Skip This
सांस्कृतिक राजधानीमा प्रदूषणको बादल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Tuesday, 15 April, 2025
हिक्मतसिंह ऐर
२o८२ बैशाख १ सोमबार o६:४८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सांस्कृतिक राजधानीमा प्रदूषणको बादल

देशको पर्यटन पुनरुत्थानको बाटोमा फर्किन लागेको समयमा चर्किएको वायु प्रदूषणले ‘पर्यटकीय हब’ काठमाडौंको आकर्षण घटाउने खतरा छ

Read Time : > 4 मिनेट
हिक्मतसिंह ऐर
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार o६:४८:oo

जे छ, त्यसैलाई चम्काऊ, सकिएन भने पुरानै अवस्थामा फर्काऊ ।’ कहिलेकाहीँ रमाइलो देखिने यस्तो भनाइ पछिल्लो समयको काठमाडौं उपत्यकाको वायु प्रदूषणका सन्दर्भमा निकै उपयुक्त लाग्छ । केही दिनअघिसम्म राजधानीको वायु गुणस्तर पछिल्लो समय यति खराब भएको थियो कि यहाँ बसोवास गर्नेलाई मात्र होइन, भ्रमणमा आउने पर्यटकलाई समेत गम्भीर असर पु¥याइरहेको थियो ।

पछिल्ला केही दिनयता वर्षा भएकाले मात्र अहिले केही सुधार देखिएको हो, नत्र पछिल्ला दुई सातादेखि काठमाडौंको वायु गुणस्तर ‘निकै अस्वस्थ’ श्रेणीमा रह्यो । जुन वायु वयस्कका लागि मात्र होइन, स्वास्थ्यमा संवेदनशील सबै उमेर समूहका लागि हानिकारक मानिन्छ । वायु गुणस्तर सूचकांक (एक्युआई) २०० भन्दा माथि पुग्नुले यहाँको वायुमण्डल कति दूषित भइसकेको थियो भन्ने स्पष्ट गरेको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको पछिल्लो अध्ययनअनुसार पछिल्ला ९० दिनमध्ये ७५ दिन काठमाडौंको एक्युआई ‘हानिकारक’ श्रेणीमा परेको थियो ।

हामीले वायु प्रदूषणलाई केवल स्वास्थ्यको सवाल मात्र ठान्ने गल्ती गर्नु हुँदैन । यसको असर काठमाडौंको आर्थिक क्षेत्र, विशेषगरी पर्यटन क्षेत्रमा प्रत्यक्ष पर्न थालिसकेको छ । एकातिर हामी देशको पर्यटन पुनरुत्थानको बाटामा फर्किन लागेका छौँ भने अर्कातिर यस्तो वायु प्रदूषणले ‘हब सिटी’ काठमाडौंको आकर्षण घटाउने खतरा बढ्दो छ ।

पर्यटन व्यवसाय वायुमण्डलीय स्वच्छतासँग घनिष्ठ रूपमा जोडिएको हुन्छ । पर्यटकले आफ्नो गन्तव्य चयन गर्दा स्वच्छ वातावरण, सुरक्षित यातायात, राम्रो स्वास्थ्य सेवा, सांस्कृतिक विविधता र सुविधाजनक बसोवासजस्ता पक्षमा ध्यान दिन्छन् । यीमध्ये एक पक्षमा कमजोरी आएमा पर्यटकको प्राथमिकता तुरुन्तै अर्कोतिर मोडिन सक्छ ।

देशको राजधानीकै वायु यति हानिकारक हुनु स्थानीय समस्या मात्र होइन, राष्ट्रिय छवि र पर्यटन अर्थतन्त्रसँग जोडिएको गम्भीर र चिन्ताजनक चुनौती पनि हो
 

काठमाडौं सहर पर्यटनको मुख्य केन्द्र हो । धार्मिक सम्पदा, सांस्कृतिक विविधता, हेरिटेज ट्रेल, पुराना गल्ली, ऐतिहासिक चोक, कला र हस्तकला, यी सबैले काठमाडौंलाई अद्वितीय गन्तव्य बनाउँछन् । १९६०–७० को हिप्पी युगदेखि, धार्मिक पर्यटन, क्यासिनो, सजिलो र सस्तो किनमेल तथा भिजिट नेपाल वर्षमा बढ्दो चासोले काठमाडौंले सधैँ पर्यटकलाई आफूतिर तानेको छ ।

सन् २०१९ र २०२४ मा झन्डै १२ लाख विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२५ को पहिलो तीन महिनामै ३ लाखभन्दा बढी पर्यटक भित्रिसकेका छन्, जसको ठुलो संख्याले काठमाडौंलाई प्रवेशद्वारका रूपमा उपयोग गरेका छन् ।

हवाई कनेक्टिभिटी र निजी क्षेत्रको संलग्नता : होटेल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार नेपालले हाल वार्षिक ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार बनाइसकेको छ । नेपाल वायुसेवा निगमसँगै २८ विदेशी, हिमालयन र यती एयरलायन्सजस्ता आन्तरिक सेवा प्रदायकसँगै यो समर सिजनमा दैनिक ५५ वटा अन्तर्राष्ट्रिय उडान (उडान र अवतरण गरी ११०) सञ्चालन गर्दै काठमाडौंलाई विश्वका प्रमुख सहरसँग जोड्ने काम भइरहेको छ ।

काठमाडौंबाट दैनिक १८ घण्टा उडान भइरहेका छन् । यससँगै टुर अपरेटरहरूको नेटवर्कले पर्यटन विस्तारमा ठुलो योगदान दिइरहेको छ ।तर, बढ्दो वायु प्रदूषणका कारण पछिल्ला दुई महिनादेखि अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा असर देखिएको छ । यसले विश्वभर काठमाडौंको छविमा नकारात्मक असर पारेको छ । हवाई सेवा सहज हुँदा पनि काठमाडौंको वायु प्रदूषण देशको ‘ब्रान्ड भ्यालु’ मा धब्बा बन्न थालेको छ । पर्यटकमा नेपालबारे पहिलो प्रभाव पर्ने स्थान काठमाडौं नै हो । र यदि त्यहाँको वायुमा पछिल्ला साताको जस्तो प्रभाव देखेमा त्यो अनुभव सधैँका लागि उनीहरूको स्मृतिमा गढिन्छ ।

समाधानको खाका :  काठमाडौंको भौगोलिक बनोटले पनि प्रदूषणको असर गहि¥याउँछ । कचौरा आकारको काठमाडौं खाल्डोबाट प्रदूषित हावा सजिलै बाहिर निस्कन सक्दैन । आगलागी, धुलोयुक्त सडक र पेट्रोलियम पदार्थको अत्यधिक प्रयोग यसका प्रमुख कारक हुन् । हाल काठमाडौंमा १४ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् ।

वर्तमान अवस्थामा, समाधानका प्रयास खल्ला देखिन्छन् । सरकारले प्रदूषण नियन्त्रणका लागि केही नीति त बनाएको छ, तर तिनको कार्यान्वयन कमजोर छ । उदाहरणका लागि विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्ने नीति स्वागतयोग्य हो । सन् २०३५ भित्र ५० प्रतिशत सार्वजनिक तथा निजी सवारी विद्युतीय बनाउने लक्ष्य छ । सन् २०३० सम्ममा चक्रपथभित्र डिजेलबाट चल्ने सवारी साधनलाई निषेध गर्ने योजनासमेत छ । तर, यी योजना दस्ताबेजमै सीमित हुने हुन् भने त्यसको सकारात्मक असर देखिन सक्दैन ।

राजधानीको वातावरणीय प्रदूषण न्यूनीकरणका लागि तत्काल नीतिगत रूपमा निम्न कदम उठाइनु सान्दर्भिक हुन सक्छ : 
–    विद्युतीय सवारीमा भन्सार तथा कर छुट दिने,
–    सरकारी कार्यालयमा विद्युतीय सवारी अनिवार्य गर्ने,
–    साप्ताहिक रूपमा ‘जोर–बिजोर’ प्रणाली लागू गर्ने
–    गम्भीर प्रदूषणका दिन ‘कार फ्री डे’ घोषणा गर्ने,
–    सवारी सर्वेक्षण गर्दै पुराना तथा प्रदूषण         फैलाउने सवारी सञ्चालनमा रोक         लगाउने,

डिजेलबाट चल्ने ठुला सवारी साधन विद्युतीकरणको चुनौती हो । तर, चीन र भारतले यसको सफल परीक्षण गरिसकेका छन् । गत आर्थिक वर्षमा तीन खर्ब रुपैयाँ पेट्रोलियम पदार्थ आयातमा खर्चिएको तथ्यले पनि विद्युतीकरणको अपरिहार्यता देखाउँछ ।

सांस्कृतिक राजधानीको पर्यावरणीय साख :  विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने मात्र होइन, बागमती नदी सफा हुनु पनि आवश्यक छ । बागमती सफाइका लागि थुप्रै कार्यक्रम भए पनि ठोस उपलब्धि हासिल हुन सकेको देखिन्न । यस विषयमा विज्ञहरूसँग गहन छलफल गरी दीर्घकालीन योजना तयार गर्नु आवश्यक छ । राजधानी र वरपरका गन्तव्य चलायमान बनाउन आन्तरिक पर्यटनको विकास आवश्यक छ ।

सरकारी कर्मचारीलाई हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने व्यवस्थाले आन्तरिक पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्छ ।यस्तो दुईदिने साप्ताहिक बिदामा काठमाडौं महानगरले सिंहदरबार–भद्रकाली सडक खण्डमा सवारी निषेध गरी हाटबजार र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सक्छ । यस्ता थुप्रै स्थान छन्, जहाँ साना व्यापारीको आर्थिक गतिविधि बढाउन सकिन्छ ।

हरियालीयुक्त काठमाडौंको सम्भावना : 
वातावरण सुधारका लागि काठमाडौंवरपर वृक्षरोपण अभियान चलाउनु आवश्यक छ । सन् १९७८ मा शिवपुरी क्षेत्रमा एक लाख बिरुवा रोपिएका थिए । २०७६–७७ मा एक करोड बिरुवा रोप्ने कार्यक्रम घोषणा गरिए पनि हाल वृक्षरोपणभन्दा ‘जिप ट्र्याक’ खोल्ने होड चलेको छ ।

भारतका इन्दौर, चण्डीगढ़, मैसुरजस्ता सहरबाट हाम्रा काठमाडौंजस्ता सहरलाई हरियाली बनाउने सीप सिक्न सकिन्छ । नगरपालिकाले वृक्षरोपणलाई अभियान बनाउँदा सकारात्मक परिणाम देखिनेछ । यसमा निजी क्षेत्र र ठुला कम्पनीको सहकार्य अपरिहार्य छ ।

साइकल संस्कृतिको विकास : साइकल चढ्ने चलन काठमाडौंवरपर बढिरहेको छ । ललितपुर महानगरले छुट्टै साइकल लेनको व्यवस्था गरेर उदाहरणीय काम गरेको छ । प्रत्येक वर्ष जुलाई १७ मा ‘काठमाडौं राइड’मा हजारौँ ‘साइक्लिस्ट’ सहभागी हुन्छन् । पर्यटन व्यवसायी रञ्जन राजभण्डारीका अनुसार मार्च, अप्रिल र मे महिनामा एक हजारजति विदेशी पर्यटकले काठमाडौं उपत्यकामा ‘साइकलिङ टुर’ लिने गर्छन् ।

साइकलको प्रयोग नागरिकको स्वेच्छिक पहलबाट हुनुपर्छ । यसले दीर्घकालीन पर्यावरणीय सन्तुलनमा महŒवपूर्ण भूमिका खेल्छ । एम्स्टर्डाम (नेदरल्यान्ड्स) सहर यसको सफल उदाहरण हो– जहाँ गाडीको भिड हटेर अहिले साइकल यात्रीले सडक भरिएको देख्न सकिन्छ ।

सहरलाई हरियालीयुक्त बनाउने, खुला ठाउँ सिर्जना गर्ने, सडकछेउ वृक्षरोपण गर्ने अभियानमा नगरपालिकाहरूले सक्रिय भूमिका खेल्नुपर्छ । ललितपुर महानगरले साइकल लेन निर्माण, खुला चोक सौन्दर्यीकरण, सार्वजनिक यातायात सुधारजस्ता काममा उदाहरणीय कार्य गरेको छ । काठमाडौं महानगरले पनि त्यस्तै पहल गर्न जरुरी छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै काठमाडौंवरपरका क्षेत्र, जस्तै– नागार्जुन, गोकर्ण, नल्ला, दक्षिणकाली, साँगाजस्ता ठाउँमा सातामा दुई दिन घुम्ने संस्कृति विकास गर्न सकिन्छ । यसका लागि सिटी बस सेवा, साइकल भाडामा दिने सेवा र सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सकिन्छ । साथै, साताको एक दिन (जस्तै शनिबार बिहान) काठमाडौंका मुख्य चोकमा गाडी निषेध गरी ‘आउटडोर फेस्टिभल’ आयोजना गर्न सकिन्छ ।

यस्ता दिनमा मानिसले खुला चोकमा पैदल हिँड्ने, साइकल चलाउनेजस्ता गतिविधि गर्न सक्छन् । साथै, सो अवसरमा सांगीतिक कार्यक्रम, हाट बजार र सांस्कृतिक प्रदर्शनीको पनि आयोजना गर्न सकिन्छ । यसले न केवल पर्यावरणलाई फाइदा पु¥याउँछ, सहरप्रतिको नागरिकको अपनत्व पनि बढाउँछ ।

‘ब्रान्डिङ’का दृष्टिले हेर्दा, काठमाडौंलाई ‘आधुनिक सुविधायुक्त प्राचीन सहर’का रूपमा प्रस्तुत गर्न सकिन्छ । यसको संस्कृति, ऐतिहासिकता र विविधता ‘ब्रान्ड’ बनाउन सकिने मुख्य आधार हुन सक्छन् । भुटान, माल्दिभ्स, कोस्टारिकाजस्ता साना राष्ट्रले पनि पर्यटनमा ठुलो सफलता हासिल गरेका छन् । जसको केन्द्रमा सरकारको स्पष्ट दृष्टिकोण, स्वच्छता र दीर्घकालीन दिगोपनाको अडान थियो ।

नेपालले पनि यस्तो बाटो अपनाउन सक्छ । सारांशमा भन्नुपर्दा वायुमण्डलीय स्वच्छता अब ‘सजावट’ नभएर ‘आवश्यकता’ बनेको छ । देशको राजधानी– जुन देशको पहिलो प्रभाव दिने ठाउँ हो– त्यसको वायु यति हानिकारक हुनु केवल स्थानीय समस्या होइन, राष्ट्रिय छवि र पर्यटन अर्थतन्त्रसँग जोडिएको चुनौती पनि हो । 

हामीले आजैदेखि वातावरणीय स्वच्छताका पक्षमा कठोर निर्णय लिएनौँ भने पर्यटक मात्र होइन, आफ्नै सन्ततिले समेत हामीलाई दोष दिनेछन् । त्यसैले, काठमाडौं उपत्यकालाई सांस्कृतिक राजधानीका रूपमा जोगाउन, यहाँको आकाश सफा हुनैपर्छ । वायु प्रदूषण रोक्न सरकार र नागरिकको एकैसाथ पहल आवश्यक छ । हाम्रा पुर्खाले बनाएका सम्पदाको संरक्षण, संवद्र्धन र भावी पुस्तामा हस्तान्तरण गर्न सकेनौँ भने उनीहरूले हामीलाई माफ गर्नेछैनन् ।
(ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हुन्)