१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025
२o८२ बैशाख १२ शुक्रबार २१:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सर्वाेच्चको आदेशपछि रिहा भए अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार २१:३६:oo

अमेरिकाबाट फर्काइएका चार भुटानी शरणार्थीलाई अध्यागमन कार्यालयले रिहा गरेको छ । सर्वाेच्च अदालतको आदेशपछि उनीहरूलाई थुनामुक्त गरी शरणार्थी शिविरमा पठाएको छ ।  

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले बिहीबार उनीहरूलाई थुनामुक्त गरी ६० दिनभित्र अनुसन्धान प्रक्रिया सक्न पनि भनेको थियो । जसअनुसार आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङलाई शरणार्थी शिविरमा पठाइएको अध्यागमन कार्यालय, काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए । मानव अधिकारवादीलगायतको रोहवरमा उनीहरूलाई रिहा गरिएको हो । 

अशोक गुरुङले दायर गरेको रिटमा सर्वाेच्चले उनीहरूलाई शिविरमा राख्न भनेको थियो । उनीहरूलाई हाजिर जमानीमा छाडिए पनि अनुसन्धान जारी रहने अध्यागमन प्रमुख भट्टराईले बताए । 

सर्वाेच्चको आदेशमा भनिएको छ, ‘प्रस्तुत आदेश प्राप्त भएकाे मितिले २४ घण्टाभित्र अध्यागमन नियमावली, २०५१ को नियम ४४(१)को प्रयोजनका लागि निवेदकहरू संयुक्त राज्य अमेरिका जानुअगाडिको झापा जिल्ला बेलडाँगी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानलाई स्थानहद तोकी निवेदकहरूलाई हाल राखेको इलाका प्रहरी कार्यालय, काँकडभिट्टाबाट स्थानहद तोकिएको उपयुक्त स्थानमा स्थानान्तरण गरी निवेदकहरूका सम्बन्धमा जे–जे बुझ्नुपर्ने बुझी प्रचलित कानुनबमोजिमको अनुसन्धान कार्य आगामी ६० दिनभित्र सम्पन्न गर्नू,गराउनू ।’ 

रिटमा गृह मन्त्रालय, अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय बिर्तामोड, इलाका प्रहरी कार्यालय मेचीनगरलगायतलाई विपक्षी बनाइएको थियो ।  

अमेरिकाबाट निष्कासनमा परेका उनीहरू नेपाल आएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ । उनीहरूलाई कहाँ निष्कासन गर्ने भन्नेमा अध्यागमन अधिकारी पनि अन्योलमा छन् ।