मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ४ आइतबार
  • Friday, 14 March, 2025
मेखराज उदय
२o८१ फाल्गुण ४ आइतबार o८:४४:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘मिलेर बसेको समाज’को भाष्य

Read Time : > 4 मिनेट
मेखराज उदय
नयाँ पत्रिका
२o८१ फाल्गुण ४ आइतबार o८:४४:oo

दमन सहनेहरूले चुपचाप सहिदिए भन्दैमा हाम्रो समाज सदीयौँदेखि मिलेर बसेको छ भन्नु गलत भाष्यसिवाय केही होइन

घटना नं. १ : केही साताअघिदेखि प्रसारण भइरहेको एक ‘फ्रेन्चाइज’ गायन प्रतियोगिताका कोच एवं नेपाली लोकसंगीत पारखीका लोकप्रिय गायक तथा संगीतकार खेम सेन्चुरी सामाजिक सञ्जालमा निन्दनीय आलोचनाको सिकार बने । एक प्रतियोगीको काबिल स्वर सुनेर भावोत्तेजक भई खुट्टाले ‘बज’ गर्न पुगेका सेन्चुरीको व्यवहारलाई कारण बनाई उनी मात्र होइन, समग्रमा दलित समुदायमाथि नै अपशब्दको प्रहार गरी होच्याउने, गैरकानुनी बेइज्जत गर्नेजस्ता निन्दनीय काम भए । एकजना कलाकारको संवेगको परिणामका कारण दूरदराजमा फलामको औजार बनाउँदै गरेका कामीबाजे, कपडा सिउँदै गरेको दमाईंदाइ, सारंगी रेट्दै गरेका गाइनेदाइ वा अमेरिका, युरोपमा मजदुरी गर्दै रहेका अन्य दलित समुदायले गाली किन खानुपर्ने ? स्मरणीय छ, यसै प्रतियोगिताका अघिल्ला शृंखला र अन्य मुलुकका यस्तै खालका रियालिटी सोमा कोचले आवेशमा आई खुट्टाले बज गरेका प्रशस्तै उदाहरण देख्न सकिन्छ । तथापि खेम सेन्चुरी दलित समुदायका र अन्य कोचभन्दा लोकप्रिय भएका कारण उनी र उनको समुदायमाथि हिलो छ्याप्ने धृष्टता गरिएको स्पष्ट छ । 

घटना नं. २ : नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक आयोजना गरिएको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम र जनकपुर बोल्ट्सबिच फाइनल खेल भइरहँदा त्रिवि खेलमैदानबाहिर मधेशी समुदायमाथि भएको अराजक दुव्र्यवहार, कुटपिट तथा अपशब्दसहितको गाली बेइज्जती गरिनु सचेत समाजविरोधी कार्य हो । चेतनशील युवा जमातबाट भएको सो घटना खेदजनक छ । 

घटना नं. ३ :  मूलतः पहिचानको राजनीतिमा चार दशक पार गरिसकेका तथा (कथित) ‘जनमुक्ति विचारधारा’ भनी प्रचार गर्ने गरेका पूर्वमन्त्रीसमेत रहेका एक आदिवासी जनजाति नेताले पार्टी बैठकमा साथीहरूलाई लक्षित गरी वेलाबखत ‘दमाईं, कामीको जस्तो व्यवहार नगर’ भन्ने गरेको जानकारको भनाइ छ ।

नेपाली गीत–संगीतका क्षेत्रमा दलित समुदायको विगतदेखि नै महत्वपूर्ण योगदान र लगानी छ । चर्चा र ख्यातिको शिखर चुम्न सफल गायक, कलाकार प्रकाश सपुतदेखि अन्य धेरैले व्यावहारिक रूपमै जातीय अपमान, गालीगलोज सहेका छन् । ‘लेजेन्डरी’ संगीतकर्मी बिबी अनुरागीले काठमाडौंमा डेरा नपाइने समस्याका कारण थर नै लेख्न छाडेको कुरा सार्वजनिक रूपमा स्विकारेका छन् । अर्का संगीतकर्मी विनोद बाजुराली, हालका चर्चित संगीतकार तथा गायक आशिष अविरलसम्मले दलित समुदायका संगीतकर्मीले विभिन्न कालखण्डमा जातका कारण विभेद, अपमान सहनुपरेको तितो अनुभव पोख्ने गर्छन् । 

विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनका लागि गरिएका बलिदानी, जनसंघर्ष, नेपाल राष्ट्रको एकीकरण अभियान आदिमा दलित समुदायको गौरवपूर्ण सहभागिताको इतिहास छ । यहाँ भौगोलिक मात्रै होइन, जातीय, भाषिक, क्षेत्रीय, सामाजिक, सांस्कृतिक, लैंगिक, समुदायगत, वर्गीय आदि विविधता रहेका छन् । यी विविधता हाम्रा सम्पदा त हुन् नै तथापि विभेदका मानक पनि बन्न पुगे । ०६३ मा लोकतन्त्र पुनस्र्थापनाको आन्दोलन सफल भएको अवसरमा काठमाडौंको खुल्लामञ्चमा सात राजनीतिक दलद्वारा संयुक्त आमसभा (विजयसभा) आयोजना गरिएको थियो । सो आमसभालाई सम्बोधन गर्ने क्रममा मधेशी नेताहरूले हिन्दीमा भाषण गर्दा दर्शकदीर्घाबाट अपमानजनक शब्दसहित हुटिङ भएको थियो । पछिल्लो मधेश विद्रोहको सुखद परिणामस्वरूप काठमाडौंलगायत पहाडका सहरतिर मधेशीजनप्रति विभेदी शब्द प्रयोग गर्ने घृणित कार्यमा केही हदसम्म सुधार भने आएको छ । यो सुखद अवस्था पनि हो ।

पुरानो मानसिकता बोकेका धेरै मानिसलाई लाग्दछ, पहिले हाम्रो समाज मिलेर बसेको थियो । विविधतासहितको समाजमा विभेदी व्यवहारको चाङ अग्लो थियो र छ । मुलुकमा माओवादी सशस्त्र विद्रोह, लोकतान्त्रिक आन्दोलन, दलित, महिला, आदिवासी जनजातिका आन्दोलन, विभिन्न चरणका मधेश विद्रोह आदिका कारण निमुखा र निरीह जनताले अधिकारको आवाज उठाउन थालेका हुन् । तत्कालीन शाही सेनामा दलित र गैरदलित समुदायका लागि छुट्टाछुट्टै खानपानको व्यवस्था गरिन्थ्यो । अर्थात्, सेनामा आधिकारिक छुवाछुत प्रथा लागू थियो । माओवादीको शान्तिपूर्ण अवतरणपश्चात् नेपाली सेनामा त्यो व्यवस्था हटाइयो । एकल महिला, गरिब र निमुखा महिलामाथिको बोक्सी आरोपलगायत हिंसा र विभेदका पहाड अझै अटल र विराट् छन् ।

हालका वर्षमा वैवाहिक सम्बन्धविच्छेदका घटना बढेका छन् । स्त्रीले पारिवारिक हिंसा, अत्याचार सहेर भए पनि बसिदिनुपर्छ, किनभने उनी महिला हुन् भन्ने भाष्यको अन्त्य हुँदै छ । कानुनमा विवाह गर्नुजस्तै अधिकार सम्बन्धविच्छेदको पनि अधिकार दिइएको भए पनि त्यसलाई विकृतिका रूपमा बुझ्नेहरूको कमी छैन ।

प्राचीनकालमा समाजमा ‘त्रैवर्णिक व्यवस्था’ थियो । अर्थात्, ब्राह्मण, क्षत्रीय र वैश्य थिए । ब्राह्मण–पुरोहित, क्षत्रीय अर्थात् क्षेत्र (खेतका मालिक, पालक) र वैश्य अर्थात् सर्वसाधारण जन । तत्पश्चात् समाजमा ब्राह्मण र क्षत्रीय वर्णबिच द्वन्द्वका कारण चौथो वर्ण निर्माण हुन पुग्यो । जसको नाम हो, शूद्र । शूद्र एक क्षत्रीय कबिलाका मुखिया थिए । शूद्र जो कबिलाका मुखिया थिए, उनले एकपटक ब्राह्मण पुरोहितको उपेक्षा र अपमान मात्रै गरेनन्, बरु मारपिट नै गरिदिए । सो आतंकपश्चात् ब्राह्मण पुरोहितद्वारा शूद्र जनसमूहमाथि धार्मिक सामाजिक बहिष्करण लागू गरियो । 

त्यसपछि समाज चातुर्वण्र्य अर्थात् चार वर्णमा विभाजित बन्न पुग्यो । शूद्र वर्ण बागी वा बहिष्कृतजन थिए । तिनलाई ती वर्णका मानव बस्तीदेखि बाहिर वा पुछारमा बसोवासको अनुमति दिइयो । त्यसैले उनीहरूलाई अन्त्यज भनियो । कृषि, पशुपालन, व्यापारबाहेकको सरसफाइ, शिल्पकला आदि श्रमसाध्य काम उनीहरूको भागमा पर्न गयो । (हु वेर शूद्राज ? १९४६, लेखक, डा भीमराव अम्बेडकर ) उक्त कबिला युगको निरन्तरतास्वरूप नै दलित समुदायमाथिको दमन र अत्याचार अद्यापि यथावत् जीवित छ । तथागत बुद्धको जन्मपूर्व गाउँबाट अलग्गै वा बेग्लै राखिएका अछुत शूद्रहरू र आजको युगमा शिक्षित र सभ्य समाज ठानिने मुख्य सहरहरूमा समेत दलित समुदायले डेरा पाउनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको चित्र एउटै छैन र ? एउटा जाति (समुदाय ?) ले गैरकानुनी जातीय दमन, विभेद सहिदिनुपर्ने, अर्काे समुदायले उनीहरूमाथि दमन गरिरहन पाउनुपर्ने मान्यता अद्यापि जीवित छ । 

दमन गर्नेको भाष्य हो, मिलेर बसेको समाजको गलत भाष्य । दमन सहनेहरू चुपचाप सहिरहेका छन् । समाजका कतिपयले सधैँ यस्तै चल्नुपर्छ भन्ने मान्यता राख्छन् । जुम्ला सिन्जाको कनकासुन्दरी मन्दिरमा दसैँको अष्टमीमा पशुबलिसहित ठुलो पूजाअर्चना गरिन्छ । खस साम्राज्यको राजधानीका साथै सिन्जा राज्यका संस्थापक सम्राट् नागराजको राजदरबारलाई हाल मन्दिरमा परिणत गरिएको छ । सो मन्दिरमा ठुलो संख्यामा बोका, कुखुरा, राँगा आदि पशुको बलि दिइन्छ । स्मरणीय के छ भने, त्यहाँ खसहरूको परम्पराबमोजिम धामीको दाँतले जिउँदो बोकाको मुखबाट छाला च्यातेर निर्ममतापूर्वक हत्या गरिन्छ या बलि दिइन्छ । तथापि राँगाको बलि दिएपछि त्यसको मासु दलितलाई दिइन्छ । बलि दिइएको राँगाको मासु (सिनो) खस, ब्राह्मण वा अन्य जातिले खाँदैनन् । उनीहरूकी आराध्यदेवी (कनकासुन्दरी) भगवतीलाई राँगो चढ्ने तर कथित उच्च जातिलाई नचढ्ने, यो कस्तो परम्परा होला ? मिलेर बसेको समाजको यो त एउटा उदाहरण मात्रै हो । यस्ता विभेदी प्रचलन मुलुकका अन्य भागतिर पनि जीवितै छन् । 

‘अहं ब्रह्मास्मि, अर्थात् म नै ब्रह्मा हुँ ।’ यजुर्वेदको बृहदारण्यक उपनिषद्मा प्रयुक्त यो श्लोक यजुर्वेदकै शक्तिशाली वा महावाक्य मानिन्छ । ज्ञातव्य छ, वैदिक धर्ममा चार वेद (ऋग्वेद, सामवेद, अथर्ववेद र यजुर्वेद) रहेका छन् र ती वेदका पृथक् चार महावाक्य छन् ।

नेपाल र विश्वका अन्य लोकतान्त्रिक पथमा भर्खरभर्खरै यात्रा गर्न सुरुवात गरेका धेरै मुलुकका राजनीति, राजनीतिक दलका नीति, विधि र विधानभन्दा नेताको ‘अहं ब्रह्मास्मि’ नीतिद्वारा नै सञ्चालित छन् । निःसन्देह त्यस्ता मुलुकको लोकतन्त्र कस्तो अवस्थामा होला, सहजै अनुमान लगाउन सकिन्छ । किनभने हाम्रो जस्तै धेरै मुलुकका लोकतन्त्रको प्रमुख कारक तथा आधार दल नै हुन् । सरकार, संसद्, शासन, प्रशासन कथित उच्च जाति, समुदाय र वर्गको मुठीमा रहेको मुलुक वा समाजमा मिलेर बसेको समाजको भाष्य बदल्ने गरी विद्रोह गर्नु अपराध मानिन्छ । मुख्य दलका प्रमुख नेता, प्रदेश अध्यक्ष वा सचिव, स्थानीय तहका नेतृत्व र जिल्ला समितिहरू नियाल्ने हो भने पनि यो यथार्थ स्पष्ट हुन्छ । विश्वव्यापी मान्यताअनुसार मिलेर बस्नलायक समाज बनाउने हो भने तीन आधारको खाँचो पर्छ– पहिलो, स्वतन्त्रता, दोस्रो, समता र तेस्रो, भ्रातृत्व । यी आधार सन् १७७९ देखि १७९९ सम्म जारी फान्सेली राज्य क्रान्तिद्वारा स्थापित गरिएका हुन् । तर, के जातीय विभेद ज्युँकात्युँ रहेको हाम्रो समाजमा यी तीन आधार साँच्चै भेटिएलान् त ? 

अन्त्यमा, सायर डा. राहत इन्दौरीको यो सायरी यहाँ उल्लेख गर्नु सान्दर्भिक नै हुनेछ । 

जुबाँ तो खोल, नजर तो मिला, जबाब तो दे
मैं कितनी बार लुटा हुँ, मुझे हिसाब तो दे ।

अर्थात् (मुख त खोल, आँखा त जुधाऊ, जवाफ त देऊ म कतिपटक लुटिएँ, मलाई हिसाब त देऊ ।)