
बुधबार सात अर्ब ४२ करोडको कारोबार, उत्पादन र सामूहिक लगानी कोषबाहेकका सबै परिसूचक नकारात्मक
चार दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६६.७९ अंकले घटेको छ । गत बिहीबार २७०६.०४ विन्दुमा पुगेको नेप्से चार दिनयता निरन्तर घटेर २६५५.९४ विन्दुमा आइपुगेको हो ।
बुधबार कारोबार आएकामध्ये उत्पादन समूह र सामूहिक लगानी कोषबाहेक सबै परिसूचक घटेको छ । बैंकिङ समूहको परिसूचक १.२३ प्रतिशतले घटेको छ ।
विकास बैंक समूहको परिसूचक २.०९ प्रतिशत र लघुवित्त समूहको परिसूचक १.०४ प्रतिशतले घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक १.०५ प्रतिशत, फाइनान्स समूहको परिसूचक १.१५ प्रतिशत र जलविद्युत् समूहको परिसूचक १.७८ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बिमा समूहको परिसूचक ०.४५ प्रतिशत र निर्जीवन बिमा समूहको परिसूचक ०.०७ प्रतिशतले घटेको छ । लगानी समूहको परिसूचक १.७६ प्रतिशत र व्यापार समूहको परिसूचक ०.३ प्रतिशतले घट्दा अन्य समूहको परिसूचक १.५ प्रतिशतले घटेको छ । बजार घट्दा पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य उच्च दरले बढेकाले सर्किट ब्रेकर लागेको छ ।
बुधबार परिसूचक ३२.३८ अंक (१.२ प्रतिशत)ले घटेको छ । पछिल्लो चार दिनमध्ये सोमबार सर्वाधिक कारोबार भएको थियो । सो दिन ८ अर्ब ५० करोड रुपैयाँ कारोबार भएको थियो । बुधबार कारोबार घटेर सात अर्ब ४२ करोडमा सीमित भएको छ । बजार पुँजीकरण ४४ खर्ब १६ अर्ब कायम भएको छ ।