
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले जम्मु–कस्मिरको आतंककारी हमलामा मंगलबार हत्या भएका नेपाली सुदीप न्यौपानेको परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मासँग साउथब्लक दिल्लीस्थित विदेश मन्त्रालयमा भएको भेटमा जयशंकरले आतंकवादविरुद्ध साथ दिएकोमा नेपाललाई धन्यवादसमेत दिएका छन्।
शुक्रबार विभिन्न देशका राजदूतहरूसँग भेट्ने क्रममा जयशंकरले नेपाली राजदूत शर्मासँग पनि भेटेका थिए। उनले शुक्रबार सुरुमा नेपाली राजदूत शर्मासँग भेटे भने त्यसपछि इजिप्ट, अर्जेन्टिना र इजरायलका राजदूतसँग भेटेका थिए।
‘मैले पहलगामको आतंककारी घटनाप्रति भारतसँग दृढ ऐक्यबद्धता जनाएँ र हाम्रो गहिरो समवेदना पनि साझा गरेँ,’ राजदूत शर्माले भेटपछि भने, ‘नेपाली नागरिक सुदीप न्यौपानेको निधनप्रति उहाँले पनि समवेदना व्यक्त गर्नुभयो। हामीले नेपाल–भारत सम्बन्धका समग्र पक्षको पुनरावलोकन पनि गर्याैँ ।’
जयशंकरले पनि राजदूत शर्मासँग भेटपछि ट्विट गर्दै नेपाली नागरिकको निधनप्रति समवेदना व्यक्त गरेको उल्लेख गरेका छन्। ‘द्विपक्षीय सम्बन्धका विकासक्रमबारे पनि छलफल गरेँ,’ उनले भनेका छन्।
नेपाललाई खोप हस्तान्तरण
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिकलसेल र थालेसिमियाविरुद्धको खोपको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई उनले शुक्रबार खोप हस्तान्तरण गरेका हुन्।
नेपाल सरकारको अनुरोधमा भारत सरकारले थालेसिमिया र सिकलसेल रोगका बिरामीहरूका लागि २० लाख अमेरिकी डलरबराबरको औषधि तथा खोप प्रदान गर्न लागेको भारतीय राजदूतावासले जनाएको छ।
त्यसमध्ये पहिलो खेपको खोप–औषधिमा इन्फ्लुएन्जा खोप (३१०० युनिट), साल्मोनेला खोप (१५५० युनिट), मेनिंगाेकोक्कस खोप (३१०० युनिट), हाइमोफिलस इन्फ्लुएन्जा खोप (४६४० युनिट) र स्ट्रेप्टोकोक्कस निमोनिया खोप (४६४० युनिट) छन्।