
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन)को अध्यक्षमा विनोद पाण्डे चयन भएका छन् । काठमाडौंमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पाण्डे चयन भएका हुन् । उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी, उपमहासचिवमा तीर्थराज घिमिरे, सचिव (संगठन विभाग)मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग)मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग)मा ध्रुवराज कार्की र सचिव (अर्थ)मा चन्द्रकुमार महतरा निर्वाचित भएका हुन् ।
महाधिवेशनबाट लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाकार आयोगमा रवीन्द्र कार्की निर्वाचित भएका छन्। महाधिवेशनबाट पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन भएको छ ।
महाधिवेशनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सदभावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताएका थिए । एमालेले सामाजिक सदभाव कायम गराउने कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा उनले जोड दिएका थिए।
रक्षामन्त्री मानवीर राईले नेपोनले विपतकाे समयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकोप्रति विश्वास व्यक्त गर्दै जीवनको ऊर्जाशील समय देशको सुरक्षामा खटेर बिताउनु सराहनीय भएको बताए।