Skip This
भारतीय विद्युतमन्त्रीलाई जानकारी नदिई कार्यक्रम राख्दा भएन कोशी करिडोर उद्घाटन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ बैशाख १० बुधबार o७:५२:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतीय विद्युतमन्त्रीलाई जानकारी नदिई कार्यक्रम राख्दा भएन कोशी करिडोर उद्घाटन

ऊर्जामन्त्री दीपक खड्काको ‘कच्चा’ कूटनीति

Read Time : > 2 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार o७:५२:oo
  • तुम्लिङटार बजारमा कोशी करिडोर उद्घाटन गर्ने कार्यक्रमका लागि भव्य स्टेज र मूल सडकको ठाउँ–ठाउँमा गेट बनाइएको थियो, तर पूर्वजानकारी नदिई राखेको कार्यक्रममा उपस्थित नहुने भारतीय मन्त्री मनोहरलाल खट्टरले सूचना दिएपछि कार्यक्रम रद्द गरियो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतीय विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको पूर्वजानकारीविना कार्यक्रम राख्दा कोशी करिडोर दुई सय २० केभी प्रसारणलाइनको उद्घाटन रोकिएको छ । 

ऊर्जा मन्त्रालयले मंगलबार दिउँसो संखुवासभाको तुम्लिङटारमा भव्य कार्यक्रमबिच निर्माण सम्पन्न भएको कोशी करिडोर परियोजनाको उद्घाटन कार्यक्रम राखेको थियो । कोशी करिडोर दुई सय २० केभी प्रसारणलाइनअन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार दुई सय केभी प्रसारणलाइन तथा २२०–१३३–३३ केभी तुम्लिङटार सबस्टेसन, २२०–३३ केभी बानेश्वर सबस्टेसन तथा २२०–१३३–३३ केभी वसन्तपुर सबस्टेसनको निर्माण सकिएको हो ।

भारतीय मन्त्री खट्टर र ऊर्जामन्त्री खड्काले संयुक्त रूपमा सो परियोजनाको उद्घाटन गर्ने तालिकासहितको निमन्त्रणा कार्ड स्थानीय जनप्रतिनिधि, सरोकारवाला र सञ्चारमाध्यमलाई पठाइएको थियो । तर, पूर्वजानकारी नभएको कार्यक्रममा उपस्थित नहुनेबारे भारतीय मन्त्री खट्टरले सोमबार साँझ ऊर्जा मन्त्रालयलाई जानकारी गराए । लगत्तै, तुम्लिङटारमा आधाभन्दा बढी निर्माण भइसकेको भव्य सेटसहितको मञ्च सोमबार राति भत्काइएको थियो । 

भारतीय मन्त्री खट्टरको स्वागतका लागि तुम्लिङटार बजार प्रवेश गर्ने मुख्य सडकको ठाउँ–ठाउँमा सोमबार दिउँसो नै कोशी करिडोर दुई सय २० केभी प्रसारणलाइनको समुद्घाटन लेखिएको ब्यानरसहितको गेटसमेत बनाइएको थियो । 

कोशी करिडोर परियोजना उद्घाटन हुन नपाए पनि मंगलबार बिहान संखुवासभा पुगेको ऊजामन्त्री खड्कासहितको भारतीय टोलीले अरुण तेस्रो जलविद्युत् परियोजनाको चिचिला गाउँपालिका– ३ स्थित दिदिङ पुखुवामा रहेको पावरहाउसको टर्बाइन उद्घाटन गरेको छ । त्यस्तै, मकालु गाउँपालिका– ५ स्थित फ्याक्सिन्दामा रहेको ड्यामसाइडको निरीक्षण गरी टोली मंगलबार दिउँसो काठमाडौं फर्किएको छ । भारतीय एक्जिम बैंकको अगुवाइमा परियोजना बनेकाले भारतीय पक्षको उपस्थितिमा उद्घाटन गर्नुपर्ने अवस्था छ । परियोजनामा नेपालको पनि थोरै लगानी छ ।

सो आयोजनाको कार्यालय खाँदबारी नगरपालिका– ९ स्थित तुम्लिङटारमा छ । ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाटै आयोजनाको समुद्घाटन गर्ने कार्यक्रमस्थलको स्टेज झकिझकाउ र भव्य बनाउन निर्देशनसमेत आएको थियो । निर्देशनअनुसार बाटोमा स्वागत गेट निर्माणको काम दिउँसोसम्म सकेर स्टेज निर्माणको काम आधा मात्रै सकेको अवस्थामा उद्घाटन कार्यक्रम स्थगित भएको जानकारी पाएको कोशी कोरिडोर प्रसारणलाइन आयोजनाका प्रमुख राघवेन्द्र झाले बताए ।

‘सोमबार राति नै ऊर्जा मन्त्रालयबाट प्रसारणलाइनको उद्घाटन कार्यक्रम स्थगित भएको जानकारी आयो । त्यसपछि स्टेज निर्माण कार्य बन्द गरियो,’ उनले भने, ‘कार्यक्रम किन स्थगित भयो भन्नेबारे हामीलाई जानकारी भएन । मन्त्रालयबाट स्थगित भयो भन्ने खबर आएपछि कामलाई स्थगित गर्‍यौँ ।’

उनले निर्माण भएजति स्टेज पनि भत्काएर निकालेको जानकारी दिए । स्थानीय स्तरमा भने मौसम प्रतिकूलताका कारण प्रसारणलाइनको उद्घाटन कार्यक्रम रद्द गरिएको जनाएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोख्रेलले पनि ऊर्जामन्त्री खड्कासहितको भारतीय टोलीले अरुण तेस्रोको पावरहाउस र ड्यामसाइडको अवलोकन गरेको बताए । ‘मन्त्रीज्यूहरूले पावरहाउस र ड्यामसाइटको अवलोकन गरेर प्रगति विवरण लिनुभयो । बर्सात भएकाले कार्यक्रम छिटो–छिटो गरेर नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं फर्किनुभएको छ,’ उनले भने । भारतीय विद्युत्मन्त्री खट्टर ऊर्जामन्त्री खड्काको निमन्त्रणामा मंगलबार बिहान आएका हुन् ।

टर्बाइन उद्घाटन गरेर फर्कियो भारतीय विद्युत्मन्त्रीसहितको टोली

ऊर्जामन्त्री दीपक खड्काको लापरबाहीले कोशी करिडोर परियोजनाको उद्घाटन हुन नसकेपछि संखुवासभा पुगेको भारतीय विद्युत्मन्त्री खट्टरसहितको टोलीले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको पावरहाउसको टर्बाइन उद्घाटन गरेको छ । अरुण तेस्रोको काम अहिलेसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ । भारतीय सतलज एस जेभी एन्ड कम्पनीले अरुण तेस्रो निर्माण गरिरहेको छ । मकालु गाउँपालिका– ५ फ्याक्सिन्दामा ड्यामसाइडको काम भइरहेको छ भने चिचिला गाउँपालिका– ३, दिदिङ पुखुवामा पावरहाउस निर्माण भइरहेको छ ।

चार सय केभीका दुई अन्तरदेशीय प्रसारणलाइन निर्माणको सम्झौता
गत माघमा नेपाल र भारतका ऊर्जासचिव सम्मिलित बैठकले गरेको सहमतिअनुसार चार सय केभी क्षमताका दुईवटा प्रसारणलाइन निर्माण गर्न विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड लिमिटेडबिच मंगलबार सम्झौता भएको छ । सम्झौतापत्रमा प्राधिकरणका निर्देशक कमल आचार्य र ग्रिड लिमिटेडका निर्देशक डा. यतिन्द्र दुवेदीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार इनरुवा–न्यु पुर्णिया र दोधारा (लम्की)–बरेली प्रसारणलाइन बन्नेछन् । यसका लाग संयुक्त कम्पनी गठन हुनेछ ।