१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ३ बुधबार २२:२७:oo
Read Time : < 1 मिनेट
समाचार

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न राजनीतिक दलहरूको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार २२:२७:oo

पर्साका राजनीतिक दलहरूबिचको सर्वदलीय बैठकले सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्। जिल्लाका आठ राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिबिच आज बसेको बैठकले यस्तो आग्रह गरेको हो। सदियौँदेखि समाजमा आपसी भाइचारा, सामाजिक र धार्मिक सद्भावसँग  मिलेर बसेको हुनाले सोलाई खण्डित गर्ने अभिव्यक्ति, टिप्पणी कुनै पनि पक्षबाट नगर्न दलहरूले आग्रह गरेका हुन्। 

हनुमान जयन्तीको शोभायात्रामा भएको घटनाबाट विगत केही दिनदेखि वीरगन्ज महानगरआसपासका क्षेत्रमा भइरहेको सामुदायिक विवाद, आपसी द्वन्द्व र मनमुटावप्रति सर्वदलीय बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैठकले सामाजिक सद्भाव र शान्तिका लागि सबै पक्षसँग आग्रह गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हरि पन्तले जानकारी दिए। 

कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायणप्रसाद कुर्मी, एमालेका जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि पन्त, जसपाका जिल्ला अध्यक्ष रामनरेशप्रसाद यादव, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बालगोपाल थापा, जनमत पार्टी पर्सा संयोजक ओमप्रकाश सर्राफ, राप्रपाका  जिल्ला संयोजक पन्नालालप्रसाद पटेल र जसपाका प्रतिनिधि तबरेज अहमदलगायतले सार्वजनिक रूपमा शान्ति र अमनचयन कायम राख्न आग्रह गरेका छन्। 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले आजै सार्वजनिक विज्ञप्ति जारी गर्दै हनुमान जयन्तीको शोभायात्रामा दुई पक्षबिच भएको झडप र त्यसबाट सिर्जना भएको तनाव र विकसित घटनाक्रमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाए। 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज सरोकारवाला निकायले सामाजिक सद्भाव बनाउने पक्षमा प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए। ‘आज बिहानदेखि बेलुकासम्म विभिन्न क्षेत्रका सरोकारवाला निकायसँग पटक–पटक छलफल गरेर सामाजिक सद्भाव कायम गर्ने सबैले प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार अघि बढ्ने सहमति भएकाले पनि अब वीरगन्जको विषम् परिस्थिति सामान्य हुँदै जाने अपेक्षा गरेका छौँ।’ रासस