
शनिबार सुरु भएको दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगितामा आयोजक वीरगन्ज युनाइटेड क्लबले विजयी सुरुवात गरेको छ ।
आर्दशनगर रंगशलामा जारी प्रतियोगिताको उद्घाटन खेलमा वीरगन्ज युनाइटेड क्लबले १–० गोलअन्तरले गरवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको १३आँै मिनेटमा गरवाल डाइमण्ड फुटबल क्लबका खेलाडी अभय देसाला र कप्तान अजय विष्टको टाउको चोट लागेको थियो । उनीहरू टाउकोमा पटी बाँधेर खेलमा फर्किएका थिए । खेलमा निरन्तर आक्रमक बनेको वीरगन्ज युनाइटेड क्लबले गरवाल डाइमण्ड फुटबल क्लबको पोस्टमा गोलका लागि धेरै प्रयास गरेको थियो ।
खेल सुरु भएदेखि नै गरवाल डाइमण्ड फुटबल क्लबमाथि दबाब बनाएको वीरगन्ज युनाइटेड क्लबले खेलको २०औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । युनाइटेडका कप्तान सिसस थापाले पेनाल्टीको सदुपयोग गर्न नसक्दा गोलविहिन हुन पुगेको थियो । त्यसपश्चात पनि वीरगन्ज युनाइटेलले लगातार दुई वटा कर्नर पाए पनि गोल गर्न सकेन । खेलको पहिलो हाफसम्ममा दुबै टिमले बिना गोल बराबरी खेलेका थिए ।
५२औँ मिनेटमा गरवाल डाइमण्ड फुटबल क्लबका खेलाडी सन्दिप रानाले आत्मघाती गोल गरेपछि वीरगन्ज युनाइटेड क्लबले अग्रता पाएको हो ।
खेलको ७३औँ मिनेटमा डाइमण्ड फुटबल क्लबका प्रशिक्षक मनु चौधरी आफै मैदानमा प्रवेश गरेका थिए । टिमका खेलाडी शुभम जेहालाई बाहिर निकालेर प्रवेश गरेका थिए ।
खेलको म्यान आफ दि म्याच वीरगन्ज युनाइटेडका खेलाडी विपिन मगर घोषित भएका थिए । भोलिको खेलमा सहलेश फुटबल क्लब सिरहा र संकटा फुटबल क्लब काठमाडांैबिच हुनेछ । प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउने छन् ।
प्रतियोगितामा संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बाग्मती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगन्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
मधेस प्रदेश कै सर्वाधिक धनराशीको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ ।
वीरगन्ज युनाइटेड क्लबका प्रशिक्षक सुलभजंग राणा भन्छन्–
पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न निरन्तर प्रयास गरीरहेका थियौ । खेलको सुरुमा पेनाल्टीलाई सदुपयोग गर्न सकेका थिएनाैँ। जसले एक प्रकारको मनोबल पनि घटेको थियो । साथै अहिले देशव्यापी प्रतियोगिता भइरहेको छ । नेपालको अन्य ठाउँमा खेलेर शुक्रबार रातरात वीरगन्ज आएर आज खेलिएको हो । खेलाडीहरूमा थकान भए पनि खेलमा जितेका छौँ । यहाँको खेलमा स्थानीयको मायाले पनि जित्न हौसाला प्रदान गरेको हो । अगामी खेलमा केहि खेलाडी परिवर्तन गरेर खेल्ने लक्ष्य पनि रहेको सुनाए । हामीहरूको टिम बी डिभिजनको प्रशिक्षण गरीरहेका छौँ । खेललाई नै प्रशिक्षण गरेर अगामी हप्तामा काठमाडाैंमा खेल्ने तयारी भएको छ ।