१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
राज सरगम काठमाडाैं
२०७६ जेठ २३ बिहीबार ०७:४५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

जिरा राखेर कमालको मटन पकाउँछु : मोमिला जोशी

Read Time : > 1 मिनेट
राज सरगम काठमाडाैं
२०७६ जेठ २३ बिहीबार ०७:४५:००

‘यसले खाना पकाउलीजस्तो लाग्दैन’ कुनै दिन कवि उषा शेरचन दिदीले मलाई हेरेर भन्नुभएको थियो । पछि मैले खाना पकाएर खुवाएपछि उहाँले मीठो खाना बनाउन सक्छे भनेर पत्याउनुभयो । पहिलेको तुलनामा अहिले म भान्सामा त्यति भुल्न पाएकी छैन । जति–जति व्यस्तता बढ्यो उति–उति भान्सामा खाना कम पाक्दै जाँदो रहेछ । यो मेरो निजी अनुभव हो । तर, मलाई खाना पकाएर सामूहिक खान खुब मन पर्छ । 

के पकाउने भन्ने निश्चित भएपछि म त्यो चिजलाई खुब माया गर्छु । प्रेमपूर्वक त्यस्ता चिज तयार गर्छु । जसलाई खुवाउने मुड छ ऊसँग त्यो परिकारको विषयमा कुरा गर्छु । त्यससँग जोडिएका केही कथा सुनाउन पनि मन लाग्छ । के–के हाल्ने भन्ने विषयमा सचेत रहन्छु । जे गर्छु ‘दिलसे’ गर्छु । खाना पनि मन लगाएरै पकाउँछु । खाना कस्तो पकाउने भन्ने सोच मौसमले पनि तय गर्छ । मौसमअनुसारको खाना तयार पार्न मजा लाग्छ । आफ्नो कन्डिसनमा पनि भर पर्छ । मुडअनुसारको खाना पकाइने भएकोले सोहीअनुसारको परिकार छनोट हुन्छ । थकानमा खाना पकाएर खान साह्रै दिक्क लाग्छ । तर, मुड फ्रेस भएको छ भने भान्सामा खाना अनिवार्य पाक्छ । 

मलाई पकाउन मन पर्ने भनेको ‘मटन’ हो । मन पर्ने मान्छेसँग मिलेर खाऊँ भनेको दिनमा आफैँले पकाएर खुवाउने अवसर पाएँ भने म मटनै पकाउँछु । खानासँग मटन खान पनि रुचाउँछु । अलिकति मसला, ठिक्क पाकेको केही साबुत जिरा राखेर पकाएको मटन कमाल लाग्छ । 

मटनको म पारखी नै हो । पाहुनालाई पकाएर खुवाउन मन लाग्ने भनेकै मटन हो । यसका साथमा हलुका वाइन पनि ठीकै हुन्छ । एकताका मैले चिकन रोस्ट पनि खुब बनाएँ । चिकनमा नुन र काँचो अन्डा राखेर मोल्ने अनि तेलमा तार्ने । यसरी बनाएको खुब मीठो लाग्छ । यसरी बनाएको रोस्ट जति पनि खान सकिन्छ । चिल्लो पनि कम हुन्छ । टेस्टी पनि खुबै हुन्छ । झोलिलो माछा बनाउन पनि मन पर्छ । तर, काँडा कम भएको माछा होस् ।
 

म २८ वर्षको हुनुअघिसम्म आफ्नोभन्दा पनि छोराका लागि खाना बनाएँ । छोरोको खुसीका लागि मैले माछामासुको परिकार खुबै बनाएँ । खाना बनाएर मन मिल्ने मान्छेसँग बसेर खान खुब रमाइलो लाग्छ । खुसी पनि लाग्छ । आफूलाई खुसी राख्न वेलावेला म आफैँ खाना बनाउँछु । तर अहिले सहरमा पाक्ने खानाले घरका धेरै भान्सा जुठा हुन पाउँदैनन् । त्यसो हुनुको कारण व्यस्तता पनि हो ।