
रोयल्स च्यालेन्जर्स बेंग्लोरले १८औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ । बाँखडे रंगशालामा बेंग्लोरले पहिलो ब्याटिङ गरी पाँच विकेट गुमाएर २२१ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा घरेलु मैदानमा मुम्बईले २० ओभरमा नौ विकेटको क्षतिमा २०९ रनको योगफल बनायो । लिगमा बेंग्लोरको यो तेस्रो जित हो । ६ अंकका साथ बेंग्लोर तेस्रो स्थानमा उक्लेको छ । मुम्बईले पाँच खेलमा चार हार सामना गरेको छ ।
लक्ष्य पछ्याएको इनिङ्समा मुम्बईका लागि मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, मुम्बईले अन्तिम ओभरमा तीन विकेट गुमाउँदा १२ रनको हार सामना ग¥यो । मुम्बईलाई अन्तिम ओभरमा १९ रन आवश्यकता थियो । बलिङमा क्रुनाल पाण्ड्याले गरेका थिए । उनले १९.१ ओभरमा मिचेल स्टार्नर, १९.२ ओभरमा दीपक चाहर तथा १९.५ ओभरमा नमानको विकेट लिँदै बेंग्लोरलाई रोमाञ्चक जित दिलाए ।
मुम्बईको ब्याटिङमा रोहित शर्माले ९ बलमा १७ रन तथा रायन रिकेल्टनले १० बलमा १७ रनको योगदान दिएका थिए । विल ज्याक्सले १८ बलमा २२ रन जोडे । यसैगरी, सूर्यकुमार यादवले २६ बलमा २८ रन बनाए । हार्दिक पाण्ड्या र तिलक बर्माले ३४ बलमा पाँचौँ विकेटका लागि ८९ रन जोड्दा मुम्बईले जितको आशा देखेको थियो । तर, लगातार ओभरमा मुम्बईले विकेट गुमायो । तिलकले २९ बलमा समान चार चौका र छक्का प्रहार गरी ५६ रन बनाए । हार्दिकले १५ बलमा चार छक्का र तीन चौका प्रहार गरी ४२ रन जोडेका थिए ।
२९ बलमै कोहलीको अर्धशतक
पहिलो ब्याटिङ गरेको बेंग्लोरका लागि पूर्वकप्तान विराट कोहलीले आइपिएल करिअरमै छिटो अर्धशतक बनाएका थिए । उनले केवल २९ बलमा ५० रन पूरा गरेका हुन् । सन् २०२५ को सिजनमै उनले कोलकाता नाइट राइडर्सविरुद्ध ३० बलमा अर्धशतक बनाएका थिए । कोहलीबाहेक कप्तान रजत पतिदारले पनि अर्धशतक बनाए ।
बेंग्लोरका चार खेलाडीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दा नै मुम्बईले २२२ रनको लक्ष्य पाएको हो । सुरुवात कमजोर गरेको बेंग्लोरका लागि कोहली, देवदत्त, रजत तथा जितेश शर्माले उत्कृष्ट ब्याटिङ गरेका थिए । बेंग्लोरले ०.२ ओभरमै ओपनर फिल साल्टलाई चार रनमा गुमाएको थियो । त्यसपछि कोहली र देवदत्तले दोस्रो विकेटका लागि ५२ बलमा ९१ रनको आक्रामक साझेदारी गरी टोलीलाई ८.६ ओभरमा ९२–२ को बलियो स्थितिमा राखे । देवदत्तले २२ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ३७ रनको योगदान दिए । कोहलीले कप्तान रजतसँग तेस्रो विकेटका लागि ३१ बलमा ४८ रनको साझेदारी गर्दै बेंग्लोरलाई १४.१ ओभरमा १४३–३ को स्थितिमा राखे ।
कोहली हार्दिक पाण्ड्याबाट क्याचआउट भए । कोहलीले ४२ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका थिए । रजत र जितेशबिच पाँचौँ विकेटका लागि २७ बलमा ६९ रनको साझेदारी भएको थियो । रजतले ३२ बलमा चार छक्का र पाँच चौका प्रहार गरी ६४ रनको योगदान दिए । जितेशले १९ बलमा चार छक्का र दुई चौका प्रहार गरी ४० रनको आक्रामक योगदान दिए । बलिङमा टे«न्ट बाउल्ट खर्चिलो भए । मुम्बईका स्ट्राइक बलर बाउल्टले ४ ओभरमा ५७ रन खर्चेर दुई विकेट लिए ।