
निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित चलचित्र ‘राजागंज’ (पुजा सर)को ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
चलचित्रमा मधेश आन्दोलनको परिवेशलाई समेटिएको छ। आन्दोलनकाबिच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरमा देखाइएको छ । प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबिचको टसन पनि ट्रेलरमा देख्न सकिन्छ।
सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै ठुलो चलचित्र रहेको बताए। ‘मैले यसअघि यति ठूलो सिनेमा निर्माण गरेको थिइनँ । कलाकारसहित सिनेमामा एक हजार बढि मानिस संलग्न थिएँ,’ उनले भने ।
चलचित्रलाई सन् २०१५ को परिवेशमा निर्माण गरिएको पनि निर्देशक रौनियारले जानकारी दिए। अन्तर्राष्ट्रिय महोत्सवहरूमा सिनेमा प्रशंसा पाएकाले नेपाली दर्शकलाई पनि मनपर्ने विश्वास उनको छ ।
आगामी १ चैतबाट प्रदर्शन आउने सिनेमामा आशार दयाहाङसहित विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ ।
सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाइ सकेको छ । यो सिनेमा गत कार्तिकमामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए।
सिनेमाको निर्माणमा आदि फिल्मका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।