१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार ०८:१०:००
Read Time : > 1 मिनेट
सप्तरंग

निर्मातालाई लगानी नउठ्ने भय छ : शिल्पा मास्के

नायिकाको मत

Read Time : > 1 मिनेट
नवीन प्यासी काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार ०८:१०:००

तपाईंलाई निभाउन एकदम मन  लागेको पात्र ? 
मलाई कन्टेन्टमा आधारित फिल्म गर्न मन लाग्छ । त्यसमा मभन्दा ज्यादा चरित्रमा केन्द्रित हुन्छ । मैले निभाउन चाहेको पात्रका लागि स्क्रिप्ट पनि राम्रो होस् । स्क्रिप्टमा धेरै लापरवाही हुन्छ । सुटिङ सक्ने वेलामा समेत स्क्रिप्ट परिवर्तन हुन्छ । हामीसँग भएका धेरै कथा बाहिर आएकै छैनन् । सानो कथालाई लिएर पनि राम्रो फिल्म बनाउन सक्छौँ । तर, एउटै तरिकाले काम गरिरहेका छौँ । उस्तै प्रवृत्तिका फिल्म बनाइरहेका छौँ । यसले कलाकार र फिल्म उद्योग दुवैलाई फाइदा पुग्दैन । 

विषयवस्तुमा आधारित फिल्मबाट त मूलधारमा जान सजिलो छैन नि ? 
कन्टेन्टमा आधारित र मूलधारका फिल्मलाई सँगै लिएर जान सक्छौँ । हाम्रो कथा भन्ने तरिका एकनासको छ । पाँच वर्षअगाडि जसरी कथा भन्थ्यौँ, अहिले पनि त्यस्तै । फरक काम गर्न निर्माता पनि डराउँछन् । लगानी नउठ्ला भन्ने भय छ । तर, हामी कन्टेन्टमा फोकस हुँदै गयौँ भने दर्शक तानिँदै जान्छन् । 

तपाईंका फिल्म हेर्दा पुरानै तरिका  पछ्याउनुभएको देखिन्छ नि ?
मलाई राम्रो भूमिकामा काम गर्न मन छ । दर्शकले मन पराउने चरित्र निभाउन मन छ । फिल्म चल्नका लागि हिरो नै हुनुपर्छ जस्तो पनि लाग्दैन । राम्रो भूमिका भए हामी पनि गर्न सक्छौँ । म ‘सो पिस’ भएर चाहिँ काम गर्न चाहन्नँ । मैले गरेका फिल्ममा राम्रै भूमिका थियो, मेरो । तर, सम्झौता गर्नुपर्छ । व्यक्तिगत सम्बन्धका लागि पनि काम गर्नुपर्छ । अर्कोपटक पनि काम गर्नुपर्ने भएकाले अस्वीकार गर्न सकिन्न । 

हाम्रो कथा भन्ने तरिका एकनासको छ । पाँच वर्षअगाडि जसरी कथा भन्थ्यौँ, अहिले पनि त्यस्तै । फरक काम गर्न निर्माता पनि डराउँछन् । 

‘डाक्टर स्ट्रेन्ज’मा अलिकति भूमिका निभाउनुभयो । हलिउडको अनुभव कस्तो रह्यो ? 
उनीहरू दुई सय वर्षदेखि काम गरिरहेका छन् । फिल्मका लागि लामो समयको अनुसन्धान हुन्छ । हामी छिटो प्रतिफलको खोजीमा दौडन्छौँ । फेरि नेपाली फिल्मले हलिउडसँग फाइट नगर्ने भन्ने हुँदैन । हामीसँग कन्टेन्ट छ, प्रविधि पनि छ । त्यहाँ जति टिम ध छन्, सबैले आफ्नो ठानेर काम गर्छन् । यहाँचाहिँ काम गर्नका लागि मान्छे खोज्नुपर्छ । अल्छी छौँ । ‘स्टोरी टेलिङ’मा काम गर्नै बाँकी छ । 

हलिउडमा निरन्तरता हुन्छ ? 
म अभिनय गर्न रुचाउँछु । यदि मलाई मन प-यो भने संसारको जुनसुकै भाषाको फिल्ममा पनि काम गर्छु । म हलिउडमा सुपरस्टार हुन्छु भन्ने पनि लाग्दैन । काम देखाउन सकूँ, मेरा लागि हलिउड यति हो ।

‘वन्डर वुमेन’की गल ग्याडोट इजरायलबाट गएर स्टार बनिन् । तपाईंमा त्यस्तो सम्भावना छैन ? 
हलिउडमा छिर्न सजिलो छैन । एकदम मिहिनेत चाहिन्छ । तीन–चार वर्ष त कामको खोजीमा नै बिताउनुपर्छ । सक्नचाहिँ सक्छु, तर काम गरिरहनुप¥यो । अहिले त मेरो सम्बन्ध पनि राम्रो छ । गायन, अभिनय, नृत्य, एक्सन सबैमा राम्रो गर्न सक्ने हुनुपर्छ । तर, अहिल्यै हलिउडका लागि तयार भइसकेकी छैन कि !