१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:४१:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

कवि गोपाल पराजुलीलाई ५० हजार रुपैयाँसहितको काव्य पुरस्कार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

कवि गोपाल पराजुलीले कविडाँडा सुवर्ण (तुलसी काव्य पुरस्कार) २०८१ प्राप्त गरेका छन् । ५० हजार १६० रुपैयाँ नगद राशि रहेको उक्त पुरस्कार शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि पराजुलीलाई प्रदान गरियो । कविडाँडा साहित्य समाजले प्रदान गर्ने सो पुरस्कार हाल अमेरिका बस्ने गीतकार सरला श्रेष्ठले आफ्ना मातापिता तुलसीदेवी र सुवर्णजंग श्रेष्ठको नाममा स्थापना गरेकी हुन् ।कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्री, प्रमुख अतिथि चरित्र अभिनेता मदनकृष्ण श्रेष्ठ र पुरस्कार दाता श्रेष्ठ परिवारले स्रष्टा पराजुलीलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् ।

सम्मानित स्रष्टाबारे बोल्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक महेश पौड्यालले भने– पाश्चात्य जगतले पहिले ईश्वरको र पछि लेखकको मृत्युको तर्क गरेर निस्सारताको वकालत गरिरहेका वेला कवि पराजुलीले अर्को ईश्वरको घोषणा लेखर आस्था र आशावादिताको शाश्वत प्रवाहको रक्षा गरेका थिए । त्यसै गरी सोभियत संघ र अमेरिकाबिचको शीतयुद्ध सकिएसँगै इतिहासको अवसान भयो भन्ने पश्चिमा विद्वानहरूलाई पूर्वको महत्ता र ऐतिहासिक वैशिष्ट्य बुझाउन अर्को विश्वको प्रस्ताव लेखेका हुन् । यस्ता सचेत, निर्भीक र प्रयोगधर्मी कवि पराजुली यो पुरस्कारका लागि योग्य भएको उनको टिप्पणी थियो । पराजुलीले २०६० सालमा प्रकाशित ‘नयाँ ईश्वरको घोषणा’ कवितासंग्रहका लागि मदन पुरस्कार प्राप्त गरेका थिए ।

२०७७ सालबाट दिन लागिएको यो पुरस्कार पहिलोपटक कवि श्रवण मुकारुङलाई दिइएको थियो भने त्यसपछि तीर्थ श्रेष्ठ, मनु मन्जिल र सरुभक्तले प्राप्त गरिसकेका छन् । सोही कार्यक्रममा लेखक एलबी क्षेत्रीको सातौँ पुस्तक ‘अमेरिकामा ४३ दिन’ संस्मरणसंग्रह पनि विमोचन गरिएको छ । कलाकार मदनकृष्ण श्रेष्ठले पुस्तक विमोचन गरेका हुन् । सन् २०१६ मा पारिवारिक अमेरिका भ्रमणका अनुभव र अनुभूतिलाई पुस्तकमा समेटेको लेखक एलबी क्षेत्रीले बताए । पेज टर्नर प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ४५० छ ।

त्यसैगरी कार्यक्रममा सरला श्रेष्ठका पाँचवटा गीतहरूको एल्बम ‘हरपल तिमीलाई’ पनि लोकार्पण गरिएको छ । उक्त एल्बममा हरपल सम्झनामा आइरहन्छौ तिमी, दुखेँ धेरै अब दुख्न पुग्यो, किन भएछ भेट हाम्रो जिन्दगीको त्यस प्रहरमा, दिल त दामी हजुरको र म हारेको छैन यो जिन्दगीमा गरी पाँचवटा गीतहरू छन् । यी गीतमा राजनराज सिवाकोटी, लक्ष्मण पोखरेल र नरेन्द्र प्यासीले संगीत दिएका छन् भने मदनकृष्ण श्रेष्ठ, एलिना चौहान, शिवराज विश्वकर्मा, बबिना भट्टराई र करण परियारको आवाज रहेको छ । गीत लोकार्पण कार्यक्रममा मदनकृष्ण श्रेष्ठले मन्तव्यसहित सरलाका गीतहरू सुनाएका थिए ।

कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा र साहित्यिक पत्रकार विमल भौकाजीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई कविडाँडा साहित्य समाजका सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।