
चिकित्सा शिक्षा आयोगले हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकाेत्तर तह (पिजी) अध्यापनका लागि आठ सिट दिएको छ। आयोगले यसअघि उक्त कोर्सका लागि दिएको एक सिटलाई पुनः विचार गर्दै सात सिट थपेर आठ सिट दिएको हो । आयोगले गत माघ १६ बिहीबार सार्वजनिक गरेको पिजी सिटको विवरणअनुसार प्रतिष्ठानले जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन (एमडिजिपी)मा एक सिट मात्र पाएको थियो ।
प्रतिष्ठानले आयोगले तोकेको मापदण्डभित्र रहेर विभिन्न नौवटा विषयमा १८ वटा सिट माग गरेको थियो । आयोगबाट गएको विज्ञ टोलीले पनि प्रतिष्ठानको निरीक्षणपछि प्रतिष्ठानले माग गरेअनुसार सिट उपलब्ध गराउँदा एक सिट मात्र दिएको थियो । प्रतिष्ठानले अब्सटेट्रिक्स एन्ड गाइनो, इन्टर्नल मेडिसिन, जेनेरल सर्जरी, एमडिजीपी, पेडियाट्रिक्स, एनेस्थेसियोलोजी, फार्माकोलोजी/क्लिनिकल फार्माकोलोजी, अर्थोपेडिक्स/अर्थोपेडिक्स एन्ड ट्रमा सर्जरी र पेरिडोन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलीजीका लागि सिट माग गरेको थियो ।
आयोगले भने नौवटा विषयमध्ये जम्मा एउटा विषयमा एकजना मात्र पढ्न मिल्ने गरी प्रतिष्ठानलाई सिट संख्या तोकेपछि प्रतिष्ठानका प्रमुखसहित चिकित्सक संघले समेत विरोध गरेको थियो । चौतर्फी आलोचनापछि आयोगले पुनः विचार गर्दै आठ सिट दिएको हो । आयोगले पिजीमा विभिन्न विषयमा एक हजार २६ सिटमा अध्यापन गराउने तयारी गरेहको छ । आयोगले गत वर्ष विभिन्न प्रतिष्ठान र अस्पतालहरूमा गरी ७९५ सिटमा पिजी कोर्स अध्यापन गराएको थियो ।