
चीनको सिचुवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने घोषणा गरेको छ । चीन भ्रमणमा रहेको कांग्रेस प्रतिनिधिमण्डल र सिचुवान प्रान्तीय सरकारका मन्त्री र नेताहरूको छलफलपछि सिचुवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो ।
छलफलमा कांग्रेस नेतृ सुजता कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा चीनबाट लुम्बिनी र लुम्बिनीबाट पोखरा सीधा उडान सुरु गर्न आग्रह गरेकी थिइन् । उनले आफूले राखेको एउटा प्रस्ताव तुरुन्त सम्बोधन भएको र अर्को प्रस्ताव पनि चाँडै सम्बोधन हुने विश्वास व्यक्त गरिन् ।
चिनियाँ कूटनीतिज्ञ सरलाले कोइरालाको भ्रमणलाई आफूहरूले महत्त्वका साथ लिएको र छात्रवृत्तिको विषय भ्रमणको महत्त्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिइन् । कूटनीतिज्ञ सरलाले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै राजनीतिक दलहरूसँग समानस्तरको सम्बन्ध राख्न चाहेको धारणा राखिन् ।
चीनले विचारको विभाजन रेखा राखेर दृष्टिकोण नबनाउने स्पष्ट पार्दै उनले यो भ्रमणले कांग्रेससँगको सम्बन्ध अझै बलियो बनाउने उद्देश्यबाट अभिप्रेरित भएकोसमेत बताइन् ।
भ्रमण टोलीलाई सिचुवानको प्रसिद्ध पर्यटकीय क्षेत्र कुवानझाईको अवलोकनसमेत गराइएको थियो । त्यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको संस्कृतिप्रतिको दृष्टिकोणबारे भ्रमण टोलीलाई जानकारी गराइएको थियोे । यस्तै, चीनको विकास र आगामी योजनाका विषयमा अन्तर्क्रियासमेत भएको थियोे ।