
काठमाडौं महानगरपालिका खाद्यबजारको गुणस्तर मापन गर्ने घुम्ती प्रयोगशालासहित अनुगमनमा निस्किएको छ । घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण गरेर तुरुन्त रिपोर्ट निकाल्ने भएको छ ।
प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादी, दुधमा भएको चिल्लो पदार्थ, सोडा, चिनी, नुन, ग्लुकोज, दुधको सोलिड नट फ्याट, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एडल्टरेसन किट, पानीको पिएच परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए ।
मिठाइमा प्रयोग गरिने अखाद्य रंगको परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकोले मिठाइमा रंगको मिसावट तत्कालै थाहा पाउने न्यौपानेले बताउँछन् ।
उपकरणको प्रयोगले बजारबाट संकलित नमुना तत्कालै परीक्षण गरेर नतिजा देखाउन सकिने न्यौपानेले बताएका छन् । महानगरले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
महानगरले दिएको जानकारीअनुसार पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरूमा गरिने भएको छ ।