१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५९:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : एउटा रोटी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५९:oo

एकै गाउँका तीन मित्र सिद्ध गुरुबाट दीक्षत भएर गाउँ फर्किंदै थिए । गुरुले उनीहरूलाई आध्यात्मिक ज्ञानका साथमा व्यावहारिक ज्ञान पनि दिएका थिए । लामो यात्रासँगै अब उनीहरूलाई विश्राम गरेर मात्र अघि बढ्नुपर्छ भन्ने अनुभव भयो । उनीहरू एक स्थानमा रोकिए र खानका लागि झोला खोले । झोलामा एउटा मात्र रोटी बचेको थियो । एउटा रोटी तीनजनालाई बाँड्दा कसैको पनि भोक नमेटिने हुनाले त्यसलाई तीनमध्ये एकले मात्र खानु उपयुक्त हुने सल्लाह तीन मित्रबिच भयो । 

सल्लाह त भयो तर रोटी कसले खाने ? यसमा भने धर्मसंकट उत्पन्न भयो । तीनैजनाले आध्यात्मिक ज्ञान प्राप्त गरेको हुनाले त्यसको निर्णय भगवान्माथि छाडिदिने सहमति भयो । भगवान्ले कुनै न कुनै इसारा पक्का गर्ने र त्यसैअनुसार कुनै एकले रोटी खाने सहमति उनीहरूबिच भयो । सहमतिपछि उनीहरू सुते । थाकेको हुनाले सबै एकैछिनमा भुसुक्क निदाए । 

दोस्रो दिन तीनै मित्र उठिसकेपछि पहिलो मित्रले भने– राति मेरो सपनामा एक देवदूत आए । उनले मलाई पूरै स्वर्गको भ्रमण गराइसकेपछि प्रसादस्वरूप एउटा रोटी खान दिए । पहिलो मित्रको भनाइ राम्ररी पूरा नहुँदै दोस्रो मित्रले भने– आहा ! कति अनौठो कुरा । मैले पनि ठिक त्यस्तै सपना देखेको थिएँ । अन्त्यमा एक महात्माले भने– बाबु तिमीले जीवनभर अरूको भलाइको काम गरेका छौ । त्यसैले, यो रोटीमा तिम्रै हक छ । 

तेस्रो मित्र चुपचाप दुवैका कुरा सुनिरहेका थिए । तिमीले चाहिँ कस्तो सपना देख्यौ ? पहिलो मित्रले प्रश्न गरे । उनले भने– मैले कुनै सपना र महात्मा केही देखिनँ । तर, राति निद्राबाट बिउँझिएको वेला मैले रोटी खाइदिएँ । 

दुवै मित्रले रिसले आगो हुँदै प्रश्न गरे– यस्तो गर्दा तिमीलाई लाज लागेन ? हामीलाई किन बताएनौ यसबारे ? तेस्रो मित्रले भने– कसरी बताउनु ? तिमीहरू दुवै आआफ्नो सपनामा त्यति टाढा जो पुगेका थियौ । अनि, गुरुले हामीलाई व्यावहारिक बन्नू भन्ने शिक्षा पनि त दिनुभएको थियो । यहाँ बसेर सपना देखेर भोकभोकै मर्नुभन्दा त रोटी खानु नै व्यावहारिक बन्नु होइन र ?