
भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका ९६ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका पर्सा प्रहरीले जनाएको छ। किट कलेजबाट निकालिएका विद्यार्थी वीरगन्ज नाका हुँदै अहिलेसम्म ९६ जना घर फर्किएको पर्साका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म यो नाका हुँदै सबै विद्यार्थी घर फर्किएका छन्। उनले फर्किएकामध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्साकै रहेको बताए। केही विद्यार्थी मात्र बाहिरी जिल्लाको रहेको र उनीहरू आफ्नै हिसाबले घरतर्फ लागेको उनको भनाइ छ। विद्यार्थीहरू पर्सा वीरगन्जसहित विभिन्न स्थान, बारा, रौतहट, मकवानपुरलगायतका स्थानका छन्।
वीरगन्जको शंकराचार्य गेटमा आएका विद्यार्थीलाई स्थानीय साउथ जोन स्कुलले व्यवस्थापन गरेको दुईवटा स्कुल बसको सहायताले सिमरासम्म पुर्याइएको हो।नेपाल फर्किएका विद्यार्थीले विश्वविद्यालयबाट आफूहरूमाथि अत्याचार भएको बताएका छन्। प्रकृति लम्सालको शंकास्पद मृत्युपश्चात् सोको विरोध गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गुन्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेलबाट निकालेको विद्यार्थीको भनाइ छ ।