
कम्युनिस्ट घटकहरूले छुट्टाछुट्टै कार्यक्रम गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना दिवस मनाउँदै छन् । एमाले, माओवादी, एकीकृत समाजवादी, नेकपालगायतले स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंसहित जिल्ला–जिल्लामा पनि कार्यक्रम आयोजना गरेका छन् ।
लेनिन जयन्तीको अवसर पारेर पुष्पलाल श्रेष्ठको अगुवाइमा २२ अप्रिल १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पुष्पलालसहित नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी श्रेष्ठ कम्युनिष्ट पार्टीका संस्थापक हुन् ।
निरंकुश शासन अन्त्य, जनताको पूर्ण नागरिक स्वतन्त्रता प्रत्याभूति, किसान तथा मजदुरको अधिकारका लागि किसान मजदुरकै सरकार गठन, सामन्तवाद साम्राज्यवादविरोधी नवप्रजातन्त्रका लागि कम्युनिस्ट पार्टी स्थापना भएको घोषणा गरिएको थियो । सामन्तवाद एवं साम्राज्यवादविरोधी नयाँ जनवादी क्रान्ति, किसान र मजदुरको नेतृत्वमा निर्वाचित सरकार, संविधानसभाबाट संविधान निर्माण, क्रान्तिकारी भूमिसुधार, श्रमिक एवं किसानको अधिकारको सुनिश्चितता, स्वाधीन अर्थतन्त्र निर्माण र सर्वसुलभ शिक्षाजस्ता आधारभूत विषय प्रथम घोषणापत्रमा उल्लेख गरिएको थियो ।
७६ वर्षे अवधिमा कम्युनिस्टहरू पहिलोपटक ०१७ मा तत्कालीन राजा महेन्द्रको कदमलाई लिएर फुटेका थिए । त्यसपछि विभाजनको शृंखला चल्दै आएको छ । ०७४ को आमनिर्वाचनमा एमाले र माओवादीबिच वाम गठबन्धन बनाएर चुनाव लड्दा झन्डै दुईतिहाइ सिट जितेको थियो । दुई पार्टी एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बने पनि लामो समय टिक्न सकेन । हाल देशमा दर्जनौँ संख्यामा कम्युनिस्ट पार्टी छन् । मुख्य दुई धार छन् । एउटा धार, झापा विद्रोहबाट माले हुँदै एमाले र एकीकृत समाजवादीसम्म आइपुगेको छ । अर्को धार, चौथो महाधिवेशन हुँदै माओवादीसम्म आइपुगेको छ । माओवादी धार पनि विभिन्न समूहमा विभाजित छ । एमाले, माओवादी, एकीकृत समाजवादीसँगै जनमोर्चा र नेमकिपा संसद्मा छन् । नेकपा, क्रान्तिकारी माओवादी, मालेलगायत थुप्रै कम्युनिस्ट दल संसद्बाहिर छन् ।
राजनीतिक विश्लेषक राजेन्द्र महर्जन कम्युनिस्ट नीति, सिद्धान्त, विचार र कार्यदिशाबाट टाढिएपछि ‘कम्युनिस्ट’ नामको ‘साइन बोर्ड’ र ‘ट्रेड मार्क’ मात्र बाँकी रहेको बताउँछन् । ‘अहिलेका कम्युनिस्ट नामधारी पार्टीमा कम्युनिस्ट सिद्धान्त र आचरण शून्य छ । कम्युनिस्ट मूल्य, मान्यता र आचरण नै बाँकी नरहेपछि दलहरू स्थापनाकालीन सपनासित नजिक हुने सम्भावना पनि बाँकी रहँदैन,’ उनले भने, ‘कम्युनिस्ट पार्टीहरूको नेतृत्व तहमा पुग्ने नेताहरूले बिस्तारै सामूहिक नेतृत्व समाप्त गरी एकल नेतृत्व स्थापित गर्दै जान्छन् । यसले पार्टीभित्र टुटफुटलाई मलजल गर्छ । कम्युनिस्ट साइन बोर्ड राखेर पनि नेतृत्वमा पुँजीवादी चरित्र हाबी हुँदै गएपछि पार्टीहरूलाई जुट्नभन्दा फुट्नै सजिलो हुने गरेको देखिन्छ ।’
एमालेले नेकपा स्थापनाको ७६ वर्षगाँठको अवसरमा सात नेतालाई ‘कम्युनिस्ट योद्धा’ सम्मानबाट सम्मानित गर्दै छ । लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्न शर्मा न्यौपाने जाजरकोट (मरणोपरान्त), शोभाराम बस्नेत दाङ, वाचस्पति देवकोटा गोखरा, शान्ता मानवी काठमाडौँ, सत्यनारायण मण्डल सप्तरी र हरिचरण सिवाकोटी झापालाई कम्युनिस्ट योद्धा सम्मानबाट सम्मानित गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा लेनिन दिवस तथा नेकपा स्थापना दिवसको कार्यक्रम राखेको छ । दिउँसो १ बजे कार्यक्रम आयोजना गरिएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
एकीकृत समाजवादीले कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भ पारेर मंगलबार राजधानीमा विचार गोष्ठी आयोजना गरेको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत नेताले सम्बोधन गर्ने उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बृहत् ध्रुवीकरण कार्यक्रम आयोजना गरेको छ ।