मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Tuesday, 08 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २६ मंगलबार o७:४९:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

प्रतिनिधिसभामा एमाले मुख्य सचेतक महेश बर्तौलालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार o७:४९:oo

शिक्षकलाई सडकमै अलपत्र छाडेर विधेयक अधिवेशन अन्त्य गर्नुभयो नि ?
शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ । समितिले उपसमिति गठन गरी ३५ दिनको समय दिएर त्यसमा बृहत् छलफल चलिरहेको छ । यसमा सदन चल्छ या चल्दैन भन्नेले केही फरक पार्दैन । सदन अन्त्य भएकाले सांसदहरूले झनै बढी समय दिन पाउनुभएको छ । शिक्षक, अभिभावक, कर्मचारी, निजी शैक्षिक संस्था, पाठ्यक्रम निर्माण, निःशुल्क शिक्षा, स्थानीय तह आदि यस विधेयकका ‘स्टेक होल्डर’ हुन् । त्यसैले, सबैका अपेक्षा समेटेर जिम्मेवार रूपमा प्रस्तुत हुन खोज्दा केही समय लम्बिएको हो । तर, हामी मनैदेखि शिक्षकका मागप्रति सकारात्मक छौँ । उहाँहरूसित यसअघि भएका सहमति कार्यान्वयन हुनेगरी विधेयक ल्याउन प्रतिबद्ध छौँ ।

शिक्षकका मागबमोजिम अध्यादेश, विशेष अधिवेशन या बर्खे अधिवेशन तत्काल बोलाउन कति सम्भव छ ?  
अध्यादेश अस्थायी कानुन हो । त्यो ल्याएर शिक्षकका माग दीर्घकालीन रूपमा समाधान हुन सक्दैनन् । त्यसैले, अहिले त्यसको सम्भावना छैन । विशेष अधिवेशन बोलाउन पनि हामीसित समय छैन । बजेट अधिवेशन बोलाउन ढिलो हुन लागिसकेको हुनाले अहिलेको अधिवेशन अन्त्य गर्नुपरेको हो । अबको १५–२० दिनमा बजेट अधिवेशन सुरु हुन्छ । बजेट अधिवेशन सुरु भएको आठ–दश दिनभित्रै यो विधेयक पारित गर्नेगरी हामीले काम गरिरहेका छौँ । शिक्षकहरू ढुक्क हुनुभए हुन्छ । 

अब शिक्षकलाई सडकबाट कसरी कक्षाकोठामा फर्काउनुहुन्छ ?
शिक्षकले अहिले शिक्षा विधेयक गोजीमा राखेर मात्र फर्किने भनिरहनुभएको छ । शैक्षिक सत्र सुरु हुँदै गर्दा उहाँहरू कक्षाकोठामा फर्केर काम सुरु गर्दानगर्दै हामीले यो विधेयक पारित गरी हुलाकमार्फत सबै स्कुलमा पठाउने व्यवस्था मिलाउँछौँ । यसमा तलमाथि हुँदैन । ढुक्कसाथ काममा फर्किंदा उहाँहरूमाथि कुनै घात हुनेछैन ।