१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
धनगढीविरुद्ध हेडिङ गर्ने प्रयासमा पोखरा थन्डर्सका खेलाडी (निलो) ।
२o८२ बैशाख ११ बिहीबार o८:५४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो नेपाल सुपर लिग : धनगढीलाई स्तब्ध पार्दै पोखरा पहिलोपटक फाइनलमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार o८:५४:oo

पोखरा थन्डर्स तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा पुगेको छ । दशरथ रंगशालामा साबिक दुईपटकको उपविजेता धनगढी एफसी बुधबार अन्तिम ६ मिनेटको इन्जुरी समयमा सम्हालिन नसक्दा पोखराले १–० ले बाजी मार्दै साबिक विजेता ललितपुर एफसीविरुद्ध उपाधि भिडन्त पक्का पारेको हो । पोखरासँग दोस्रो क्वालिफायरमा पराजित हुनुअघि धनगढीले उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो । धनगढीले दश खेलाडीमा सीमित पोखराविरुद्ध त्यसको फाइदा लिन सकेन । पहिलोपटक धनगढीको यात्रा क्वालिफायरसम्मसम्म रह्यो । 

पोखरालाई अन्तिम दुईमा स्थान सुरक्षित गर्न क्यामरुनका खेलाडी स्टेफन समिर विनोङले निर्णायक गोल गरेका थिए । रोमाञ्चक दोस्रो क्वालिफायरमा अन्तिम ६ मिनेटको इन्जुरी समय थप भएको थियो । इन्जुरी समय सकिन दुई मिनेट बाँकी रहँदा स्टेफनले पेनाल्टी क्षेत्रबाट हेडिङ गोल गरी पोखरालाई उपाधिनजिक पुर्‍याए । आयुष घलानको चलाखीपूर्ण कर्नरबाट आएको बललाई स्टेफनले पहिलो बारमा हेडिङ गोल गरे । 

धनगढीका गोलरक्षकले स्टेफनको हेडिङ छेक्ने कुनै मौका पाएनन् । इन्जुरी समयमा बाजी मारेपछि पोखराका खेलाडी र अफिसियल खुसी देखिए । तेस्रो संस्करणको फाइनलमा स्थान बनाउन पोखरा र धनगढीलाई अन्तिम मौका थियो । यस खेलको विजेता मात्र उपाधि भिडन्तमा पुग्ने थियो । पहिलो क्वालिफायरमा ललितपुरले धनगढीलाई पाखा लगाएको थियो । त्यसपछि पोखरा र चितवनबिचको इलिमेनेटर खेल भयो । जसमा पोखराले जित निकाल्दै धनगढीसँगको भेट पक्का गरेको थियो । धनगढीले पोखराविरुद्ध दोस्रो हाफमा कमजोर प्रदर्शन गर्‍यो । यसपटक पोखराले कमजोर सुरुवात गरेको थियो । पहिलो दुई खेल गुमाएको पोखराको शीर्ष चारमा रहँदै प्ले अफ खेल्ने आशा कमजोर बनेको थियो । 

त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै पोखराले अंकतालिकाको तेस्रो स्थान मात्र रक्षा गरेन, फाइनलसम्मको यात्रासमेत सहज रूपमा गर्‍यो । पोखरा लगातार पाँच खेलमा अपराजित छ । यसपटक पोखराले धनगढीविरुद्ध गत संस्करणमा व्यहोरेको हारको बदला लियो । 

धनगढीविरुद्धको प्रतिस्पर्धामा पोखराले नियमित कप्तान नवयुग श्रेष्ठलाई बेन्चमा राखेको थियो । खेलमा प्रेरणादायी प्रदर्शन गरेका आयुषले कप्तानी जिम्मेवारी पाए । धनगढीले देवेन्द्र तामाङको कप्तानीमा सुरुवाती ११ खेलाडी घोषणा गर्‍यो । दुवै टोलीले समान पाँच विदेशी खेलाडीले पहिलो प्लेनिङ ११ मै समावेश गरेका थिए । लिग चरणमा लगातार पाँच खेल जितेको धनगढी उत्कृष्ट फर्ममा देखिन्थ्यो । तर, त्यसपछिका खेलमा धनगढीले अपेक्षित प्रदर्शन गर्न सकेन । 

८५औँ मिनेटमा पोखरा १० खेलाडीमा
पोखरा र धनगढीले पहिलो हाफमा निराश खेल प्रदर्शन गरेका थिए । दुवैले प्राप्त मौकामा मात्र विपक्षी पोस्टमा गोल प्रयास गरेका थिए । तर, खेलको ८५औँ मिनेटमा पोखरा १० खेलाडीमा सीमित भयो । गौरव श्रेष्ठले रातो कार्ड पाउँदा पोखरा १० खेलाडीमा सीमित भएको हो । श्रेष्ठले दोस्रो पहेँलो कार्डको सामना गर्दा मैदानबाट बाहिरिए । उनले धनगढीका सर्जियो बारबोजालाई फल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले दोहोरो पहेँलो कार्ड देखाएका हुन् । धनगढीले यसको फाइदा उठाउन सकेन । फाइनल थर्डमा रहेका लेबनानी हिजाजीले केही गोल अवसर नपाएका होइनन्, तर उनले पोखराका डिफेन्डर र गोलरक्षकलाई कटाउन सकेनन् ।

पोखरा र धनगढीका गोल प्रयास
खेलको ८८औँ मिनेटमा धनगढीका जर्जप्रिन्स कार्कीले लामो दूरीबाट प्रहार गरेको बललाई पोखराका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिन सकेनन् । खेलको ५९औँ मिनेटमा पोखराका स्टेफन समिर विनोङले बक्सभित्रबाट हानेको प्रहार क्रसबारनजिकैबाट बाहिरियो । खेलको ८१औँ मिनेटमा पोखराका सुदिल राईको प्रहारलाई धनगढीका वालिदले बचाए । खेलको ६४औँ मिनेटमा आयुषको क्रसमा सुदिलले सहज गोल अवसर गुमाए ।

दशरथ रंगशालामा विश्वकप विजेता कार्लोस
सन् २००२ मा ब्राजिलले पाँचौँपटक विश्वकप ट्रफी उचाल्दा रोबर्टो कार्लोस मुख्य खेलाडी थिए । विश्व च्याम्पियन डिफेन्डर कार्लोसले नेपाल भ्रमणको दोस्रो दिन दशरथ रंगशालामा पोखरा र धनगढीबिचको खेलको मजा उठाएका छन् । प्रतिस्पर्धाको मध्यान्तरमा कार्लोसको विश्वचर्चित फ्रिकिक प्रहार समर्थकहरूले हेर्ने अवसर पाए । कार्लोसको फ्रिकिकको सामना नेपालका गोलरक्षक समित श्रेष्ठले गरेका थिए । 

रंगशालाको उत्तरतर्फको गोलपोस्टमा श्रेष्ठले आत्मविश्वासका गोलपोस्ट सम्हाले । श्रेष्ठले कार्लोसको पहिलो ‘लेफ्ट फुटे’ प्रहार बचाए । त्यसपछिका दुई प्रहारमा कार्लोसले आफ्नो शक्ति र चलाखी प्रदर्शन गरे । सटीक ग्रिप लिँदै कार्लोसले प्रहार गरेको फ्रिकिकलाई श्रेष्ठले छेक्न सकेनन् । उनको एउटा प्रहार क्रसबारमाथि गएको थियो । 

उनले खेलअघि दुवै टोलीका खेलाडी र म्याच रेफ्रीसँग हात मिलाएका थिए । त्यसपछि उनले रेफ्री प्रज्वल क्षेत्रीलाई बल हस्तान्तरण गरे । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए । 

प्रधानमन्त्री ओलीसँग भेट
कार्लोसले दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । एनएसएल हेर्न मंगलबार नेपाल आएका कार्लोस र ओलीबिच खेलकुद क्षेत्रको उन्नयनबारे छलफल भएको थियो ।