
रोल्पामा सनस्टार कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ। शनिबार पूर्वसभामुख कृष्णबहादुर महराले रोल्पाको लिबाङमा प्रतियोगिताको उद्घाटन गरेका हुन्।
सनस्टार युवा क्लबको १३औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको दोस्रो राष्ट्रिय पुरुष भलिबलमा देशभरबाट सात टोली सहभागी छन्।
आर्मी र सनस्टार विजयी
शनिबार भएको पहिलो खेलमा मधेश प्रदेश आयोजक सनस्टार युवा क्लबसँग पराजित भएको छ । बिहान भएको खेलमा २६–२४, ३१–२९ र २५–१८ को सोझो सेटमा सनस्टार युवा क्लबले मधेश प्रदेशमाथि जित निकालेको हो।
त्यस्तै, दिउँसो भएको त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबिचको खेलमा एकका विरुद्ध तीन सेट आफ्नो पक्षमा पारेर त्रिभुवन आर्मी क्लब विजयी भएको छ। जम्मा चार खेलमा पहिलो खेल त्रिभुवन आर्मी क्लबको २३ अंकका विरुद्ध कर्णाली प्रदेशले २५ अंक लिएर आफ्नो पोल्टामा पारेको थियो। त्यसपछिका तीन खेलमा भने आर्मीले लगातार २५–१६, २५–१७ र २५–१८ को अंक अनुपातमा आफ्नो जित निकालेको थियो।
दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र आयोजकसहित चारवटा प्रादेशिक टिम सहभागी छन्। आइतबार बिहान नेपाल पुलिस क्लब र कोशी प्रदेशले खेल्ने सनस्टार युवा क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए। प्रतियोगितामा पहिलो हुनेले पाँच लाख राशिको पुरस्कारसहित सनस्टार कप जित्नेछन्। त्यस्तै, दोस्रो हुनेले दुई लाख पचास हजार, तेस्रो हुने टिमले एक लाख र सान्त्वना हुने टिमले ५० हजार रुपैयाँ हात पार्ने क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए।