
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महिलामाथि हुने अन्याय अत्याचार, विभेद र शोषणा विरूद्धको संघर्षलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । एक सय १५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले पूर्णरूपले लैंगिक समानता स्थापनाका निम्तिको संघर्षलाई अझ सशक्तरूपले अगाडि बढाउन जरूरी भएको बताएका हुन् ।
महिलाहरूको हक र अधिकार प्राप्तिको संघर्ष रूपमा ८ मार्च २०२५ आइपुगेको बताउँदै नेता खनालले सम्पूर्ण महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो सन्देशमा भनेका छन् छ, ‘आजको दिन विश्वभरका महिला दिदीबहिनीहरूको मुक्तिको ऐतिहासिक महिलाहरूको हक र अधिकारका साथै राजनीतिक, आर्थिक, सामाजिक तथा अधिकारका निम्ति आवाज बुलन्द गरिएको संघर्षको दिन हो । महिला दिदीबहिनीका संघर्षको कारण वर्तमान विश्वमा महिलाअधिकार र समानताका निम्ति उल्लेखनीय हक अधिकारहरू प्राप्त भएका छन् ।’
महिलाहरूले चलाउँदै आएको अनवरत संघर्षको कारणले नेपालको वर्तमान संघीय संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४० प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै नेता खनालले यस महत्त्वपूर्ण राजनीतिक उपलब्धिलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । ‘महिला–पुरूष पूर्णरूपले समान भएपछि मात्र समाजवादमा पुग्न सकिनेछ’, उनले भनेका छन् ‘त्यसैकारण आजको ८ मार्चको उपलक्ष्यमा सम महिला दिदीबहिनीहरूलाई आफूमाथि भइरहेका सबै प्रकारका शोषण, अन्याय, अ विभेदका विरूद्ध लड्दै समाजवाद प्राप्तिको ऐतिहासिक लक्ष्यतिर अघि बढ्नमा जोडदार आग्रह गर्दछु ।”