१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
शम्भुजित बास्कोटा
Invalid date format १२:१३:oo
Read Time : > 6 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सर्जकलाई डर लाग्छ !

Read Time : > 6 मिनेट
शम्भुजित बास्कोटा
नयाँ पत्रिका
Invalid date format १२:१३:oo
  • हिजो चुनौती थियो । अहिले संगीत सिर्जना गर्न सजिलो छ । मेरा पुराना गीतहरू नयाँ फ्लेबरमा बनाउँछु भनेर सोच्यो, पहिले नै अर्कैले बनाइसकेको हुन्छ । अचेल बजारमा म आफैँ सेकेन्ड हुन्छु भन्ने डर लाग्छ ।

रेडियो नेपालले दिएको त्यो २० रुपैयाँ 
मैले २०२८ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेको हुँ । त्यसवेला गीत रेकर्ड गर्न अनिवार्य रूपमा स्वर परीक्षा पास गर्नैपर्थ्यो । तर, गीत रेकर्ड गर्न पनि रेडियो नेपालको स्टुडियोमा समय पाउन सहज थिएन । मैले एउटा गीत सिर्जना गरेको थिएँ, तर रेकर्ड हुन बाँकी थियो । रेडियो नेपालमा ६–६ महिनामा मात्रै ‘डेट’ पाइन्थ्यो । ‘भ्वाइस टेस्ट’ पास गरेका गायक–गायिका पनि कुन संगीतकारसँग गीत लिने होला भन्ने चिन्तामा हुन्थे । रेडियो नेपालमा ‘डेट’ पाउन संगीत चल्नैपर्थ्योँ । 

गायक विके राना स्वर परीक्षा पास गरेर बसेका रहेछन् । त्यसवेला उनी गायकको रूपमा परिचित थिएनन् । उनीसँग मेरो भेट भयो । उनले एउटा गीत गुनगुनाए, मलाई आवाज मिठो लाग्यो । रेडियो नेपालमा गीत गाउन उनले ‘डेट’ पाएका रहेछन् । मैले पनि उनैलाई गीत गाउन लगाउने निधो गरेँ । गीतको बोल थियो, ‘बोलौँ भने उनी त बोल्दिनन्, नबोलाउन म माया पाउँदिन...।’ यो गीत रेडियो नेपालमा बज्न थाल्यो । गीतलाई श्रोताहरूले अत्यधिक रुचाए । त्यसपछि रेडियो नेपालमा फर्माइस आउन थाल्यो । गीत सुनेपछि रेडियो नेपालका अग्रज गायक तथा संगीतकारले मेरो तारिफ गरेका थिए । यो गीतले विके रानालाई निकै परिचित बनायो । मलाई पनि गीत–संगीतमा लाग्न थप ऊर्जा मिल्यो । 

बिस्तारै–बिस्तारै गीत–संगीतका साथीभाइसँग मेरो भेटघाट बाक्लिन थाल्यो । म गीत लेख्थेँ, गाउँथेँ र संगीत पनि आफैँ सिर्जना गर्थेँ । त्यसवेला गाउने ठाउँ रेडियो नेपाल मात्रै थियो । तर, गीत गाउन निकै कठिन हुन्थ्यो । ०३०/३१ तिरको कुरा हो । ‘कुन सहरमा छौ मायालु...’ र ‘यो कान्छी छोडेर जान्छे ...’ गरेर मसँग दुइटा गीत थिए । यसमा मेरो आफ्नै शब्द, संगीत र स्वर छ । ‘यो कान्छी छाडेर जान्छे’ निकै चल्यो । यो गीत गाउँदा २० रुपैयाँ पारिश्रमिक पाएको थिएँ । त्यसवेला २० रुपैयाँ हाम्रा लागि ठुलो पैसा थियो । रेडियो नेपालले गीत तयार भएपछि गायक, संगीतकार र रचनाकारलाई २०–२० रुपैयाँ दिन्थ्यो । 

गीत चलेपछि रेडियो नेपालमा मेराविरुद्ध चलखेल भयो 
२०३३ तिरको कुरा हो । आधुनिक संगीत गरिरहेको थिएँ । ‘तिम्रो त्यो हँसिलो मुहारले...’ गीत तयार गरेको थिएँ । तर, कसलाई गाउन लगाउने भन्नेमा सोचमग्न थिएँ । चलेका गायकलाई गाउन लगाउने आँट थिएन । एकदिन राष्ट्रिय नाचघरमा दीपक खरेलसँग भेट भयो । उहाँले एउटा गीत गाइसक्नुभएको थियो । उहाँको आवाज मलाई मन परेको थियोे । दुवैबिच सहकार्य गर्ने सल्लाह भयो । रेकर्ड भएको केही दिनमै गीत रेडियोमा बज्न थाल्यो । रेडियो नेपालमा गीतको अत्यधिक फर्माइस आउन थाल्यो । गीतको धेरै फर्माइस आउन थालेपछि रेडियो नेपालमा मविरुद्ध धेरै चलखेल भयो । मेरो आगमन धेरैलाई मन परेको थिएन । सयौँपटक गीतको कार्टिस मेटिए पनि मेरो गीत चल्यो । 

त्यसलगत्तै ‘पूर्णिमाको रात पनि कुन पापीले...’ भन्ने रेकर्ड गराएँ । यो गीत पनि निकै लोकप्रिय भयो । त्यसपछि ‘बादल बनाइदियौ...’ आयो । यो गीतले अर्काे तहल्का पिट्यो । ‘तिम्रो हर प्रश्नको जवाफ...’ आयो । यो गीत पनि निकै चल्यो । त्यसपछि ‘प्रतीक्षा गर मेरी मायालु ....’ गीत अत्यधिक रुचाइयो । त्यसपछि रेडियो नेपालको चलखेलले पनि मलाई रोक्न सकेन । 

मेरो एकपछि अर्काे गीत हिट हुन थाल्यो । मेरो संगीतमा दीपक खरेलले गाएका धेरै गीत हिट भए । गायक प्रकाश श्रेष्ठले गाएका गीत पनि हिट भए । त्यसवेला प्रकाश श्रेष्ठ वीरगन्ज बस्नुहुन्थ्यो । उहाँलाई बोलाएर गीत रेकर्ड गरिन्थ्यो । मैले उहाँलाई रेडियो नेपालभित्र गीत गाउन लगाएँ । ‘छेकेर छेकिँदैन हिमालका टाकुरा...’ उहाँले गाएको पहिलो गीत नै हिट भयो । त्यसपछि ‘भ्वाइस टेस्ट’ पास गरेर बसेका गायक–गायिक मसँग गीत माग्न आउन थाल्नुभयो ।

‘तिम्रो त्यो हँसिलो मुहारले... ’ ले मलाई आधुनिक गीत–संगीतमा प्रवेश गरायो । त्यसपछि म आधुनिक गीतमै रम्न थालेँ । संगीतमा मेरो नशा बस्यो । गायक अनुप जलौटाले गाएको गीत ‘जिन्दगी खोलाजस्तै बगिरहेछ...’ भनेजस्तै मेरो सांगीतिक जिन्दगी पनि बगिरहेछ । त्यसवेला मलाई आधुनिक गीत–संगीतमा प्रवेश गर्न सजिलो थिएन । अम्बर गुरुङ, गोपाल योञ्जन, नातिकाजीजस्ता प्रभावशाली गायक–संगीतकार हुनुहुन्थ्यो । त्यो भिडमा मलाई निकै चुनौती थियो । तर, कहिल्यै थाकिनँ । 

मेरो गीतमा गाउँबस्तीका भावना हुन्थे 
०४० को दशकतिर आइपुग्दा नेपालमा चलचित्र बन्ने क्रमले तीव्रता पायो । त्यसपछि मैले सिनेमामा संगीत दिन थालेँ । ०४६ पछि सिनेमा क्षेत्र खुला भयो । धेरै सिनेमा बने । ०४२/४३ मा ‘माया’ सिनेमामा संगीत गरेको थिएँ । लोकशैलीका गीत सिनेमामा समावेश गर्न थालेँ । 

त्यसवेला लोकदोहोरी गीत पनि खासै बज्दैनथे । मैले ‘कसम’ चलचित्रमा ‘वनमा फुल्यो फूल...’ गीतमा संगीत भरेँ । निकै हिट भयो । वनमा फुल्यो फूलपछि ‘बाँझो खेतमा...’ गीत बनाएँ । यो गीत पनि निकै हिट भयो । त्यसपछि लोकदोहोरी गीतहरू सिनेमामा राख्न थालियो ।

मेरो गीत–संगीतमा आममान्छेका कथा हुन्थ्यो । श्रोता–दर्शकले मेरै भावना हो कि भन्ने महसुस गर्न थाले । नाच्न र गाउन बनाइदिएको हो कि भन्ने सबैको धारणा थियो । हरेक समुदायको भाका, शब्द, स्थानीय संस्कृतिलाई गीतमा राख्न थालेँ । जनजातिको भाषाको शब्द पनि गीतमा प्रयोग गर्थेँ । हरेक समुदायलाई सत्कार गरेर सिर्जना गर्थेँ । मेरो गीतमा सबै चिज मिसिन्थ्यो । गाउँबस्तीका भाका आउँथे । म सिर्जनाअघि अध्ययन गर्थेँ । कुनै ठाउँको संगीत सिर्जना गर्दा त्यहाँको शैली बुझ्थेँ । भाषा र शैली बुझेर मात्रै गीत बनाउँथेँ । मैले हिमालका गीत पनि बनाएको छु । 

अनि बन्यो नेपालमा पहिलोपटक म्युजिक भिडियो 
०४२/४३ को कुरा हो । त्यसवेला भर्खरभर्खर नेपाल टेलिभिजन स्थापना भएको थियो । त्यसवेला रेडियो नेपालमा मिठा गीत बज्थे । तर, भिडियोमा हेर्न पाइँदैनथ्यो । मैले गीतको अडियोसँग मिलाएर फूल र हिमालका तस्बिर राखेर टेलिजिनमा प्रसारण गर्थेँ । यसरी पनि गीत बजाउन मिल्ने रहेछ भन्ने लाग्यो । त्यसरी बनाएको गीत सबैले मन पराउन थाले । गीतलाई दृश्यमा पनि ल्याउनुपर्छ भन्ने लाग्यो । त्यसअघि नेपालमा कुनै पनि गीतको म्युजिक भिडियो बनेको थिएन । मेरो संगीत, विजय उदयका शब्द र भुवन केसीको स्वरमा गीत तयार भयो । गीत बोल ‘मायालु तिमी टाढा हुनाले...’ थियो, जसको भिडियोमा भुवन केसीले अभिनय गरे । 

म नेपाल टेलिभिजनमा ‘संगीत संगम’ नामक कार्यक्रम सञ्चालन गर्थेँ । संगीत क्षेत्रमा आबद्ध व्यक्तित्वका रेकर्डिङ स्टुडियोमा लिप्सिङ गराएर भिडियो बनाउँथेँ । यही क्रममा टेलिभिजनमा भिडियो बनाउने सोच बनाएँ । हामीसँग टेलिभिजनको ‘थ्री ट्युब’ क्यामेरा थियो । तीन–चार घण्टामा छायांकन सकियो । गीत टेलिभिजनमा प्रसारण भयो । नेपालमा म्युजिक भिडियोको सुरुवात यसले नै गरेको थियो ।

टेलिभिजनले निश्चित बजेट छुट्याएको हुन्थ्यो । त्यही बजेटमा म्युजिक भिडियो बनाउनुपर्थ्यो । म्युजिक भिडियोका लागि धेरै लगानी हुँदैनथ्यो । तर, त्यसवेला मैले दिनमा दुई–तीनवटा म्युजिक भिडियो बनाएको थिएँ । त्यसपछि टेलिभिजनमा म्युजिक भिडियो प्रसारण हुन थाल्यो । मैले ‘कान्छीलाई घुमाउने काठमाडौं सहर...’ गीतको भिडियो पनि निर्देशन गरेँ । यो गीत पनि निकै रुचाइयो ।

त्यसवेला संगीतको माया र सम्मान हुन्थ्यो 
मैले अग्रजहरूसँग पनि संगीत सहकार्य गर्ने अवसर पाएँ । भक्तराज आचार्य दाइ र म समकालीन हौँ । उहाँले मैलेभन्दा पछि गाउनुभयो । उहाँले मेरो एउटा गीत सुक्मित गुरुङसँग गाउनुभएको छ । दोस्रो पुस्ताका नारायण गोपाल, फत्तेमान, प्रेमध्वज प्रधान, योगेश वैद्य, तारादेवी, रेशम ताम्राकार, प्रकाश श्रेष्ठ, दीपक खरेल, मदनकृष्ण श्रेष्ठ, उमेश पाण्डेलगायतले मेरो संगीतमा गीत गाउनुभएको छ । तेस्रो पुस्ताका राजेशपायल राई, रामकृष्ण ढकाल, यम बराल, आनन्द कार्की, देविका बन्दना, लोचन भट्टराई, सपना श्री, तारा थापा, मञ्जु थापा, नवीन के भट्टराईलगायतले मेरो गीत गएका छन् । सत्य–स्वरूप, मिलन नेवार हुँदै नयाँ पुस्ताका रचना रिमाल, निशान भट्टराई, अस्मिता अधिकारीसम्मले मेरो संगीतमा गाएका छन् । किरण खरेल, यादव खरेल, विश्वम्भर प्याकुरेल, निर शाह, दिनेश अधिकारी, कृष्णहरि बराल, राजेन्द्र रिमाललगायत धेरैको गीतमा संगीत गरेको छु । 

मेरो जीवनमा संगीतमा सयथरी स्वर बनेर माला बनेको छ । अग्रजदेखि नयाँ पुस्ताका गायक/गायिकाको मेरो संगीतमा माला भरिएको छ । हिजो अग्रजसँगको सहकार्य बेग्लै हुन्थ्यो । त्यसवेला आफ्नो कामको मूल्यांकन गरिन्थ्यो । काम गरेपछि एकै ठाउँमा बसेर सल्लाह गरिन्थ्यो । गीतमाथि छलफल गरिन्थ्यो । गीत रेकर्डपछि छलफल गथ्र्याैँ । भेटेर गरेको सल्लाह बेग्लै हुन्थ्यो । त्यो वेलाको सहकार्य आत्मीयतामा हुन्थ्यो । अग्रज र नयाँबिच संस्कार हुन्थ्यो । संगीतको आदर सत्कार हुन्थ्यो । संगीतको माया र सम्मान हुन्थ्यो । कसैको गीत हिट हुँदा शुभकाना र बधाई दिने चलन हुन्थ्यो । गीतको वर्णन गरिन्थ्यो । एक–अर्कालाई गीत गाएर सुनाइन्थ्यो । गीत जनतालाई मन पर्छ–पर्दैन भन्नेबारे छलफल हुन्थ्यो । त्यसवेला साँँच्चै संगीतका लागि खुला वातावरण थियो । 

अहिले त गीत ‘हिट’ भयो, ‘भाइरल’ भयो भन्ने मात्रै हुन्छ 
अहिलेका गायक–गायिकालाई धेरै सजिलो भएको छ । हिजो अहिलेजस्तो भाइरल हुनु थिएन कसैलाई । युट्युबबाट आफूलाई भयंकर ठान्ने समय थिएन । ‘भ्वाइस’ नभए पनि डिजिटल ‘भ्वाइस’ बनाएर, ट्युनरमा राखेर गीत बन्दैनथे । शुद्ध गीत बन्थ्यो । गीतको कम्पोजिसन, शब्द, गायनको राम्रो मिश्रण हुन्थ्यो । एरेन्ज रेडियो नेपालभित्रै हुन्थ्यो । किबोर्डमा कुनै प्रोग्रामिङ गरेर गरिँदैनथ्यो । लाइभ बजाइन्थ्यो । त्यसरी सिर्जना गरेको गीतलाई आममान्छेहरूले मन पराइदिनुहुन्थ्यो । अहिले त गीत ‘हिट’ भयो, ‘भाइरल’ भयो भन्ने मात्रै हुन्छ ।

माया र प्रशंसाको नशाले संगीतमै जीवन अर्पण 
सफलता र जनताको माया गज्जबको चिज हुँदो रहेछ । माया र प्रशंसाभन्दा ठुलो नशा कुनै नहुँदो रहेछ । त्यो नशाले एक–दुईवटा गीत गर्छु । सौख पूरा गर्छु भनेर गीत गाएको थिएँ । तर, गीत–संगीतबाट भाग्न सकिनँ । मलाई संगीतले शम्भुजित बनायो । मैले आफ्नो मौलिकता कहिल्यै छोडिनँ । मैले प्रतिस्पर्धा गर्ने समय नै पाइनँ । श्रोताले मलाई त्यो मौका दिएनन् । हिजो मलाई चुनौती थियो । अहिले त्यस्तो अवस्था छैन । संगीत सिर्जना गर्न सजिलो छ । मेरा पुराना गीतहरू नयाँ फ्लेबरमा बनाउँछु भनेर सोच्यो, पहिले नै अर्कैले बनाइसकेको हुन्छ । अचेल बजारमा म आफैँ सेकेन्ड हुन्छु भन्ने डर लाग्छ । त्यतिवेलाको अग्र्यानिक, मौलिकता र वातावरणीय सुन्दरता बेग्लै थियो । अहिलेको विकासको बेग्लै रमाइलो छ । त्यो वेला रेडियो नेपाल पुग्नुपर्थ्यो । मन परेको गीत सुन्न फर्माइस नै गर्नुपर्थ्यो  । क्यासेट खोज्नुपर्ने समय थियो । अहिले क्यासेट बनाएर श्रोता–दर्शककहाँ पुर्‍याउने भन्ने चिन्ता हट्यो । न गीत सुन्न क्यासेट किन्नुपर्छ, न त कसैको फर्माइस नै कुर्नुपर्छ । 

अहिलेको पुस्ताले ‘युज एन्ड थ्रो’ खालको सिर्जना नगरोस्
अहिलेको पुस्ताले संयमता अपनाउनुपर्छ । नयाँ पुस्ताले धुन बजाउँदा नेपाली लागोस् वा मेरो आफ्नो होस् । संसारको कुनै कपिराइटमा गए पनि मेरो लागोस् भन्ने खालको सिर्जना गर्नुपर्‍यो । अलि–अलि छिमेकतिरको बास्ना आइहाल्छ । खाना पकाउँदा पनि एउटै हुँदैन । पूर्वका भाका पश्चिमतिर पुगेको हुन्छ । त्योचाहिँ नेपालीको हो । हामी कला–संस्कृतिमा धनी छौँ । विभिन्न भाषा–संस्कृति छ । जनजातिको आफ्नै भाषा–संस्कृति छ । मौलिकता छ । तर, अहिलेको पुस्ताले युज एन्ड थ्रो खालको काम नगरौँ भन्छु । दीर्घकालीन सोचेर संगीत सिर्जना गरौँ । 

हिजो गीत रेकर्ड गर्ने एकस्टिक प्रविधि बेग्लै किसिमले डिजाइन भएको थियो । बाजाको प्राकृतिक र आवाजको प्राकृतिक स्वरूपलाई लिएर रेकर्ड हुन्थ्यो । त्यसको बेग्लै किसिमको मज्जा थियो । म बम्बईमा एकस्टिकमै गीत रेकर्ड गर्थेँ । केहीको मात्रै डिजिटलाइज भयो । हिजो त्यसरी गीत बन्थे । हिजो उपकरण थियो, त्यो उपकरण प्राकृतिक थियो । तर, आजको उपकरण अप्राकृतिक बनेको छ । आजको संगीत आप्राकृतिक बढी देखिन्छ । एआईलाई कसरी प्राकृतिक भन्न मिल्छ ? आज गीत–संगीत डिजिटालाइज भइसक्यो । कतिपयको आवाजलाई ट्युनरले ठिक पार्छ । बाजालाई पनि सुर दिन्छ । अहिले मान्छेको सिर्जनालाई थोरै भए पनि अप्राकृतिक बनाइदिएको छ । जसले गर्दा कलात्मक पक्ष कमजोर बन्न पुगेको छ ।

नयाँ पुस्ताले गीत–संगीत पढ्न थालेका छन् । संगीतलाई गम्भीर रूपमा लिन थालेका छन् । तर, तुरुन्तै भाइरल पनि हुनुपरेको छ । तुरुन्तै गीत गाउनुपरेको छ, तुरुन्तै चर्चित हुनुपरेको छ । अहिले समय नै भाइरलको आयो । अहिले गीत–संगीत इजी एक्जिट भएको छ । गीतकार, गायक, गायिकालाई प्रविधिले सजिलो बनाइदिएको छ । भारतमा अग्रज गायक–गायिकाले गीत गाइरहँदा पनि डिजिटल आइसकेको थियो । भारतमा आशा भोसले, लता मंगेसकरले डिजिटल आइसकेपछि पनि गीत गाउनुभयो । हामीले अहिलेको प्रविधिलाई मान्नुपर्छ । तर, प्रविधिलाई प्रयोग गर्न जान्नुपर्छ । वैज्ञानिकहरूले अध्ययन अनुसन्धान गरेर चन्द्रमा मान्छे पठाउँछन् । उनीहरूले कति मिहिनेत गर्नुपर्छ होला ? संगीतका साधकले पनि उत्तिकै मिहिनेत गर्नुपर्छ । 

(पवन बराइलीसँगको कुराकानीमा आधारित)