
बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्ति लोकपथ १५ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ।
सडक मर्मत गर्नुपर्ने भएकाले वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको हो। शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कान्ति लोकपथमा बिहान १० बजेबाट साँझ ४ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको छ।
सूचनाअनुसार मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडकखण्डमा सडकको चौडाइ विस्तारको कार्य भइरहेको छ।
ठिगन–बगुवा सडकखण्डअन्तर्गत गँगटेनजिकैको भर्याङडाँडामा सडकको चौडाइ विस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म उक्त सडकखण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द हुने भएको हो।
दैनिक ६ घण्टा उक्त सडकमा यातायात आवागमन बन्द रहने भएकाले सो अवधिमा काठमाडौं–हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनहरूले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। सो सडक कान्ति लोकपथ सडक आयोजना, चाकुपाट, ललितपुरमार्फत ठेक्का लागेर एमएस सर्वशक्ति पञ्चकन्या सनस्टार जेभीले निर्माण गरिरहेको छ।