
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा मात्रै १३ लाख तीन हजार पाँच रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले फागुन महिनामा मात्र उक्त रकम बराबर भेटी संकलन भएका जानकारी दिएको हो ।
पाथीभराको दर्शन गर्न आएका भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार सार्वजनिक गरेको भेटी विवरणमा उल्लेख छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले पाथीभरामा संकलित भेटी रकम जिल्लास्थित विभिन्न बैंकमा जम्मा गरिएको जानकारी दिए । भेटी रकम नेपाल बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंकमा रहेको समितिको खातामा जम्मा गरिएको निर्देशक हाङ्बाङले बताए ।
गएको माघ महिनामा भने २४ लाख एक हजार पाँच सय रूपैयाँ भेटी रकम संकलन भएको थियो । समितिले प्रत्येक महिनामा संकलन तथा गणना हुने भेटी रकम सार्वजनिक गर्दै आएको छ । फागुन महिनामा सात हजार चार सय २८ जना भक्तजनले पाथीभराको दर्शन गरेका बताइएको छ ।