
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ । सोमबार काठमाडौं कालीमाटीस्थित कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको थियो ।
धादिङ धुनीबेँसी– ९ घर भएका ३६ वर्षीय थापाले आफ्ना साथी धुनीबेँसी– ८ घर भई हाल काठमाडौं– १४ लिगमार्ग कलंकीमा बस्ने वर्ष २१ को शिव कुँवरको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरी उपरीक्षक बोहराले जानकारी दिए । उनका अनुसार कोठामा कोही नभएको अवस्थामा उनले विषादी सेवन गरेको प्रहरीको भनाइ छ ।
कोठामा थापाका दाइ पुग्दा अचेत अवस्थामा भेटिएपछि उनलाई तत्काल उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा सोमबार साँझ ६ः३८ बजेको समयमा चिकित्सकले थापालाई मृत घोषणा गरेको एसपी बोहराले जानकारी दिए । मृतक थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको छ ।
पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख गरिएको उपरीक्षक बोहराले बताए । थापा गत शुक्रबार मन्त्री श्रेष्ठसँगै काठमाडौं गएका थिए । कामविशेषले शनिबार मन्त्री श्रेष्ठ रौतहट जानुपर्ने भएकाले थापालाई काठमाडौंमा नै छोडेर फर्किएका थिए । आइतबार छोरीको जन्मदिन समारोहमा सहभागी भएर उनी राति १० बजे कोठाबाट बाहिरिएका थिए ।
सुमेरू सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको एउटा अडियोका सन्दर्भमा थापाको घटना जोडिएको प्रहरीको भनाइ छ । सुमेरू सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सहकारीको समस्या मिलाउने विषयमा थापाको अडियो क्लिप सार्वजनिक गरिएको मन्त्री श्रेष्ठले बताए । सो अडियोमा सहकारीका सञ्चालकसहित थापा र धादिङका राजु गर्तौलाको आवाज संलग्न रहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
अडियोमा सहकारीको समस्या मिलाउने विषयमा बार्गेनिङ भएको र संलग्न रहेको भन्दै गर्तौलालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । अडियो क्लिपबारे सामान्य सोधपुछपछि गर्तौलालाई छाडिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । सो अडियो क्लिप परीक्षणको क्रममा रहेको उनको भनाइ छ ।
मृतक थापाको साथबाट प्राप्त पत्रमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको उल्लेख गरिएको मन्त्री श्रेष्ठको भनाइ छ । थापाको शव टिचिङ अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ । स्वकीय थापाको अडियोमा उल्लेख भएको सुमेरू सहकारीलाई मन्त्रालयले गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।