
‘धरान १०के रन’को उपाधि केन्याली धावकहरूले जितेका छन् । १३औँ नेवा च्यारिटी ०८१ खुला तर्फ पुरुष र महिला दुवैमा नेपाल, भारत, केन्या र अमेरिकाका चार हजार धावकधाविकालाई पछि पार्दै केन्याली धावकधाविका प्रथम भएका छन् ।
शनिबार सम्पन्न धरान रनमा खुल्ला पुरुषतर्फ केन्याका विल्सन चेउलियट प्रथम भए भने महिलातर्फ शरन जरोटिच प्रथम बनिन् । पुरुषतर्फ विल्सनले निर्धारित १० किलोमिटरको दुरी ३० मिनेट ५५ सेकेण्डमा पूरा गरे भने उनीभन्दा १३ सेकेण्डलेपछि परेका केन्याकै जुलियस मरिउकी दोस्रो भए । जुम्लाका दुर्गाबहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।
खुल्ला महिलातर्फ केन्याली धाविका शरनले ३८ मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पार गर्दे प्रथम भइन् । नेपाल प्रहरीकी सुस्मिता कुमारी चौधरी ३९ मिनेट २८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् भने एपिएफकी दिपा परियार ३९ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । पुरुष र महिला दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः नगद ६० हजार, ४० र ३० हजार नगद पुरस्कार, मेडल र ट्रफी हात पारे ।
भेट्रानतर्फ पुरुषमा विजयकुमार राई, राकेश महर्जन र रामचन्द्र श्रेष्ठ क्रमशः प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ जमुना लिम्बू, सपना राई र सम्झना राई क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । भेट्रानतर्फको महिला र पुरुष प्रथम, दोस्रो, तेस्रो विजेताहरुले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार नगद, मेडल, ट्रफी पाए ।
अण्डर १६ तर्फ पुरुषमा इश्वर राई, सुवास कुमार बिक र विकी यादव क्रमशः प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ जुही राई, कुशल राई र पुजा महतारा क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । मिड भेट्रान र अण्डर १६ का विजेताहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाए ।
यस्तै, मिड भेट्रानमा पुरुषतर्फ धर्म मर्हजन, सुवर्ण सुब्बा र नाम्पर लेप्जा क्रमशः प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ आनुदा तामाङ, होमदेवी पुन र शान्ता वानेम क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । यसैगरी, सुपर भेट्रानतर्फ पुरुष विजेता कृष्ण तामाङ र महिलातर्फ जमुना त्रिखत्री मोक्तानले जनही नगद पाँच हजार पुरस्कार पाए ।