मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
२o८१ चैत ३ आइतबार १८:५७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एकद्वार राजस्व प्रणाली र उद्योगमैत्री नीति बनाउनुपर्नेमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार १८:५७:oo

रुपन्देही उद्योग संघको समीक्षात्मक बैठकले स्वदेशी उत्पादन प्रयोगमा दबाब दिनुपर्ने निष्कर्ष निकालेको छ। साथै, बैठकमा एकद्वार राजस्व प्रणाली र उद्योगमैत्री नीति बनाउनुपर्ने माग उद्योगीले राखेका छन्।

संघको २०औँ नियमित बैठक पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटमा सम्पन्न भयो। पूर्वअध्यक्ष, सल्लाहकारहरूसहितको समीक्षात्मक बैठकमा सहभागी पूर्वअध्यक्षहरूले संघको स्थापनाको उद्देश्य, इतिहाससँगै आफ्ना अनुभवहरू राखेका थिए।

संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीका अनुसार बैठकमा सहभागी सबै पूर्वअध्यक्षहरूले संघको इतिहास, उद्योग क्षेत्रमा अहिले परेका समस्या र समाधानको उपाय, संस्थाको आन्तरिक स्रोत पहिचान तथा सामाजिक क्षेत्रमा संघले गर्नुपर्ने दायित्वको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए।

बैठकमा अध्यक्ष परिषद्का अध्यक्ष डम्बरदेव अर्यालले राष्ट्रिय पुँजी निर्माणका लागि उद्योग क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गरे। ‘राष्ट्रिय पुँजी निर्माणविना देशमा केही हुँदैन, त्यसका लागि यहाँका उद्योगहरू नै चलाउने वातावरण बनाउनुपर्दछ। उद्योगीहरू सम्पत्ति बेचेर भाग्नुपर्ने अवस्थामा छन्, यो समयमा यस्ता संस्थाको निकै महत्त्वपूर्ण जिम्मेवारी रहन्छ,’ अर्यालले भने।

पूर्वअध्यक्ष दिनेशराज रेग्मीले तीनै तहका सरकारलाई उद्योगीले विभिन्न शीर्षकमा कर बुझाउनुपरेको उल्लेख गर्दै यसमा एकद्धार प्रणाली बनाउन दबाब दिनुपर्ने धारणा राखे। उनले नेपाली उत्पादनलाई हरेक सरकारी कार्यालयमा अनिवार्य प्रयोग गर्ने नियम नै कार्यान्वयनमा नआएको विषयलाई अब संघले विशेष रूपमा उठाउँदै यसको कार्यान्वयनमा अन्य संस्थाहरूसँग सहकार्य गरेर अभियान चलाउनुपर्ने बताए। 

पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघका प्रदेश उपाध्यक्ष बाबुराम बोहोराले अहिले पर्यटन उद्योगको धेरै सम्भावना भएकाले यो क्षेत्रमा लगानी गरेका उद्योगीहरूलाई सघाउने नीति संघले लिएकोमा खुसी व्यक्त गरे। 
निवर्तमान अध्यक्ष माधव पौडेलले रुपन्देहीको समग्र विकासमा सबै मिलेर हातेमालो गर्न आग्रह गरे।

संघका अध्यक्ष दिलीप सापकोटाले संघले बनाएको कार्ययोजनाअनुसार सबै काम अघि बढेको, क्षेत्रीय र पालिका तहका समितिहरू निर्माणको चरणमा रहेको, सामाजिक क्षेत्रमा निरन्तर सहभागिताका साथ अगुवाइ गरिरहेको बताए।