१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025
२o८२ बैशाख १२ शुक्रबार २१:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार २१:४६:oo

हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाका दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् ।

गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुने गरी प्रत्येक वर्षमा सडक निर्माणलाई निरन्तरता दिँदै आएपछि यति वेला दुर्गम गाउँबस्ती पछिल्लो समय सडक सञ्जालमा जोडिँदै गएका हुन् ।

यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज भएको अदानचुली गाउँपालिका– ५ का स्थानीय दीपबहादुर शाहीले बताए ।

उनले भने, ‘पहिला यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न दुई–चार दिन पैदलयात्रा गुर्नपर्थ्याे । अहिले गाउँमा सडक पुगेपछि त्यो खाद्यान सामग्री गाडीमा दुई–चार घण्टामा घर पुग्छ ।’

गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोन्नति गरिदिन पाए यहाँका स्थानीयलाई थप सुविधा हुने शाहीले बताए । अदानचुली गाउँपालिकाका पाँच वडा सडक सञ्जालमा जोडिएका छन् भने वडा नम्बर ६ को पाल्स र लमही मात्र बाँकी रहेकाले सडकको पहुँचमा छैन । 

वडा नम्बर ६ को लमही र पाल्सका गाउँबस्तीमा सडक पुर्‍याउने कार्यलाई निकै तीव्रता दिँदै आएको छ । यहाँका अधिकांश बस्तीको बिचबिचमा ठुला चट्टान भएकाले त्यस ठाउँमा सडक खन्न निकै समस्या भएकाले ती बस्तीहरू सडक सञ्जालको पहुँचमा पुग्न ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए ।

अहिले यहाँका ती ठुला चट्टानलाई फोड्दै सडक नपुगेका गाउँबस्तीलाई सडकसँग जोड्ने काम भइरहेको गाउँपालिका अध्यक्ष सिंहले बताए । उनले भने, ‘यस ठाउँको भूगोलले नै समस्या पारेकाले केही ढिलाइ भएको छ, अहिले करिब रु. एक करोडभन्दा धेरै बजेट विभिन्न निकायबाट पहल गरी विनियोजन गरिएको छ ।’