबाट नम्बरी र निजी जग्गाको ग्राभेल ढुंगा बिक्री निकासीका लागि प्रारम्भिक वातावरणीय परीक्षण ०८१/८२ बमोजिम गएको वैशाख ७ गतेदेखि सांगे छोयलिङ कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएको थियो । त्यसपछि स्थानीयहरूले विरोध गर्दै आएका थिए । निजी जग्गाबाट प्रारम्भिक वातावरणीय परीक्षण गरी ठेक्का दिएको भनिए पनि कानुनी प्रक्रिया प्रस्ट खुल्ने कुनै पनि डकुमेन्ट नदेखिएकाले तत्काल रोक्नका लागि निर्देशन दिइएको जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माले जानकारी दिए ।
माडीबास र लामा खोलाबाट सांगे छोयलिङ कन्स्ट्रक्सनले ढुंगा, गिटी र बालुवा उत्खनन गरी जिल्लाबाहिर निकासी गर्दै आएको थियो । त्यसमा चौदण्डीगढी– ४ लामा खोला किनारमा रहेका सात घरपरिवारको जग्गामा उत्खनन गरिएको छ । ती सात घरको जग्गाबाट १० हजार ५५१ घनमिटर नगरपालिकाले स्वीकृत गर्ने भने पनि हाल नौ हजार १६० घनमिटर ढुंगा, गिटी र बालुवा उत्खनन स्वीकृत दिएको कागजात मात्र नगरपालिकासँग भएको राजस्व प्रमुख वनले देखाएका थिए । यता माडीबास खोलाको कार्यालयमा भएको बताएका थिए । अनुगमन टोलीसँग राजस्व शाखा प्रमुख रहेका वनले भने, ‘सबै डकुमेन्ट नगरपालिकाको कार्यालय बेलटारमा छ । यहाँ ल्याउन भुलेँछु ।’
यता त्यही लामा खोलाको निजी जग्गा भनिएका स्थानीयहरूको उपस्थिति थिएनन् । उक्त उत्खननको विरोध गर्दै संघर्ष समिति बनाएर ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका पुष्पराज सुवेदीले उत्खनन कार्य नै अवैधानिक भएकाले विरोध गर्नुपरेको बताए । उनले भने, ‘जथाभावी खनिएको छ । नम्बरी भए पनि प्रस्ट छैन । वन, खोला क्षेत्रमा खनिएको छ । खेतमा आउने कुलो हराएको छ । त्यही भएकाले विरोध गरेका हौँ । अब अनुगमन टोलीले एउटा निष्कर्ष दिन्छ भन्ने लागेको छ ।’ चौदण्डी नगरपालिकाका मेयर कालुमान लामाले भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।