
सिकन्दर महान् भारतबाट फर्किने तयारीमा थिए । तर, फर्किनुअघि उनी एक ज्ञानी सन्तलाई आफूसाथ लान चाहन्थे । यताउता बुझ्दा उनले एक नाम चलेका सन्तबारे थाहा पाए । उनी दलबलसहित सन्तको आश्रममा पुगे । सन्त एक रुखको फेदमा निर्वस्त्र ध्यानमग्न थिए । सिकन्दर प्रतीक्षामा बसे । केहीबेरपछि सन्त ध्यानबाट बाहिर आए । सन्तले आँखा खोल्नासाथ सैनिकले सिकन्दर महान्को जयजयकार गरे ।
सन्त यो सब देखेर मुस्कुराइरहेका थिए । सिकन्दर उनको नजिक आए र भने– म तिमीलाई मेरो देश लान चाहन्छु । फटाफट आफ्नो तयारी गर । सन्तले भने– म यहीँ ठिक छु । म जे चाहन्छु, यहीँ उपलब्ध छ । तिमीलाई जहाँ जानु छ, जाऊ । म कहीँ जान्नँ । एक साधारण सन्तले यसरी सिकन्दरलाई जवाफ दिएको सुनेर उनका सैनिक भड्किए । तर, सिकन्दरले तिनलाई शान्त बनाउँदै सन्तलाई भने– म ‘हुँदैन’ भन्ने शब्द सुन्न चाहन्नँ । तिमी मेरो साथ जानैपर्छ । सन्तले भने– यो मेरो जीवन हो, कहाँ जाने र कहाँ नजाने भन्ने निर्णय मबाहेक अरू कसैले गर्न सक्दैन । सन्तको जवाफले सिकन्दर रिसले आगो भए । तत्काल आफ्नो म्यानबाट तरबार निकालेर सन्तको घाँटीमा राख्दै भने– ल अब भन, अझै पनि मसँग जाँदैनौ ?
सन्त अझै शान्त थिए । उनले भने– म त कहीँ जान्नँ । तिमीलाई मार्न मन छ भने मार । तर, आजउपरान्त आफ्नो नामसँग कहिल्यै ‘महान्’ शब्द नजोड्नू ? किनकि, तिमीभित्र महान् हुने लक्षण नै छैन । तिमी त मेरो दासका पनि दास रहेछौ ।
सिकन्दर थप क्रोधित भए । संसार विजेता सिकन्दरलाई एक निर्वस्त्र सन्तले आफ्नो दासको पनि दास कसरी भन्न सक्छन् ? उनले भने– तिम्रो भनाइको मतलब के हो ? सन्तले भने– क्रोध मेरो दास हो । मैले नचाहेसम्म त्यो मेरो नजिक पनि आउन सक्दैन । तर, तिमीले त कैयौँ योद्धालाई पराजित गरे पनि आफ्नै क्रोधलाई जित्न सकेनछौ । अनि, भएनौ त तिमी मेरो दासको पनि दास ? सन्तको भनाइले सिकन्दर स्तब्ध बने । उनी सन्तसामु नतमस्तक भए र सेनासहित फर्किए ।