
सन् १९९९ मा प्रकाश थापामगर र रामचन्द्र थापामगरले आठौँ दक्षिण एसियाली खेलकुदमा देशलाई बक्सिङमा स्वर्ण पदक दिलाएका थिए । उनीहरूले स्वर्ण जितेपछिका चार संस्करणसम्म बक्सिङमा नेपाल स्वर्णविहीन रह्यो । संयोग कस्तो रह्यो भने काठमाडौंमै भएको १३औँ सागमा मुक्केबाज भूपेन्द्र थापामगरले स्वर्ण पदक जिते । उनले पुरुष ६५ केजी तौल समूहको फाइनलमा भारतका विश्व बक्सिङ च्याम्पियनसिपका कांस्य पदक विजेता तथा ओलम्पियन मनीष कौशिकलाई पराजित गर्दै इतिहास रचेका हुन् । साग खेल्नुअगाडि भूपेन्द्रले आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दा स्वर्ण कहिल्यै जित्न सकेनन् । तर, घरमै २० वर्षपछि आयोजना भएको सागमा पहिलोपटकको सहभागितामै उनले स्वर्ण पदक हात पारे । सागमा स्वर्ण जित्दाको क्षण र त्यसको तयारीबारे भूपेन्द्रले नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई यसरी सुनाए :
२०६४ सालमा प्लस टूको परीक्षापछि दाङमा बक्सिङ प्रशिक्षण सुरु गरेँ । त्यही वेला काठमाडौंमा पाँचाैँ राष्ट्रिय खेल तय भएको थियो । संयोगले सोही वर्ष प्रतियोगिताको छनोट भयो । गुरुहरूले जिल्लाबाट छनोट भएका खेलाडीको खेल हेर्न मलाई चितवन ल्याउनुभएको थियो । एक्कासि गुरुले ‘तँ’ खेल भन्नुभयो । बक्सिङको रिङभित्र छिरेको खासै अनुभव थिएन । जिल्लाबाट सहभागीमध्ये ७५ केजी तौल समूहबाट कसैले खेलेका थिएनन् । मलाई सल्यानबाट खेल्न प्रस्ताव आयो । ०६५ सालमा २० वर्षको उमेरमै स्थानीय तहमा स्वर्ण पदक जितेँ, अनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएँ । तुलसीपुरको प्रशिक्षण क्रममा राष्ट्रिय खेलसमेत पदक जित्ने आत्मविश्वास आएको थियो ।
केवल तीन–चारपटकको अभ्यासका भरमा स्थानीय तहमा स्वर्ण जितेँ । मैले सुरुका दिनमा घरमै कति अभ्यास गरेँ, त्यसको गणना नै छैन । यसैबिच मलाई भारतीय आर्मी बन्ने भूत सवार भयो । त्यसका लागि लाहुरेसँग केही साता अभ्यास गरेँ । ०६७ सालमा काठमाडौंमा दीपक महर्जन दाइहरूले आयोजना गरेको प्रतियोगिता खेल्न काठमाडौं आउँदा स्वर्ण पदक जितेँ । यो पदकसँगै लाहुरे बन्ने योजना त्यागेँ ।
काठमाडौंमा स्वर्ण जितेको ५–६ महिनापछि नेपाल पुलिसबाट खेल्न अफर आयो । यो अवसरलाई छाड्न मन भएन । मैले दुई वर्ष पुलिसमा करारमै खेलेँ । २४ वर्षको उमेरमा मैले आधिकारिक रूपमा पुलिसमा जागिर खान पाएँ । मैले पुलिसबाटै छैटौँ राष्ट्रिय खेलकुद खेलिरहेको छु । अहिलेसम्म राष्ट्रिय प्रतियोगितामा म दोस्रो भइनँ ।
सागको तयारी ६ महिना
नेपालगन्ज, बर्दिया दाङमा भएको आठौँ राष्ट्रिय खेलकुदमा मैले स्वर्ण पदक जितेको थिएँ । खजुराबाट २०–२२ जना खेलाडीलाई क्याम्पमा राखियो । काठमाडौंमा खुला छनोट भयो । मेरो प्रतिद्वन्द्वीका रूपमा एपिएफका सोनम सार्की थिए । उनीबाहेक अन्य कमजोर नै पाएँ । १३औँ सागका लागि हामीले ६ महिनाभन्दा बढी प्रशिक्षण गर्न अवसर पाएका थियौँ । यसबिचमा राखेपले थाइल्यान्डमा प्रशिक्षण गराउन पठायो । थाइल्यान्डका ‘ए’ र ‘बी’ टिमसँगै फिलिपिन्स, अस्ट्रेलियन, भियतनाम, माल्दिभ्सका खेलाडीहरूले प्रशिक्षण गरिरहेको देखेँ । हाम्रा प्रशिक्षक थिए, प्रकाश थापामगर ।
थाइल्यान्डको प्रशिक्षण क्रममा गुरु थापाले २० वर्षअघि साग खेलमा पदक पाएको सुनाउनुहुन्थ्यो । उहाँले हामीलाई घरमै आयोजना हुने सागमा पदक जित्नुपर्छ भनी आत्मविश्वास दिलाइरहनुहुन्थ्यो । मलाई पनि सागमा स्वर्ण पदक जित्ने सपना थियो । त्यहीअनुसार प्रशिक्षण भयो । प्रशिक्षणका वेला फाइट धेरै भयो । यसैकारण विपक्षीसँग प्रतिस्पर्धा गर्न सहज लाग्दै गयो । थाइल्यान्डको बसाइका क्रममा हामीले आफ्नो प्रतिद्वन्द्वी आफैँ छान्थ्यौँ ।
विभिन्न देशबाट बक्सिङ प्रशिक्षण गर्न आएका मुक्केबाज आफैँमा राम्रा थिए । नेपालमा साग हुनु दुई महिनाअगाडि मात्र थाइल्यान्डमा प्रशिक्षण गरी हामी फर्कियौँ । राखेप र बक्सिङ संघले उज्वेकिस्तानका विदेशी प्रशिक्षक अलि सेर ल्याएका रहेछन् । उहाँले बन्द प्रशिक्षणमा रहेका हामी खेलाडीलाई पोखरामा एक–दुई महिना नै अभ्यास गराउनुभयो । साग सुरु हुनु दुई साताअगाडि मात्र हामी सबै खेलाडी पोखराबाट काठमाडौं आयौँ । सागमा छनोट भएका बक्सिङ खेलाडीलाई हात्तीवनको होटेलमा राखिएको थियो । प्रशिक्षण गर्ने स्थल धेरै टाढा भएपछि हामी पुल्चोकको हिमालयन होटेलमा ‘सिफ्ट’ भयौँ ।
स्वर्ण पदक जित्ने विश्वास
सागको सेड्युलअनुसार कराँते र तेक्वान्दो सुरुमा भए । बक्सिङ इभेन्ट हुनुअघिसम्म नेपालले धेरै स्वर्ण पदक जितिसकेको थियो । बक्सिङमा सबैले ममाथि स्वर्णको आशा गरेका थिए । ‘यसपटक सागमा भूपेन्द्रले बक्सिङमा पदक जित्छ है’ प्रशिक्षण र होटेलमा रहँदा यस्तै भन्थे । होटेल रुममा एक्लै बस्ने गरेको थिएँ । अरू खेलाडी पैसा छैन भनेर रुम सेयर गर्थे । मलाई चाहिँ एक्लै बस्न मन लाग्थ्यो ।
साग इतिहासमा बक्सिङले स्वर्ण नजितेको २० वर्ष भइसकेको थियो । त्यो स्वर्णको खाडल मैले नै भर्नुपर्नेजस्तो मनमा आयो । जसरी पनि स्वर्ण पदक देशलाई दिलाउँछु भन्ने संकल्प गरेँ । फेरि मेरो थाइल्यान्डमा राम्रो प्रशिक्षण भएको थियो । त्यसवेला मलाई भारतबाट कुन लेभलको खेलाडी आउने भन्ने डर लागेको थियो । फेरि समूह विभाजन पनि उस्तै भयो । स्वर्ण पदक जित्न कम्तीमा तीन फाइट खेल्नुपर्ने भयो ।
समूह विभाजनपछि म उत्साहित भएँ । प्रतिस्पर्धाको मुख्य दिन छिट्टै आएको जस्तो लाग्यो । खेलतालिकाअनुसार मेरो खेल भुटानका खेलाडीविरुद्ध थियो । प्रतिस्पर्धाको बिहान सबै खेलाडीको तौल नापिन्छ । यो चरण पार गर्दा केही तनाव थिएन । मलाई बस केवल तौल मिलाउनु मात्रै थियो । हामी सबै हिमालयन होटेलबाट सातदोबाटोको कराँते हल पुग्यौँ ।
म सामान्य अवस्थामै रिङभित्र प्रवेश गरेँ । रेफ्रीले खेल सुरु भएको संज्ञा दिएको लगत्तै मैले भुटानी खेलाडीलाई मुक्का बर्साउन थालेँ । पहिलो बाउटमै मेरो एक पन्च उसको नाकमा लाग्यो । ती खेलाडी रिङमै ढल्न पुगे । रेफ्रीले नकआउटको इसारा गरे । पहिलो चरणमै सहज जित निकालेपछि मेरो पदक पक्का भइसकेको थियो । किन भने त्यो एक जितले म सेमिफाइनलमा पुगेको थिएँ । नियमअनुसार सेमिफाइनलमा पुग्ने खेलाडीले कांस्य पाउने थियो ।
मैले सेमिफाइनलमा बंगलादेशको प्रतिद्वन्द्वी पाएँ । कराँते हालमा सबैको समर्थक मेरो पक्षमा थियो । ती बंगाली प्रतिद्वन्द्वीले सन् २०१० मा ढाकामै भएको सागमा स्वर्ण पदक जितेका थिए । सागमा मभन्दा उनी अनुभवी भएकाले केही डर थियो । तर, भित्री मनदेखि जित्छु भन्ने थियो । फेरि बक्सिङ हो, कुन वेला खेल बिग्रने थाहा हुँदैन । धेरैपटक सोचेँ । अन्ततः विपक्षीजस्तो प्रतिद्वन्द्वी भए पनि ‘इजी’ खेल्ने योजना बनाएँ । उनीविरुद्ध तीनै राउन्ड खेलेँ । मैले मुक्कामाथि मुक्का प्रहार गरी ५–० ले बाजी मारेँ । यो समयसम्म कम्तीमा रजत पदक पक्का भनी मख्ख परेँ ।
भारतलाई नै हराएर स्वर्ण जितेँ
स्वर्ण पदकको भिडन्तमा भारत वा श्रीलंकाली खेलाडीविरुद्ध खेल्नुपर्ने भयो । भारतका खेलाडीले श्रीलंकालाई हराउँदै मविरुद्धको भेट पक्का पारे । म फाइनल पुगेपछि होटेलको माहोल निकै रमाइलो थियो । महिलातर्फ मिनु गुरुङ पनि फाइनलमा पुगेकी थिइन् । समग्रमा १३औँ सागमा बक्सिङबाट तीनजना खेलाडी फाइनलमा पुगेका थियौँ । भारतका प्रतिद्वन्द्वी मनीष असाध्यै राम्रा थिए । उसले ओलम्पिक पनि खेलेका थिए । फेरि विश्व बक्सिङ च्याम्पियनसिपको कांस्य पदक विजेता मनीषविरुद्ध खेल्न सुरुमा डर लाग्यो । मेरो भन्दा उसको हाइट र काउन्टर राम्रो थियो ।
रिङमा विपक्षीलाई मौका नदिई पन्च गरी हाल्ने बानी विपक्षीको थियो । तर, भारतीय खेलाडीले जति छिटो ग्लोब्स चलाए पनि त्यसमा पावर थिएन । बक्सिङको शक्ति भनेकै शक्तिशाली पन्च हो । मलाई ती भारतीय खेलाडीको कमजोरी थाहा भयो । उसको जति प्रहार ममाथि लागे पनि सामान्यजस्तो थियो । रिङबाहिरको अवस्थाबारे मैले केही विचार गरिनँ । केवल विपक्षीलाई ढालेर स्वर्ण जित्ने योजना थियो । रिङभित्र मैले उसलाई लखेटी–लखेटी मुक्का हिर्काइरहेँ । तर, म पहिलो चरणमा निकै पछाडि थिएँ । जसरी पनि दुई चरण जित्नुपर्ने दबाब ममाथि थियो । होल्ड हुँदा पनि पन्च हानिरहेँ । स्टामिना र फर्ममा नहुने खेलाडी पराजित हुने पक्का थियो ।
मेरो बलियो पक्ष पावर थियो । कहिलेकाहीँ एक पावरले खेलाडी नकआउट हुन्छन् । यसैको विश्वासमा स्वर्ण जित्ने हिम्मत आयो । जुरीको निर्णय मेरो पक्षमा आयो । दुई चरणमा समग्रमा मैले ५–० ले जितेँ । सागको पहिलो सहभागितामै स्वर्ण पदक हात पारेँ । स्वर्ण पदक जितेपछि हलको माहोल नै बेग्लै भयो । म मात्र नभएर देश नै खुसी थियो । स्वर्णपछि खेल जीवनमा खेलकुदमा सन्तोष लागेको यही नै थियो । त्यो सागमा सरकारले पनि लगानी गरेको थियो । लगानीअनुसारको पदक पनि आयो । सधैँ त्यसरी अभ्यास गर्न पाउने हो भने नतिजा पनि त्यहीअनुसार आउँछ । तर, अहिले साग रोकिएको छ ।