
पाँँच मेगावाट क्षमताको फावा खोला जलविद्युत् आयोजनाको लापरबाहीले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका– २, खाल्टेको एउटा बस्ती नै पहिरोको जोखिममा परेको छ । शिवानी हाइड्रोपावरले निर्माण गरेको आयोजनाको फोरवेबाट ओभरफ्लो पानी पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने पहरास्थित काबेली नदीको मध्यभागमा झार्दा भिरमा पहिरो गइरहेको छ ।
पहिरो काबेली नदीसम्म झरेको छ । ‘यसरी नै अव्यवस्थित छाड्ने हो भने भिर नै पल्टिने खतरा छ,’ स्थानीय रामप्रसाद उप्रेतीले भने, ‘तर, अहिलेसम्म कसैले चासो दिएन ।’ विद्युत् उत्पादन बन्द भएका वेला पनि पहरामा खोला बग्छ । पहराको करिब दुई सय मिटर भागमा पहिरो गएको छ । यसले खाल्टे बस्ती नै जोखिममा परेको छ । ‘मेरो घर पहिरोको दुई सय मिटर छेउमा छ । सात÷आठ वर्षदेखि गइरहेको पहिरो बढिरहेको छ,’ खाल्टेका अम्बिका सिघु (लिम्बू)ले भने, ‘बर्खा लागेपछि रातभर गुडुङडुङ गर्दै ढुंगा भिरबाट खस्छन् । रातभर डरले निन्द्रा लाग्दैन । तर, हाम्रो यस्तो अवस्था कसैले देखेन ।’
स्थानीय देउमान लिम्बूका अनुसार खाल्टेमा करिब ४० परिवारको बसोबास छ । जलविद्युत् आयोजनाको बेवास्ताले खाल्टे पहिरोको जोखिममा परेको उनले बताए । ‘पुर्खालाई राख्ने गरिएको चिहानसम्म पहिरो आइपुग्यो । त्यहाँ सात पुस्तादेखिको चिहान छ । देवीथान पनि भत्काउन लाग्यो । अब विस्तारै बस्तीतिर पस्ने खतरा छ,’ देउमानले भने, ‘हाइड्रोपावरका कारण खाल्टे त पहिरोले लाने भयो । भिरमा पानी लगाएको सालदेखि नै पहिरो जाँदै छ । यस्तै हो भने अबको बर्खामा सबै जान्छ ।’
०६७ मा स्वीकृति लिएर निर्माण सुरु भएको यो जलविद्युत् आयोजना ०७४ देखि सञ्चालनमा छ । कसैले नाफा कमाउन लगानी गर्दैगर्दा स्थानीयलाई असर गर्न नहुने स्थानीय कुमार सुब्बाले बताए । ‘ओभरफ्लो पानी फाल्नका लागि पाइप खोलासम्म नै लैजानुपर्ने हो । तर, भिरको बिचमा लगेर छाडेको छ । हामीले त्यही वेला भनेका थियौँ । उहाँहरूले मान्नुभएन,’ उनले भने, ‘अहिले पहिरो जान थालेको छ ।’
पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा भन्छन्– यो पहिरोले पछि ठुलो रूप लिने सम्भावना छ । गाउँ नै खतरामा पार्ने सम्भावना छ । हामीले
कैयौँपटक पत्र लेख्यौँ । यहाँ काम गर्ने कामदारले व्यवस्थापन गर्छौँ भनेका छन् । तर, अब हामी वन संरक्षण ऐनलाई टेकेर मुद्दा हाल्ने तयारीमा छौँ । स्थानीय सरकार नै मुद्दा हाल्न जान्छ अब ।
विद्युत् विकास विभागको टोलीले स्थलगत अध्ययन पनि गरेको छ । अध्ययनका लागि पुगेका विद्युत् विकास विभागका भूगर्भविद् इन्जिनियर प्रमोद ढकालका अनुसार सन् २०१४ सम्म यो पहिरो देखिएको थिएन । तर, २०१५ देखि प्रत्येक वर्ष बढ्दै गएको भेटिएको छ । ‘हामीले गुगल अर्थबाट पनि यसको तस्बिर अध्ययन गरेका थियौँ । यहाँ आएर हेर्दा जब विद्युत् उत्पादन बन्द हुन्छ वा ब्रेक हुन्छ । त्यो समयमा त्यहाँको पानी यो पहिरोमा फालिँदो रहेछ । त्यतिमाथिबाट पानी फाल्दा पहिरो गएको देखिन्छ,’ उनले भने, ‘पानीको फोर्सले गर्दा चट्टान बिस्तारै झर्दैझर्दै गएको देखिन्छ । त्यस्तै अवस्था पर्दा काबेली नदी थुनिने खतरा पनि देखिन्छ । यसलाई हेर्दा त्यहाँ पानीकै कारण पहिरो गएको हो कि भन्ने देखिन्छ । यसलाई हामी अध्ययन गरिरहेका छौँ ।’ यसरी सीधै भिरमा पानी हाल्न नमिल्ने इन्जिनियर ढकाल बताउँछन् ।
शिवानीले पाइपमार्फत काबेलीमै पानी ल्याउनुपर्ने उनको भनाइ छ । यस्तै, शिवानीले पहिरो रोकथामका लागि पनि काम गर्नुपर्ने उनको भनाइ छ । त्यसअघि स्थानीयले गुहारेपछि विद्युत् विकास विभाग र पाथीभरा याङवरक गाउँपालिकाले शिवानीलाई पटक–पटक पत्र काटेको थियो । तर, शिवानीले पहिरो जानुको कारण वर्षात् र नेपाल विद्युत् प्राधिकरणलाई देखाउँदै विभागलाई पत्र लेखेको छ ।
शिवानीका अध्यक्ष सुधीरमान प्रधानांगलाई पत्र लेखेर पहिरोको व्यवस्थापन गर्न आग्रह गरिए पनि बेवास्ता भएको पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताए । ‘यो पहिरोले पछि ठुलो रूप लिने सम्भावना छ । गाउँ नै खतरामा पार्ने सम्भावना छ । हामीले कयौँपटक पत्र लेख्यौँ,’ उनले भने, ‘यहाँ काम गर्ने कामदारले व्यवस्थापन गर्छौँ भनेका छन् । तर, अब हामी वन संरक्षण ऐनलाई टेकेर मुद्दा हाल्ने तयारीमा छौँ । स्थानीय सरकार नै मुद्दा हाल्न जान्छ अब ।’शिवानीका अध्यक्ष प्रधानांगले आफ्नो जलविद्युत् आयोजनाका कारण मात्र पहिरो नगएको दाबी गरे । ‘हाम्रो कारणले मात्र पहिरो गएको होइन । यहाँ पहिला नै खोल्सा थियो । हाम्रो पानी धेरै बग्दैन । विद्युत् उत्पादन बन्द भएको वेलामा मात्र बग्ने हो,’ उनले भने, ‘हाम्रो आयोजना रुग्ण छ । आयोजना नै घाटामा छ । बैंकको ब्याज तिर्न पनि सकिएको छैन । तर, पनि बैंकलाई भनिरहेका छौँ । यदि बैंकले मानेमा पाइप लम्ब्याउँछौँ ।’