
अस्ट्रेलियाको सातवटा सहरमा भव्य प्रस्तुतिलगत्तै उपत्यकाको गोकर्णेश्वरमा हालै लोकरक प्रस्तुत गरेको नेपथ्यले अब अमेरिकाका सातवटा सहरमा कन्सर्ट गर्ने भएको छ। संगीतमा रमाउने संसारभरिका स्राेता–दर्शकहरूलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्ड आगामी महिना अमेरिकाको शृंखलाबद्ध सांगीतिक यात्रामा निस्कँदै छ ।
अमेरिकामा नेपथ्यले यो सातौँपटक आफूलाई उभ्याउन लागेको हो । गत वर्ष पनि ब्यान्डले डेढ महिना लगाएर उक्त मुलुकको पूर्वीदेखि पश्चिमी किनारासम्मका सातवटा सहरमा शृंखलाबद्ध सफल प्रस्तुति दिएको थियो । यसपटक सात नयाँ सहरमा नेपथ्य प्रस्तुत हुँदै छ ।
तालिकाअनुसार ब्यान्डले आगामी मे १७ तारिख टेक्सास राज्यको राजधानी अस्टिनमा आफूलाई उभ्याउनेछ । उक्त सहरस्थित ‘इमोज् अस्टिन’ हलमा शृंखलाबद्ध यात्राकै पहिलो प्रस्तुति हुनेछ । टेक्सासमा सदैव उल्लेख्य दर्शक उपस्थिति पाउँदै आएको नेपथ्यले गत वर्ष यसै राज्यको डालास सहरमा आफूलाई उभ्याएको थियो ।
त्यसपछिको दोस्रो प्रस्तुतिका लागि ब्यान्ड दक्षिणवर्ती राज्य टेक्सासबाट एकैपटक क्यानडासँग सिमाना जोडिएको उत्तरी किनारा वासिङ्टन राज्य पुग्नेछ । उक्त राज्यको सियाटल सहरमा मे २३ तारिखका दिन नेपथ्य प्रस्तुत हुनेछ । त्यहाँको ‘मुर थिएटर’मा बेलुकी ठीक सात बजे हलका ढोकाहरू खुला गरिने तालिका तय छ । विशाल तालहरू अनि हिउँले ढाकिएका पर्वतहरू देखिने सियाटल अमेरिकाकै सुन्दरतम सहरमध्येमा पर्छ ।
तेस्रो प्रस्तुतिका निम्ति भने ब्यान्ड फेरि थोरै तल ओर्लिएर क्यालिफोर्निया राज्यको सर्वाधिक जनसंख्या ओगटेको सहर लसएन्जलस पुग्नेछ । सिनेमा निर्माणका लागि विश्वमै अग्रणी मानिने हलिउड अटाएको यो सहरमा मे २६ तारिखका दिन यहाँस्थित ‘हाउस अफ ब्लुज’मा ब्यान्डले लोकरक गीत सुनाउनेछ ।त्यसपछि ब्यान्ड पेन्सिलभेनिया राज्यतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित पिट्सबर्ग सहरलाई यसपटक नेपथ्यले चयन गरेको छ । गत वर्ष ब्यान्डले यसै राज्यको ह्यारिसबर्गमा आफूलाई उभ्याएको थियो । मे ३१ तारिखका दिन पिट्सबर्गस्थित ‘रक्सिन थिएटर’मा ब्यान्ड प्रस्तुत हुनेछ ।
त्यसपछि भने ब्यान्ड पाँचौँ प्रस्तुतिका लागि फेरि उत्तरतर्फ उक्लेर सिकागो सहर पुग्नेछ । त्यहाँस्थित ‘दी भिक थिएटर’मा जुन ७ तारिखका दिन नेपथ्य कन्सर्ट तोकिएको छ । अमेरिकाकै तेस्रो ठुलो जनसंख्या समेटेको यो सहर ‘सिकागो सिम्फोनी अर्केस्ट्रा’जस्ता संस्थाहरूको उपस्थितिबिच कला र संस्कृतिका लागि पनि उत्तिकै प्रसिद्ध छ । सिकागोमा नेपथ्यका गीतहरू सुनाएपछि ब्यान्ड म्यासाचुसेट्स राज्यको राजधानी बोस्टन सहरतर्फ लाग्नेछ । सन् १६३५ मा अमेरिकाकै पहिलो स्कुल ‘बोस्टन ल्याटिन स्कुल’ स्थापनाको श्रेय पाएको यो सहर यतिवेला उच्च शिक्षाका लागि विश्वकै केन्द्र मानिन्छ । हार्वर्ड र एमआइटीजस्ता विश्वकै अग्रणी शिक्षालयहरू यसै सहरका देन हुन् । यस सहरको ‘रोयल बोस्टन’ हलमा नेपथ्य जुन ११ तारिखका दिन प्रस्तुत हुनेछ ।
यसरी अमेरिकाका फरक–फरक भेगका बेग्लाबेग्लै विशेषता बोकेको सहरमा उपस्थित भइसकेपछि अन्तिममा नेपथ्य नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ । नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको यो सहरमा बर्सेनि ‘नर्थ क्यारोलाइना फोक फेस्टिभल’ पनि आयोजना हुँदै आएको छ । यहाँको ‘पिडमोन्ट हल’मा जुन १४ तारिखको साँझ ब्यान्डले यो वर्षको शृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति दिनेछ ।
नेपथ्यले सन् २००४ मा एरिजोना राज्यको फिनिक्स र राजधानी वासिङ्टन डिसीमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो। त्यसपछिका वर्षहरूमा ब्यान्डले न्युयोर्क, सानफ्रान्सिस्को, लसएन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ । यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ले संयुक्त रूपमा सम्हाल्ने भएको छ । नेपथ्यसँगै ब्यान्डको व्यवस्थापन र प्राविधिक टोली पनि अमेरिका प्रस्थान गर्दै छ । मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।
अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।