
कांग्रेसका नेता एनपी साउदले पार्टीका जिम्मेवार नेताले नेताहरूले जिम्मेवारी पूरा नगरी थप जिम्मेवारीका लागि पछि लाग्न नहुने बताएका छन्। मोरङको विराटनगरमा शनिबार आयोजित नेपाल भूतपूर्व सैनिक संघ कोशी प्रदेश कार्यसमितिको पहिलो अधिवेशन समारोहमा उनले भएको जिम्मेवारी पूरा नगरी थप जिम्मेवारीका पछि लाग्न नहुने बताएका हुन् ।
पार्टीका भातृ संगठनहरूको अधिवेशन गरेर उनीहरूलाई गतिशील बनाउने कर्तव्य पार्टीको जिम्मेवारीमा रहेका नेताहरूको भएको भन्दै यस्ता नेता कर्तव्यबाट भागेर पदको लडाईंमा मात्रै लाग्न नहुने बताए । ‘पार्टीका भातृ संगठनहरूको अधिवेशन गर्ने, गतिशील बनाउने कुरा पार्टीको जिम्मेवारीमा रहेका मान्छेहरूको कर्तव्य हो,’ केन्द्रीय सदस्य साउदले भने, ‘त्यो कर्तव्यबाट भागेर पदको लडाईंमा मात्रै पार्टीलाई लैजानुहुन्न ।’
पूर्वपरराष्ट्रमन्त्री साउदले पार्टीलाई जोगाएर बलियो पार्टीको रूपमा लैजान सके मात्रै कांग्रेस अगाडि बढ्न सक्ने बताए। ‘जिम्मेवारीबोध, विचारमा स्पष्टता, संसदीय मोर्चामा पार्टीको प्रभावकारिता अभिवृद्धि हुने कुरा, गाउँ–गाउँमा एक कांग्रेसले अर्को कांग्रेसको मुख हेर्न पनि नहुने किसिमको स्थितिबाट पार्टीलाई जोगाएर बलियो पार्टीको रूपमा लैजान सक्यौँ भने मात्रै हाम्रो कांग्रेस अगाडि बढ्न सक्छ,’ साउदले भने ।
पार्टीलाई एकजुट बनाउनुपर्नेमा जोड दिँदै नेता साउदले भ्रातृ संस्थाको अधिवेशनहरू समयमै गर्नुपर्ने, नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्ने, पार्टीमा प्रशिक्षण र वैचारिक बहसहरू चलाउनुपर्ने पनि बताए।